यसरी ओलीको रोजाइमा परे प्रचण्डमित्र बादल

बादलले ओली रोज्नुका चार र ओलीले बादल रोज्नुका ११ कारण

कुनै समय थियो, बादल र माओवादी एकै सुनिन्थे। समय फेरियो, अहिले बादल एमाले भएका छन्। ओलीले बादल रोजेका छन्।

यसरी ओलीको रोजाइमा परे प्रचण्डमित्र बादल

ललितपुर गोदावरीमा हिजोदेखि (१५ असोज) नेकपा (एमाले)को विधान महाधिवेशन शुरु भएको छ। विधान बनाउने मुली छन्, रामबहादुर थापा ‘बादल’।

सर्वोच्च अदालतको आदेशसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् दलमा फर्किँदा बादल भने एमालेतिर लागे।

माओवादी ‘जनयुद्ध’को जग हाल्ने र कुनै बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का परममित्र बादल किन एमालेमा रहे ? कसरी एमाले अध्यक्ष केपी शर्मा ओलीले यति ठूलो जिम्मेवारी बादललाई सुम्पे ? नेपाली राजनीतिप्रति चासो राख्नेलाई खसखस लागेको छ।

एमालेभित्रको अन्तरविरोध हल गर्न र पार्टी एकताको सन्देश दिन ओलीको रोजाइमा बादल परेका हुन् कि उनमा खास केही छ ?

बादल नाम माओवादीमा यति धेरै लोकप्रिय भयो, धेरैजसो माओवादी कार्यकर्ताले आफ्नो पार्टी नाम नै बादल राखे। संयोग ! २०४० मा बादल २९ वर्षको हुँदा पार्टीले नै बादल र कमरेड वर्षाको बिहे गरायो। वर्षा नै नैनकला थापा थिइन्, ओली सरकारको सञ्चारमन्त्री।

पहिला बादलको पृष्ठभूमी र प्रचण्डसँगको सम्बन्धको इतिहास केलाऔँ। अनि ओलीसँगको सम्बन्ध केलाउँला।

बादल बनेको कथा
रामबहादुर थापा २०१२ सालमा गुल्मीमा जन्मिए। उनका बा कर्णबहादुर भारतीय सेना थिए। आमा हुन्, नन्दुमारी।

कर्णबहादुरको जहाँजहाँ सरुवा भयो उतैउतै बादलको बाल्यकाल बित्यो। र स्कुले अध्ययन पनि। सिलोङ, देहरादुन हुँदै हैदरावाद पुग्दा उनले आठ कक्षा पास गरे।

२०२८ तिरको कुरा हो। पहाडका गाउँबाट मधेस झर्नेको ताँती लागेको थियो। त्यही ताँतीमा बादल परिवार पनि मिसियो। उही चितवनमा २०१९ मै कास्की ढिकुरपोखरीबाट झरेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवार थियो।

प्रचण्ड-बादल भेट रामपुर कृषि क्याम्पसमा भयो।

बादलको मन बाह्य पुस्तकतिर पनि मोडियो। माक्र्स, लेनिन, माओ, होचि मिन्ह, चेका जीवनी पढे। अन्यायविरुद्ध लड्ने आगोमा घिउ थपियो। अध्ययन भोकले पुष्प भुर्तेल, मित्रराज दवाडी, खेम भण्डारी र दाहालसँग जोडिए। नारायणी किनारमा गठन भयो, भूमिगत अध्ययन मण्डली। जुन मण्डली चिनियाँ साँस्कृतिक क्रान्ति पक्षधर भयो। मण्डलमा आबद्ध कम्युनिष्ट पार्टीमा सामेलिए।

रामपुरबाट कृषिमा आईएस्सी सकियो। मस्कोस्थित लुम्बा विश्वविद्यालयमा बाली विज्ञान पढ्ने छात्रवृत्ति पाए। रुसमा बस्दा माधव पौडेल र प्रकाश अधिकारी(मनमोहन अधिकारीपुत्र)सँगै राजनीति र अध्ययनमा सक्रिय बादल २०३६ को छेकोमा नेपाल फर्के। त्यसबेला प्रचण्ड त पार्टी पूर्णकालीन भइसकेका थिए। उनी ०३६ को आन्दोलनमा सक्रियसाथ लागे।

माओवादीले सशस्त्र संघर्ष थाल्नुअघि जग खन्न बादल पुगे, राप्ती। खासमा उनले मगर घना बस्तीवाल रोल्पा र रुकुम केन्द्रित रहेर काम गरे। त्यसको लागि लोकेन्द्र विष्टमगर र उनी लागिपरे। त्यतिबेला राप्तीबाट केन्द्रीय समितिमा वैद्य र लोकेन्द्रमात्र थिए।

बादल सम्झन्छन्, ‘२०३७ को त्यस दिन दाहालको प्रस्ताव र अमिक शेरचनको समर्थनमा मैले पार्टी सदस्यता लिएँ। त्यसबेला झमझम झरी परिरहेको थियो। त्यो क्षण मलाई अहिले पनि याद आउँछ (जनयुद्धका नायक, पेज ११९)।’

झरी झर्दा कम्युनिष्ट पार्टी सदस्य बनेका बादल त्यसबेला भने कमरेड लालसिंह थिए। पूर्णकालीन भएर आकाश र पछिमात्र बादल। बादल नाम माओवादीमा यति धेरै लोकप्रिय भयो, धेरैजसो माओवादी कार्यकर्ताले आफ्नो पार्टी नाम नै बादल राखे। संयोग ! २०४० मा बादल २९ वर्षको हुँदा पार्टीले नै बादल र कमरेड वर्षाको बिहे गरायो। वर्षा नै नैनकला थापा थिइन्, ओली सरकारको सञ्चारमन्त्री।

२०३८ को पञ्चायत चुनाव बहिष्कारताका उनी जेल परे। भरतपुर र वीरगन्जमा उनका झण्डै एक वर्ष जेलमै बिते।

निर्मल लामा नेतृत्वको नेकपा (चौंथो महाधिवेशन)मा लागेर कम्युनिष्ट बनेका बादल २०४२ मा नेकपा (मशाल)को केन्द्रीय सदस्य भए। लगत्तै राप्ती ब्युरोको जिम्मा लिएर पश्चिम पुगे।

नेकपा (एकताकेन्द्र)को एकता महाधिवेशनले दीर्घकालीन जनयुद्धलाई राजनीतिक कार्यदिशा बनायो। त्यसैको चुनावी मोर्चा संयुक्त जनमोर्चा नेपालले २०४८ को संसदीय चुनावमा ९ सिट जियो।

पार्टीभित्र जनयुद्ध थाल्नेबारे चर्को विवाद भयो। बादल जनयुद्ध गर्ने पक्षमा उभिए। जनयुद्धको कोर टिममा तीनजना रहे- प्रचण्ड, मोहन बैद्य किरण र बादल। २०५१ मा बनेको नेकपा (माओवादी)ले नेपालमा ‘दीर्घकालीन जनयुद्ध’ थाल्यो।

जग खन्ने बादल
पश्चिममा माओवादी मौलाउनुमा बादलको सीप, श्रम र कलाको हात छ।

बादलसँग लामो समय सहकार्य गरेका कार्यकर्ता र नेताका अनुसार बादल सिर्जनशील थिए। रोल्पाका गाउँगाउँ घुमेर योजना कोरे। रोल्पालीका सामाजिक, आर्थिक, राजनीतिक सम्बन्ध खोतले। जनमानसका कुरा गरे।

माओवादीले सशस्त्र संघर्ष थाल्नुअघि जग खन्न बादल पुगे, राप्ती। खासमा उनले मगर घना बस्तीवाल रोल्पा र रुकुम केन्द्रित रहेर काम गरे। त्यसको लागि लोकेन्द्र विष्टमगर र उनी लागिपरे। त्यतिबेला राप्तीबाट केन्द्रीय समितिमा वैद्य र लोकेन्द्रमात्र थिए।

“बादल दाइ र म रोल्पा, रुकुम र जाजरकोटका पहाड, खोलानाला र गाउँबस्ती घुम्यौँ। ऐनान, आयाकुचो बनाउने सपनासाथ योजना पनि बनायौँ”, लोकेन्द्रले यो पक्तिकारसँग दुई वर्षअघि ती दिनको सम्झना गरेका थिए।

बादल रोल्पा र रुकुमेली कार्यकर्तामाझ प्रिय बने। पाँच वर्षअघि कुराकानीका क्रममा पूर्वसभामुख ओनसरी घर्तीमगरले पंक्तिकारलाई सुनाएकी थिइन्, “बादललाई त रोल्पामा देवता नै मान्थे भने बादल बोलीलाई देवबोली।”

कतिसम्म भने बादल उठेको, बसेको र बोलेको कार्यकर्ताले ‘कपी’ गर्न थाले। ‘अँ’, ‘पाइटी’ जस्ता शब्द कार्यकर्ताका मुखबाट फुत्तफुत्त झर्थे।

बादलकै सिर्जनात्मक सोच थियो, सिज (सिस्ने र जलजला) अभियान। यही अभियानले रोल्पा र रुकुममा माओवादी बलियो बनायो।

अभियानमा नेता, कार्यकर्ता, साँस्कृतिककर्मी सानो सानो समूह भएर गाउँगाउँमा छरिए। तिनले साँघु बनाए। चौपारी बनाए। बाटो खने। जसमार्फत पार्टी नीति, राजनीतिलाई जनमानसकहाँ पुग्यो। त्यसबेला एक हजारभन्दा बढी मानिस परिचालित भए।

बास बस्दा सामान्य परिवार र घरमा बसे। गाउँ देखेपछि, मानिस भेटेपछि त्यहाँको सामाजिक, आर्थिक, राजनीतिक सबै कुरा सोध्थे। तिनका खुशी र दुःखका कुरा सोध्थे। जान्न खोज्थे।

दोस्रो अभियान थियो, सिज मितेरी अभियान। रोल्पा र रुकुमको एक महीने कार्यक्रम अभियानमा छानिएका कमरेड र साँस्कृतिककर्मी रोल्पाका रुकुम पुगे त रुकुमका रोल्पा। अभियानले माओवादीलाई जनतामाझ पुग्न सजिलो गरायो।

यो थियो, २०५०।

अभियानपछि सरकारले ‘रोमियो अपरेसन’ चलायो। बादलले त लालसलामको बदला सिज सलाम शुरुवात गरे।

शुरुवाती चरणमा माओवादी कार्यकर्ता परिचालन र योजना, नीति, दैनिक जीवनमा लागू गर्न बादलले एउटा जुक्ति नै जुराए। मुद्दा लागेका कार्यकर्ता मृग लखेटाइमा परे। तिनलाई जोगाउन र क्रियाशील बनाउन उनले निकालेको जुक्ति देशभर लागू भयो।

त्यो थियो, ओभर र अन्डरग्राउण्डको सिस्टममा लागू गरिने फ्युज र वायर।

मुद्दा लागेका कार्यकर्ता जो देखिन हुँदैनथ्यो, तिनका लागि बादलले फ्युज सिस्टम लागू गरे। फ्युज सिष्टम भनेको एउटा सेल्टरबाट अर्को सेल्टर पुगेपछि फ्युज कट हुनु हो। अर्थात् कुनै कार्यकर्ता वा बाटो देखाउने मान्छे पक्राउ परे पनि अर्कोचाहिँ पक्राउ पर्नबाट जोगिनु हो।

मुद्दा नलागेका कार्यकर्ता परिचालनका लागि ओभर ग्राउण्ड वायर सिस्टम चलनमा ल्याए। सांस्कृतिक कार्यक्रम हुन्थ्यो। उत्तरी भागमा सरकारले दमन गर्दा दक्षिणमा हल्ला गर्थे र छापामार तरीकाले माओवादीले आफ्नो गतिविधि जारी राख्थ्यो।

एक माओवादी नेता भन्छन्, “एउटा गाग्री बनाएपछि दरपुस्तासम्म पानी खाएजस्तो बादलले बनाएको त्यही कुरा युद्धकालभर देशैभर लागू भयो। सुरक्षित रुट पनि बन्दैगए। ती रुट स्थानीय जनताले आफैंले बनाए। वैकल्पिक रुट पनि खोज्दै गए।”

मगर बाहुल्य रोल्पा, रुकुमजस्ता जिल्लामा बादलकै कारण पनि धेरै मगरले माओवादीप्रति विश्वास गरे। बादलको व्यक्तित्व र विदेशमा पढेको चर्चाले मगर समुदायमा झन प्रभाव प¥यो।

“उ माथि छ नि, त्यहीँ गाड्नु होला है कमरेड, क्रान्ति गर्दागर्दै मरेँ भने,” जेलबाङबाट उकालो लागेर जलजला जाँदै गर्दा बादलले भनेको माओवादी नेताहरु सम्झिन्छन्।

माओवादीले पछि जलजलाको त्यही टाकुरामा शहीद स्तम्भ बनायो।

बास बस्दा सामान्य परिवार र घरमा बसे। गाउँ देखेपछि, मानिस भेटेपछि त्यहाँको सामाजिक, आर्थिक, राजनीतिक सबै कुरा सोध्थे। तिनका खुशी र दुःखका कुरा सोध्थे। जान्न खोज्थे।

सरकार-माओवादी वार्ताको बेला बादल पनि माओवादी वार्ता टोलीमा थिए। वार्ताको बेला माओवादीले राजधानीस्थित खुलामञ्चमा आमसभा ग¥यो। बादलले सभालाई सम्बोधन गर्दै भनेका थिए-
साथीहरुले सोध्थे, ‘तिम्रो नेपाल कस्तो छ ?’
मैले भन्थेँ, ‘तिम्रो देश फूलैफूलले ढाकिएको छ। तर तल भने गोबर छ। तर, फूलैफूलको मेरो देश भने गोबरले ढाकिएको छ।’
म त्यही गोबर सोहर्न रुसबाट नेपाल फर्केँ। यसो फर्केर हेर्दा, आधा गोबर त सोहोरिसकिएछ।

रोल्पा, रुकुम, जाजरकोटलगायतका पश्चिम नेपालमा जनयुद्धको जग खन्ने बादल माओवादी पार्टीभित्र स्थापित थिए। ‘माओवादीभित्र’ बादल थिए भने ‘माओवादीबाहिर’ बाबुराम भट्टराई। प्रचण्डले आफूलाई कहीँ पनि देखेनन्। बादल र बाबुरामलाई उनले नेतृत्व चुनौती सम्झे। पहिलो तारो बने, बादल।

जनयुद्ध शुरु भएको दुई वर्ष नबित्दै प्रचण्डले बादललाई कारबाही गरे। आरोप थियो, ‘प्रचण्ड सत्ता हत्याउन खोजे। लिन प्याओ बने।’

अर्थात् प्रचण्डको आसनमा बादलको आँखा लाग्यो। आरोपको अर्को थप्पन थियो, पम्फा भुसालसितको यौन सम्बन्ध।

उनको कारबाही, प्रचण्डसितको सम्बन्धलगायत विषयमा चुनबाङ बैठकमा प्रचण्डले बिस्तार गरे। आफू पनि बदलिएर संसार बदल्ने भनेर क्रान्तिमा लागे पनि नफेरिएको तर्क गर्दै बादलको आशय थियो, प्रचण्डभित्रको बाहुनवादले उनी कारबाहीमा परे। नेपाली समाजको संरचना र त्यसको मनोविज्ञान प्रचण्डले नछाडेको उनको तर्क छ।

एकथरीले त ‘सक्कली एमाले रोज्ने कि नक्कली एमाले’ भनेर रोज्दा बादलले सक्कली रोजेको तर्क पनि गर्छन्। तर, बादल ओलीकहाँ पुग्नुको अन्तर्यमा भने उनकै कुनै बेलाका मित्र प्रचण्ड नै छन्।

चुनवाङ बैठकमा त बादलले भने नै- ‘‘म मगर जातिबाट आएँ कमरेड। मगर भन्ने एउटा जाति हो। जनताको एउटा हिस्सा हो। मगर जातिको परिवेश र संस्कारसहित आएँ। तपाई बाहुन परिवारबाट त्यो इतिहास, परिवेश र संस्कारसहित आउनुभयो। इतिहासले नारायणी किनारमा हामीलाई भेट गरायो। तर हाम्रा सीमिततासहित। चेतनाले मिलन गरायो। तर अन्तरविरोध के हुन् ? संस्कारमा अन्तरविरोध छ। …तपाईंको पनि संस्कार, पृष्ठभूमि र माक्र्सवादसँग अन्तरविरोध छ। सत्ता र नेतृत्व महत्वलाई अलि जोड दिँदा नोकरशाही हुन्छ। आवश्यकताभन्दा बढी जोड दिने कम्युनिष्ट सम्बन्ध टुट्छ।’’

 

चुनवाङ बैठकको भाषणमा बादलले जनयुद्ध थाल्दा मित्रता कहिल्यै नतोड्ने वाचा पनि स्मरण गरेका छन्। उनले लिन प्याओ आरोपप्रति प्रश्न उठाएका छन्।

प्रचण्डसितको सम्बन्ध समीक्षा गर्दै भाषणमा भन्छन्, ‘‘जतिसुकै आँधीबेहरी सृष्टि गरे पनि हाम्रो आत्मीयता कहिल्यै सकिने छैन। सिद्धिने छौँ तर टुट्ने छैनौँ भनेर वाचा गरेका थियौँ। पटकपटक वाचा स्मरण पनि गरेका हौँ। तर, कमरेडहरु हुरी आयो। तुफान आयो। त्यसले हामीमा दरार पैदा गरायो। दरारबाट धेरै धमिरा पसे। …हाम्रो सम्बन्ध हुक्जाओ र लिन प्याओ भयो या बनाइदिए। हो त ? इतिहासको तथ्यले के सावित गर्छ ? म लिन प्याओ हो त ? मैले अध्यक्षको सत्ता उल्टाउन खोजेको हो त ? कुनै पनि तथ्यले पुष्टि गर्दैन। तर यही भइरहेको छ कमरेड। किन आशंका हुन्छ ? इतिहासलाई मेरो पनि प्रश्न छ। सोध्छु, यहाँ उपस्थित नेतालाई। म लिन प्याओ नै हो त ? इतिहासले जवाफ दिनुपर्छ ? अध्यक्ष कमरेड होक्जा नै हो त ?”

प्रचण्डले बादल लिन प्याओ हुन् भनेर पुष्टि गर्न गोर्खा बैठक र सिज अभियानको प्रसंग उप्काउने गरेको आरोप लगाएका छन्।

कारबाहीपछि बादल जिरोमा पुगे। जिरोबाट उठेर पार्टी पदाधिकारीमै पुगे। उनको कमब्याक भयो। तर, रोल्पा, रुकुमतिर र माओवादीका इमान्दार कार्यकर्तामा मौलाएको बादलको ‘करिष्मा’ भने फर्केन।

पार्टी महासचिव भए। पहिलो माओवादी सरकारको रक्षामन्त्री भए। तत्कालीन प्रधानसेनापति रुक्मांगत कटवाललाई कारबाही गर्दा उनी नै विभागीय मन्त्री थिए। त्यही कटवाल काण्ड, जसले माओवादी सरकार ढल्यो।

माओवादीभित्र माओवादी पार्टी संसद्मै रहने कि नरहने भन्ने विषयमा चर्को विवाद भयो। कित्ताकाट हुँदा प्रचण्डविरुद्ध उभिए। विवाद चर्केर २०६९ मा माओवादी फुट्यो। विभाजनपछि प्रचण्ड र बादलबीच चलेको गालीगलौजकै बीचमा बादलले प्रचण्डलाई ‘लाल गद्दार’ भने। २०७३ मा प्रचण्डकहाँ बादल फर्केपछि माओवादी केन्द्र बन्यो।

एमाले-माओवादी सरकारमा बादल गृहमन्त्री भए। पार्टीभित्र विवाद उठेपछि बादलले केपी ओलीलाई साथ दिए। निर्वाचन आयोगले २०७७ मा एमाले र माओवादीलाई साविकको स्थितिमा लाने निर्णयपछि पनि बादल ओलीकै साथ रहे।

बादल किन एमाले भए ?
बादल किन एमाले भए ? किन केपी ओलीकहाँ पुगे ? जवाफमा एकथरीले त ‘सक्कली एमाले रोज्ने कि नक्कली एमाले’ भनेर रोज्दा बादलले सक्कली रोजेको तर्क पनि गर्छन्। तर, बादल ओलीकहाँ पुग्नुको अन्तर्यमा भने उनकै कुनै बेलाका मित्र प्रचण्ड नै छन्। जसको जवाफ त, पार्टी सत्तामोह त्यति सारो नभएका मोहन वैद्यसमेतलाई राख्न नसक्नुले पनि दिन्छ।

बैद्यप्रति प्रचण्डको मुख्य रिस भनेकै धोबीघाट गठबन्धनमा सहभागी हुनु हो। जुन गठबन्धनले बाबुराम भट्टराईलाई प्रधानमन्त्री दिलायो। बादल र बाबुराम भट्टराई त सत्ताको कुरा पनि गर्ने भएकाले स्वाभाविकरुपमा प्रचण्डको आँखी हुने नै भए। प्रचण्ड नेतृत्वको माओवादीमा आफ्नो भविष्य नदेखेपछि बादल ओलीकहाँ पुगेका हुन्। उसो भए ओलीकहाँ बादलको भविष्य के छ ? प्रश्न उठ्छ।

एमाले अन्तरविरोध। ओलीले आफ्नो सरकार ढालेका र माधव नेपाल छाडेका १० भाइलाई त्यस्तो जिम्मेवारी दिन नमिल्ने, आफ्नै गुटकालाई दिन पनि कति आफ्नालाई मात्र दिने भनेर अप्ठेरो। त्यस्तो अवस्थामा बादल नै उपयुक्त थिए। अन्तरविरोध हल गर्न पनि बादल ओली रोजाइमा परे।

प्रचण्ड र बादललाई नजिकबाट नियालेका एकजना माओवादी नेता बादल ओलीकहाँ पुग्नुका चार कारण बताउँछन्।

“एक, बादल पक्षमा माओवादीमा माहोल नहुनु। माओवादी केन्द्रमा बादल नेतृत्वप्रति रमाउने वातावरण नै छैन। सायद बैद्य र नेत्रविक्रम चन्द विप्लव भए त्यस्तो वातावरण हुन्थ्यो होला। दुवै प्रचण्ड नेतृत्वको माओवादीमा छैनन्। ती दुवै नभएपछि बादलको आधार छैन। त्यसैले बादल छुट्टै बस्न खोजे।

दुई, माओवादीमा बादलले आफ्नो भविष्य पनि देखेनन्। भलै, नेतृत्व दाबी गर्न माओवादीमा उनको लगानी र योगदान प्रचण्डको भन्दा कम छैन।

तीन, संसदीय खेतीपाती गर्ने हो भने किन माओवादीमै बस्नु प¥यो र ? संसदमा लीन एमाले माओवादी त सारमा एउटै हुन्। त्यसैले जहाँ बस्दा पनि एउटै हो। प्रचण्डका मानिसलाई लागेकोमात्र के हो भने, प्रचण्डसहित एमालेमा बस्दा क्रान्तिकारी हुने र प्रचण्डबिना बस्दा गद्दार हुने। ओली नेतृत्वको प्रचण्ड दोस्रो अध्यक्ष बस्दा सदर हुने र अहिले बादल कसरी गद्दार हुनु ?

चार, बादल ओलीकहाँ पुग्ने वातावरण भने स्वयं प्रचण्डले नै बनाएका हुन्।”

ओलीले किन बादल रोजे ?
बादलले त ओली रोजे भने ओलीले किन बादल रोजे ? ओली रोजाइमा बादल किन परे ? कम्युनिष्टहरुले नेतृत्व निर्माणबारे पटकपटक दोहो¥याउने शब्द छन् नि- संयोग, क्षमता र आवश्यकता। यिनै कारण पो हो कि ? खैर, जान्न खुलदुली छ।

माओवादी र बादललाई नजिकबाट नियकालेका नेता÷कार्यकर्ताका अनुसार केही कारण हेरौँ।

एक- बादल सन्तुलित छन्।

दुई- बादल अरुका कुरा सुन्छन्।

तीन- चित्त नबुझे पनि तुरुन्त प्रतिक्रिया दिन्नन्।

चार- पछाडि हटेर अगाडि जाने बादलमा ‘गुण’ छ।

पाँच- छलफलमा बादलले ‘गार्जेन्सिप’ लिन्छन्। यसरी राख्नुस् भन्छन्।

६- अरुका मतलाई सम्मान गर्छन्। आफ्ना मत लाद्दैनन्।

सात- रोल्पा, रुकुम उठाउने बादल हो भनेर एमालेले क्यास गर्न पनि बादल रोजेको देखिन्छ। खासमा बादलको पृष्ठभूमि हेरेर।

आठ- एमाले अन्तरविरोध। ओलीले आफ्नो सरकार ढालेका र माधव नेपाल छाडेका १० भाइलाई त्यस्तो जिम्मेवारी दिन नमिल्ने, आफ्नै गुटकालाई दिन पनि कति आफ्नालाई मात्र दिने भनेर अप्ठेरो। त्यस्तो अवस्थामा बादल नै उपयुक्त थिए। अन्तरविरोध हल गर्न पनि बादल ओली रोजाइमा परे।

नौ- पार्टी एकताको सन्देश दिन पनि बादललाई ओलीले रोजे।

दश- कुनै पनि काम कार्यान्वयन गराउन बादल तनमनसाथ लागिपर्छन्।

एघार- प्रचण्डविरुद्ध लड्न पनि ओलीले बादल रोजे। बादललाई यस्ता जिम्मेवारी नदिँदा प्रचण्डले ‘दागा धर्ने’ ओली साेंच छ। यसरी प्रचण्डविरुद्ध लड्न पनि बादललाई पार्टीमा स्थापित नगराई ओलीलाई सुख छैन।

2 thoughts on “यसरी ओलीको रोजाइमा परे प्रचण्डमित्र बादल

  1. राम बहादुर थापा आफू बादल त यसरी
    आँखिरमा बादलले नेपाली समाजलाई के दिए र दिन सके वा सफल भए ???
    खै दश वर्षको हत्या हिङ्साले नेपाली समाजमा केहि परिवर्तन गरेको।??

  2. ओली न विचार न सिद्धान्त न निति न विधी केवल भ्रम हुन
    उनी राष्ट्रघाती हुन भन्ने कुरा महाकाली, अरूण तेश्रो, अरूण तल्लोमा देखियो र राष्ट्रघाती MCC सम्झौतालाई लागु गर्न मरिहत्य गर्नुमा देखियो
    गोयल, रनभाणे, श्रृङ्गाले सँगको उठाबसिले पुष्टी गर्यो
    उनी निति र विधि बिपरित छन भन्ने कुरा संसद अधिवेशन बन्द गर्ने, भोली पल्ट अध्यादेश ल्याएर देश चलाउनु र त्यहिँ संसदको दुई दुई पटक हत्या प्रयास गर्नुले पुष्टी गर्छ
    फेरि पनि ओलीको पछि लाग्नु, हिजो माओवादीको नाममा अवैधानिक तरिकाले ध्वस्त गर्दा गर्दै पनि बचेको देशलाई अब बैधानिक तरिकाले घात गर्नेमा ल्याप्चे सहि ठोक्न त होइन??
    ओलीका पछि लाग्नु न व्यक्ति न समाज न त देशकै पक्षमा छ
    बादल लगायत सबैलाई चेतना भया
    देश बचाउने र बनाउने ईच्छा, मन र रहर भए, राष्ट्रीय जनमोर्चामा जानु पर्ने !! खै त्यसो गर्न सकेको ??

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved