अझैँ पाएनन् मुक्त कमलरीले परिचयपत्र

परिचयपत्र पाउन नसक्दा उनीहरू विभिन्न सरकारी सेवासुविधाबाट बञ्चित हुनुपरेको छ।

नेपाल भ्यूज

अझैँ पाएनन् मुक्त कमलरीले परिचयपत्र
सांकेतिक तस्वीर

कैलाली। सरकारले कमलरी प्रथा मुक्त घोषणा गरेको आठ वर्ष बितिसक्दा पनि मुक्त कमलरीले सरकारी परिचयपत्र पाउन सकेका छैनन्। परिचयपत्र पाउन नसक्दा उनीहरू विभिन्न सरकारी सेवासुविधाबाट बञ्चित हुनुपरेको छ।

सरकारले विसं २०७० असार १३ गते मुक्त कमलरी घोषणा गरेको थियो। अहिलेसम्म पनि आधा बढी मुक्त कमलरीले परिचयपत्र पाउन नसकेको मुक्त कमलरी विकास मञ्च कैलालीकी अध्यक्ष बिन्द्रा चौधरीले बताइन्। अहिलेसम्म पनि कमलरीको जीवनस्तरमा परिर्वतन आउन नसकी गाँस, बास, कपाससँगै शिक्षा, स्वास्थ्यलगायतका अन्य आधारभूत आवश्यकताबाट बञ्चित हुनुपर्ने अवस्था रहेको जानकारी उनले दिइन्।

सरकारले १ देखि ८ कक्षासम्म अध्ययनरत मुक्त कमलरीलाई मासिक १५० र ९ र १० कक्षामा पढिरहेकालाई १८० रुपैयाँ दिँदै आएको छ। साथै १२ कक्षासम्म अध्ययन गर्ने छात्रालाई छात्रवृत्ति दिने गरेको छ। सो कक्षाभन्दा माथि अध्ययन मुक्त कमलरीलाई छात्रवृत्ति दिने गरेको छैन। अर्थावस्था कमजोर भएकै कारण १२ पास गरेर माथिल्लो तह अध्ययन गर्न नसकेको जनाइएको छ। उच्च शिक्षा अध्ययनका लागिसमेत राज्यले मुक्त कमलरीलाई सहयोग गर्नुपर्ने अध्यक्ष चौधरीको भनाइ छ।

कैलालीमा चार हजार ७४ मध्ये दुई हजार ५०० मुक्त कमलरीले मात्र सरकारी परिचयपत्र पाएको मञ्चले जनाएको छ। सो जिल्लामा अझै एक हजार ५७४ जनाले परिचयपत्र पाउन बाँकी छ। छुट कमलरीको परिचपपत्रका लागि आफूहरू लागे पनि सरकारले कुनै सुनुवाइ नगरेको उनको गुनासो छ।

मञ्च केन्द्रीय कार्यालय दाङका अनुसार हाल दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी सात हजार ८३५ मुक्त कमलरीले परिचयपत्र प्राप्त गर्न सकेका छैनन्। यी पाँच जिल्लामा उनीहरूको सङ्ख्या १२ हजार ७६९ छ। ती दाङमा दुई हजार १६०, बाँकेमा ३४३, बर्दियामा दुई हजार ९५३, कैलालीमा एक हजार ५७४ र कञ्चनपुरमा ८०५ गरी झण्डै आठ हजार बढी मुक्त कमलरीले परिचयपत्र पाउन नसकेको मञ्चले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved