आन्तरिक द्वन्द्वको भूमरीमा दलहरू

संविधान निर्माणपछि भएको तीनै तहको निर्वाचनअघि स्थायित्वको नारा दिएका दलहरू अर्को निर्वाचन आइनसक्दै छिन्नभिन्न भइसकेका छन्।

आन्तरिक द्वन्द्वको भूमरीमा दलहरू

काठमाडौं। सत्ताघटकदेखि प्रतिपक्षीसम्म आन्तरिक द्वन्द्वको चपेटमा छन्। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस, अन्य गठबन्धनका दलहरूभित्र कुनै न कुनै विषयले आन्तरिक द्वन्द्व चर्कँदो छ। माधव नेपाल ने‍तृत्वको नेकपा (एकीकृत समाजवादी) नेकपा (एमाले) सँगको बिछोडपछि तरंगित छ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) सत्ता गठबन्धनकै कारण फेरि किचलोमा छ। शेरबहादुर देउवा सरकारले दल विभाजनको अध्यादेश ल्याएपछि आधा फ्याक भएको यो पार्टी फेरि आन्तरिक विवादमा फसेको छ।

संविधान निर्माणपछि भएको तीनै तहको निर्वाचनअघि स्थायित्वको नारा दिएका दलहरू अर्को निर्वाचन आइनसक्दै छिन्नभिन्न भइसकेका छन्।

दलहरूको आन्तरिक द्वन्द्वले देशको राजनीतिमा स्थिरता देखिने सम्भावना नै छैन। एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको आन्तरिक कलहकै कारण केपी शर्मा ओलीको सरकार ढलेर कांग्रेसले सत्तारोहणको मौका पाएको हो। त्यसयता पनि दलहरूभित्रको किचलो व्यवस्थापन हुन सकेको छैन। बरु सरकार बनेयता दलहरू झनै फुटउन्मुख हुन थालेका छन्।

पुनः पार्टी फुट्न सक्ने आशंकामा जसपा दलविभाजनसम्बन्धी अध्यादेश फिर्ता नलिएसम्म मन्त्रिपरिषद् विस्तार हुन नसक्ने अडानमा छन्। जसको असर मन्त्रिपरिषद् विस्तारमा परेको छ। आसन्न १४ औं महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको कलहलाई व्यवस्थापन गर्न नसकेका देउवामाथि मन्त्रिपरिषद् विस्तारको अर्को समस्या थपिएको छ।

कुन दलभित्र कस्तो समस्या ?

नेपाली कांग्रेस : पार्टीको १४ औं महाधिवेशनमा होमिएको कांग्रेस यतिबेला गुटबाट प्रभावित हुन थालेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्ण सिटौला, उपसभापति विमलेन्द्र निधिको छुट्टै गुट कांग्रेस र सभापति देउवाका लागि टाउको दुःखाइ बनेको छ।

त्यसमाथि कोइराला परिवारले महाधिवेशनका लागि बनाएको रणनीतिले पनि कांग्रेस तरंगित बनेको छ। आन्तरिक राजनीतिमा गिजोलिएको कांग्रेसभित्र सभापतिको हरेक कदमको विरोध हुन थालिसकेको छ। वरिष्ठ नेता पौडेल समूह र देउवाको पछिल्ला कदमप्रति खुलेरै विरोध गर्न लागिपरेको छ। अधिवेशनदेखि मन्त्रिपरिषद् विस्तारमा पौडेल समूहले असहमति जनाउन थालेकाे छ।

नेकपा (एमाले) : माधव नेपालले पार्टी फुटाएपछि समस्यामा परेको एमालेमा यतिबेला पार्टीका तेस्रो धार समस्याका रूपमा खडा भएको छ। पार्टी उपाध्यक्ष भीम रावल आइतबारको केन्द्रीय कमिटी बैठकको बीचबाटै हिँडे। २ जेठ २०७५ अघिको पार्टी संरचनादेखि दोस्रो तहका नेतासँग बनेको १० बुँदे सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनी रुष्ट देखिएका छन्।

नेकपा माओवादी सम्मिलित नेकपामा रहँदा माधव नेपालको पक्षमा खुलेका तेस्रो धार भनिएका नेताहरूको व्यवस्थापन एमालेका लागि अहिले सल्टाउनैपर्ने चुनौती देखिएको छ। उता माधव नेपालसहित १४ जनालाई कारबाही नगरेसम्म संसद चल्न नदिने अडानले पनि समस्या सिर्जना गरेको छ।

नेकपा (माओवादी केन्द्र) : नेकपा खारेज भएपछि पुरानै घर फर्किन बाध्य माओवादी केन्द्र पनि आन्तिरक समस्याबीच गुज्रिरहेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र उनको पछिल्ला दिन आएका अभिव्यक्तिले पार्टीभित्र समस्या रहेको पुष्टि गर्न थालेको छ।

माओवादी भित्र पनि पछिल्लो समयमा असन्तुष्टि देखिन थालेको छ । आफ्नै निकट नेताहरु प्रचण्डसँग असन्तुष्ट बनेपछि उनले सार्वजनिक कार्यक्रमहरुमै पछिल्लो समयमा पार्टीप्रति अनुदार अभिव्यक्तिहरु दिन थालेका छन्।

जानकारहरुका अनुसार नारायणकाजी श्रेष्ठले पार्टीभित्र सामानान्तर गतिविधी गर्न थालेका छन् भने कुनैबेला प्रचण्डसँग नजिक रहेका नेताहरु हरिबोल गजुरेलदेखि राम कार्की लगायतको समूह पनि पार्टी भित्र असन्तुष्ट छन् ।

प्रचण्डले त्यही भएर केही दिन अगाडि पार्टी भित्र नेताहरु व्यवस्थापनमा कठिनाइ उत्पन्न भएको स्वीकार गरेका थिए । हुनत प्रचण्डसँग नजिक रहेका दर्जन बढी प्रमुख नेताहरु नेकपा दुई खेमामा विभाजन हुँदा एमाले तिर लागेका थिए ।

जसपा : सत्ता समीकरणको विषयलाई लिएर मतभेद सृजना भएपछि जसपा फुटेको छ। ओली नेतृत्वको समीकरणलाई सघाउने कि देउवा नेतृत्वको समीकरणलाई सघाउने विषयमा जसपा भित्र कलह भएपछि महन्थ ठाकुरको नेतृत्वकाे लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भएको छ।

महन्थ ठाकुर र उपेन्द्र यादव अलग भए पनि यादवको जसपामा असन्तुष्टी चुलिएको छ । सतारुढ गठबन्धनमा अहिले यादवकै अडानका कारण क्याबिनेट विस्तार हुन नसकेको बुझाइ छ । सबैलाई मन्त्री बनाउन नसकिने भएकाले यादव अहिले अध्यादेश फिर्ताको अडानमा रहेका बताइन्छ।

जानकारहरुका अनुसार जसपा भित्र मन्त्री बन्नकै लागि पछिल्लो समयमा रडाको मच्चिएको छ । केही समयअघि बसेको जसपा पदाधिकारी र सांसदहरुको बैठकमा त केही नेताहरुले पार्टी नै परित्याग गर्ने धम्की यादवलाई दिएका थिए । त्यसपछि यादव झस्किएका छन्।

०००

यसरी हरेक दलहरू पछिल्लो समयमा द्वन्द्वको भूमरीमा फसेको देखिन्छ। विश्लेषक अजयभद्र खनाल राजनीतिक दलहरूमा पावर र पैसाको प्रभाव बढेका कारण यस्तो देखिएको बताउँछन्। “आन्तरिक प्रतिस्पर्धा पहिला पनि हुन्थ्यो। तर अहिले कलह जस्तो देखिन थालेको छ”, खनाल भन्छन्, “राजनीतिक दलहरूमा पावर भए मात्रै उनीहरुको प्रभाव देखिन थाल्यो।”

खनालले दलहरू भित्रको आन्तरिक कलहको जड निर्वाचन प्रणाली र राजनीति दलसम्बन्धी विद्यमान व्यवस्थामा सुधार गरेपछि मात्रै हट्न सक्ने दाबी गर्छन्।

उनी भन्छन्, “यसको समाधानको उपाय नेताहरूलाई थाहा।” निर्वाचन आयोग देखि प्रमुख दलहरूको शीर्ष नेताहरूले यसमा सुधार गर्न सक्ने उनको ठम्याइ छ।

दलहरूको आन्तरिक कलहले सिधा सरकार र राज्य प्रणालीलाई प्रभाव पारिरहेको हुन्छ। गत निर्वाचनमा स्थिरताको नाममा झण्डै दुुईतिहाइ मत ल्याएको तात्कालीन नेकपा फुटेसँगै पुन: सत्ताको खेल शुरु भएको छ। दलहरू बीचको मनमुटावले पछिल्लो ढेड वर्षयता अन्योलग्रस्त राजनीति नयाँ सरकार बने पनि उस्तै देखिन्छ।

जसपाको प्रवक्तासमेत रहेका डम्बर खतिवडा दलहरूको आन्तरिक कलह बढ्नुमा संसदीय प्रजातन्त्रमै खोट देख्छन्। उनी भन्छन्, “यो व्यवस्थामा हुने नै यस्तै हो।”

खतिवडा ०७३ को राजनीतिक दल सम्बन्धी ऐन पनि दलहरूको यो अवस्था आउनुमा कारक रहेको बताउँछन्।

“शीर्ष नेताहरू प्रजातन्त्रदेखि पार्टीभन्दा पनि माथि आफूलाई ठान्ने प्रवृत्ति हाम्रो मौलायो”, खतिवडा भन्छन्, “विगतमा पनि कांग्रेसको गणेशमान, किशुनजीको बीचमा एमालेको मदण भण्डारी र मनमोहन अधिकारीको बीचमा हुन्थ्यो तर अहिलेको जस्तो पार्टी नै सिध्याउने गरी उहाँहरू कहिले लड्नु भएन।”

विश्लेषक खनाल सँगै जसपा नेता खतिवडासमेत दलका शीर्ष नेताहरूमा पैसा र सत्ताको अनावश्यक मोह बढेको दाबी गर्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved