मन्त्रिपरिषद् विस्तारको सकस

मन्त्रालय भागबण्डाको जिम्मा शीर्ष नेतालाई

मन्त्रालय भागबण्डाको सवालमा सत्तारुढ गठबन्धनमा अन्य सबै दलहरु भर्सेज कांग्रेस जस्तो परिस्थिति देखिएको छ। त्यसमा पनि प्रधानन्यायाधीशलाई दुई मन्त्रीको कोटा काटिने सवाल अगाडि आएपछि दलहरु बीचको संवाद थप बिग्रिएको बताइएको छ।

मन्त्रालय भागबण्डाको जिम्मा शीर्ष नेतालाई
फाइल तस्वीर

काठमाडौं। मन्त्रिपरिषद् विस्तारको लागि आइतबार सत्तारुढ गठबन्धनको कार्यदल बैठक दुई पटक बसे पनि टुंग्याउन नसकेपछि मन्त्रिपरिषद् विस्तारमा थप अन्योल देखिएको छ ।

आइतबार नै प्रधानन्यायाधीशले पनि मन्त्री बनाउन दुई जनाको कोटा खोजेको समाचार आएपछि मन्त्रिपरिषद् विस्तार बारेमा थप अन्योलता र टिकाटिप्पणीहरु देखिएका छन्।

तर कार्यदल सदस्यहरुले आफूहरुको तहमा छलफल गरेर शीर्ष नेताहरुलाई त्यसको जानकारी गराइसकेको र अब शीर्ष नेताहरुले त्यसलाई टुंग्याउने बताए । कांग्रेसको तर्फबाट आइतबारको दुवै बैठकमा सहभागी कार्यदल सदस्य मिनेन्द्र रिजालले शीर्ष नेताहरुले अब मन्त्रालयहरु बारेमा अन्तिम निर्णय लिने बताए ।

“हामीले गरेका छलफल आआफनो पार्टी नेतृत्वलाई जानकारी गराइसकेका छौँ”, रिजालले नेपाल भ्यूजसँग भने, “अब शीर्ष नेताहरु बैठक गरेर त्यसलाई टुंग्याउनु हुन्छ ।”

रिजालले यसो भने पनि आइतबार दुई पटक बसेको कार्यदल स्तरको बैठक सकारात्मकभन्दा बढी नकारात्मक वातावरण बनेको कतिपय नेताहरुले बताएका छन् ।

आइतबारको बैठकमा त जसपाका सहभागीहरुले सरकारमा सहभागी नहने तर बाहिर बसेर गठबन्धनलाई सघाउने जानकारी गराएको एक कार्यदल सदस्यले बताए ।

जसपाले मन्त्रालयको भागबण्डा सम्मानजनक रुपमा नमिले आफूहरु सरकारमा सहभागी नभएर बाहिरै बसेर गठबन्धन टुट्न नदिने जानकारी गराएका थिए । जसपाको तर्फबाट कार्यदल बैठकमा राजेन्द्र श्रेष्ठ र महेन्द्र यादव सहभागी थिए ।

जसपा नेता यादवले पनि शीर्ष नेताहरुकै तहमा अब छलफल गरेर मन्त्रालयहरु टुंगो लगाउने तयारी रहेको जानकारी नेपाल भ्यूजलाई दिए । “गठबन्धन टुट्दैन भन्नेमा हामी ढुक्क छौँ”, यादवले भने, “अरु कुराहरु पनि विस्तारै छलफल गर्दै अगाडि बढ्ने कुरा छ।”

रिजाल, यादवसहित सत्तारुढ गठबन्धनका अन्य नेताहरुले औपचारिक रुपमा नबताए पनि दलहरुको बीचमा मन्त्रालयकै भागबण्डामा समस्या परेको बुझिएको छ । आइतबार बिहानको कार्यदलको पहिलो बैठकमा मन्त्रालय भागबण्डाका लागि मापदण्ड बनाए पनि पछि थप कुराहरु बिग्रिएको बताइएको छ ।

मन्त्रालय भागबण्डाको सवालमा सत्तारुढ गठबन्धनमा अन्य सबै दलहरु भर्सेज कांग्रेस जस्तो परिस्थिति देखिएको छ । त्यसमा पनि प्रधानन्याधीशलाई दुई मन्त्रीको कोटा काटिने सवाल अगाडि आएपछि दलहरु बीचको संवाद थप बिग्रिएको बताइएको छ ।

कांग्रेसले प्रधानन्यायाधीशको लागि दुई मन्त्री थप्दा माओवादी र जसपाले पाउने एउटा एउटा मन्त्रालय खोसिने बताएपछि यी दलहरु चिढिएका बताइएको छ । त्यसमा पनि कांग्रेसले थप प्रभावशाली मन्त्रालयहरुमा दाबी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको तीन महिना पुग्नै लाग्दा अहिलेसम्म मन्त्रिपरिषद्समेत पूर्ण हुन नसकेपछि चौतर्फी आलोचना भइरहेको छ ।

अहिलेसम्म कांग्रेसले गृह, परराष्ट्र र कानुन तथा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालयमा आआफनो मन्त्री नियुक्त गरेका छन् । स्वास्थ्य मन्त्रालयमा प्रधानमन्त्रीले कांग्रेसकै राज्यमन्त्री बनाएका छन् ।

यसरी ५ जनाको भरमा दुई महिनाभन्दा बढीसम्म प्रधानमन्त्रीले सरकार चलाएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । यद्यपी, कांग्रेस नेता रिजाल अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरे ।

जसपा नेता यादव पनि गठबन्धनको निरन्तरतामा कुनै समस्या नरहेको भन्दै सबै कुराले छिट्टै निकास पाउने दाबी गर्छन । उनले अब शीर्ष तहको बैठक बसेर मन्त्रिपरिषद् बारेमा ठोस निर्णय आउने दाबी गरे ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved