मनमा बसिरहने दुई निरीह पात्र

उनीहरू कुनै महान्, विद्रोही, क्रान्तिकारी पात्र होइनन्। उनीहरू यसैयसै बाँचिदिएका निरीह पात्र हुन्।

मनमा बसिरहने दुई निरीह पात्र

मलाई सधैँभरी नमीठोसँग चिमोटिरहने आख्यानका दुई पात्र छन्- ‘शरणार्थी’की जयमाया र ‘झोला’की कान्छी। दुवै एकदमै निरीह र दुखी पात्र हुन्। मलाई निरीह पात्रले छुन्छन्।

जयमाया ईन्द्रबहादुर राईको ‘जयमाया आफू मात्रै लिखापानी आईपुगी’की पात्र हो। कृष्ण धरावासीको उपन्यास ‘शरणार्थी’मा त्यो पात्रको चरित्रलाई केही विस्तार गरिएको छ।

मैले ईन्द्रबहादुर राईको कथाभन्दा पहिले ‘शरणार्थी’ प्रकाशन भएको साल २०५६ तिरै उक्त किताब पढेँ। त्यही समयदेखि जयमाया पात्रले मलाई आजसम्म झस्काइरहेको छ।

जयमाया निर्दोष पात्र हो। दोस्रो विश्वयुद्धपछि बर्मामा त्यहाँका सैनिकहरूले जुन किसिमको अत्याचार गरे यो कथा त्यसै घटनामा लेखिएको छ।

त्यतिबेला विशेषगरी महिलामाथि बलात्कार तथा लुटपाटका घटनाहरू भए ती घटनाले सबैभन्दा पीडित र व्यथित पात्र जयमायाहरू थिए। जयमायाको बुवा सुबेदार थिए। तर पनि जयमाया नेपाली भएकै कारण उपेक्षित छिन्। त्यहाँ सबैभन्दा बढी पीडित र गम्भीर संकटमा परेकी पात्र जयमाया नै हुन्।

१५/१६ वर्षकी जवान युवती हो, जतिबेला पनि बलात्कृत हुनसक्ने जोखिममा भएकी। त्यस्ता घटना त्यहाँ भइरहेका हुन्छन्। त्यसैले पनि उनीहरूको परिवारले देश फर्कने योजना बनाउँछ। देश गए सुरक्षित भइन्छ भन्ठानेको हुन्छ। सुन, चाँदी धन सम्पत्ति बोकेर बस्ती नेपालतर्फ हिँड्छ। खानेकुरा कम बोकेर पनि धनसम्पत्ति बढी बोक्छन्। आधा बाटोमा पुगेपछि बयलगाडा अगाडि बढ्न सक्दैन र सामान आफैँ बोकेर हिँड्नुपर्छ।

उनीहरूसँगै नेपाल फर्किरहेको जयबहादुर भन्ने एउटा पात्र हुन्छ। लक्का जवान सैनिक। जयमाया भन्दा अलिकति ठूलो। ऊप्रति जयमाया आकर्षित हुन्छे। जयबहादुरले उनीहरूको सामान बोक्न मद्दत गरिदिन्छ। नभने पनि एकअर्काप्रति उनीहरूको प्रेम देखिन्छ। बाटोमा जयमायाकी आमाको मृत्यु हुन्छ। त्यो बेलामा जयबहादुरले एकदमै साथ दिन्छ। उसलाई परिवारकै सदस्यका रुपमा जयमायाले स्वीकार्न थाल्छ। जयमायाले उसलाई आफ्नो प्रेमीसरह हेर्न थाल्छे। यसरी जयबहादुर र आफ्नो बुवाको संरक्षणमा आफूलाई सुरक्षित महशुस गर्दै जयमाया यात्रा गर्छे।

हिँड्दै जाँदा बाटोभरी विभिन्न कष्ट आउँछन्। बीचमा मार्था भन्ने पात्रा पनि भेट हुन्छ। मार्थासँग भेट भएपछि जयबहादुर मार्थालाई प्रेम गर्छ कि भन्ने जयमायाले सोच्न थाल्छे, त्यहाँ अर्को पीडा थपिन्छ। बाढीका कारण खोला तर्न नसकेपछि खोलाको किनारमा बस्ती बस्छ। कोही खोलामा हाम फाल्छन्, कोही रुखमा झुण्डिन्छन् र आत्महत्या गर्छन्। किनभने राम्रो खानेपानी र खानेकुराको प्रवन्ध हुन सक्दैन। जयमायालाई जयबहादुरको प्रेम र बुवासँगको मायाले बाँच्ने भरोषा दिन्छ। नेपाल छिर्ने क्रममा बाबु खोला तर्छ तर जयमाया वारि नै रहन्छे। छोरीलाई लिन फर्किएको उसको बुवा फर्किएर छोरीलाई त तार्छ तर आफू भने खोलासँगै बगेर जान्छ।

जयमायाले बा, आमा, आफन्त, साथीसँगी सबै गुमाइसकेकी हुन्छे। अब ऊसँग बाँच्नका लागि एउटै आशा जयबहादुर हुन्छ। तर जयबहादुर मार्थालाई साथ दिनुपर्छ भनेर ऊसँगै नजिक हुन्छ। ऊ सबैथोक गुमाएर लिखापानी आइपुग्छे। आफ्नै देश आइपुग्छे।

यसरी आफ्नै देश आइपुगेकी जयमाया अहिले कहाँ छे ? जयमायाहरू कहाँ छन् ? उनीहरूले देश भेटाए ? जयमाया नेपालमै छ कि शरणार्थी भएर कुनै देशमा गई ? अब त बुढी भई होला ! सबैथोक गुमाएर आएका जयमायाहरूले के के पाए ? यी विविध प्रश्नहरू मेरो मनमा उठिरहन्छन्।

यसैगरी ‘झोला’ चलचित्रकी प्रमुख पात्र कान्छी पनि मेरो सम्झनामा आइरहने पात्र हो। भर्खर ३० वर्ष पुगेकी जवान ऊ घरको करले ७०/७५ को बूढोसँग बिहे गरेर आउँछे। शारीरिक र मानसिक सुखबाट बञ्चित भएर मृत्युशय्यामा लडिरहेको वृद्धको स्याहार सुसार गर्छे। बिहे गर्नेबेलामै ऊ सती जानुपर्नेछ भन्नेमा ढुक्क भएकी हुन्छे।

हरेक दिन ऊ यिनै पीडामा जलिरहन्छे। एकदिन उसको लोग्ने मर्छ। उसलाई चितामा जलाउन शृंगार गर्छन्। ऊ सबै हिसाबले मर्न तयार भएर बसेकी छ। उसलाई बालख छोरोप्रति पनि प्रेम दर्शाउनु छैन। गाउँलेले जलाउन लैजाँदा उसलाई अनेकन डर देखाइरहेका छन्। ऊ जल्न जाँदैछे। उसका सबै सुखले उसको लोग्नेको मृत्युसँगै आत्महत्या गरेका छन्।

चितामा आगो सल्किएपछि पोल्न थाल्छ र ऊ नदीमा हाम फाल्छे। उसँग बाँच्ने जीजीविषा पनि छैन। केवल आगोको जलन सहन नसकेर ऊ चिताबाट हाम फालेर भाग्छे र गुफामा गएर बस्छे। ऊ आफूलाई बरु जँगली जनावरले लुछेर खाओस् सोच्छे।

एकदिन उसको छोरोले उसलाई भेटाउँछ र काकाकाकीको सहयोगले आमालाई ईलामतिर लगेर जान्छ। ऊ त्यहाँबाट बालख छोरो लिएर कहाँ गई होला ? कहाँ पुगी होला ? त्यसपछि उसले के गरि होला ?

यी अनेक प्रश्नले मेरो मनमा जरा गाडेर बसिरहेका छन्। यिनै प्रश्नकै कारणले हो मैले कृष्ण धरावसीको कथा ‘झोला’मा चलचित्र बनाएँ। मलाई जयमायामाथि पनि काम गर्न मन थियो। त्यसैले त्यसको पनि एउटा कथाको ड्राफ्ट बनाएर बसेको छु। तर त्यसमा ठूलो लगानी लाग्ने भएकाले तत्काल आँट्न सकेको छैन।

सामान्य मान्छे मन पर्ने भएकाले जयमाया र कान्छी मलाई मन पर्छन्। काल्पनिक पात्र भए पनि उनीहरूको पीडाले मलाई पोल्छ। यतैकतै हामीले देखिरहेका र भोगिरहेका पात्र हुन् कि जस्तो लाग्छ ती। उनीहरू कुनै महान्, विद्रोही, क्रान्तिकारी पात्र होइनन्। उनीहरू यसैयसै बाँचिदिएका निरीह पात्र हुन्। मलाई निरीह, दुखी, पीडित पात्र मन पर्छन्, मैले मन पराइदिए उनीहरूको पीडा कम हुन्छ कि जस्तो लाग्छ। उनीहरूको दुःखमा म दुखी भइरहेको हुन्छु। यसले उनीहरूको दुःख बाँडियो होला जस्तो लाग्छ।

(प्रस्तुतीः काशीराम बजगाईं)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved