“एउटा पिता सोध्छ छोरीलाईः पढ्ने? किन पढ्नुपर्यो तिमीले?
मसँग छन् प्रशस्त छोराहरू जो पढ्न सक्छन्। केटी, किन पढ्नुपर्यो तिमीले?
मेरा सपनाको उडानका लागि, पढ्नैपर्छ मैले
ज्ञानले ल्याउँछ नयाँ प्रकाश, त्यसैले पनि पढ्नैपर्छ मैले
मैले लड्नैपर्ने युद्धका लागि पनि, पढ्नैपर्छ मैले
म एउटी केटी हुँ, पढ्नैपर्छ मैले ।”
९ असोजको बिहानै हामीले ती महिलालाई गुमायौँ, जसले यी आगोजस्ता पंक्ति लेखेकी थिइन्। उनी थिइन्, कमला भासिन। महिला अधिकारका लागि लड्ने एक अभियन्ता जसको जीवन र काम धेरैका लागि उत्साह र प्रेरणाका स्रोत थिए। भारतको नारीवादी आन्दोलन (र, सिंगै दक्षिण एसियाकै लागि पनि-अनुवादक)का लागि उनको योगदान अतुलनीय छ।
७५ वर्षको उमेरमा क्यान्सरसँग जुध्दाजुध्दै उनको निधन भयो।
अभियन्ता भासिनलाई धेरैले पितृसत्ताविरूद्ध उनले गर्ने कडा र उत्साहपूर्ण भाषणका कारण चिन्छन्। तर मैले उनलाई एकदमै स्नेही र दयालु मानिसको रूपमा चिन्न पाएँ। उनी जस्तो थिइन् त्यस्तै रूपमा चिन्न पाउँदा म आफैँलाई भाग्यमानी ठान्छु।
सन् २०१८ मा मैले पहिलोपटक भासिनलाई भेट्ने अवसर पाएकी थिएँ। मेरी साथी प्रिति दास ‘महिला मञ्च’ नामको स्ट्याण्ड-अप कमेडी समूहकी संस्थापक सदस्य थिइन्। उनीहरूले भासिनसँग मिलेर लैंगिक समानतासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेका थिए। प्रिति अहमदेबाददेखि दिल्ली आएर दुई दिनका लागि भासिनको घरमा बसेकी थिइन्। त्यतिबेलै प्रितिले मलाई भासिनसँग चिनापर्ची गराइदिएकी थिइन्। भासिनले भने मलाई डिनरको निम्तो दिइन्। उनले डिनर प्रस्ताव गर्दा म हिचकिचाइरहेकी थिएँ किनभने उनीबारे सुने पनि त्यसअघि भेटेकी थिइनँ। उनले भने ‘सँगै हिँड’ भनेर कर गरिन्। म बाध्य भएर उनको रातो कारमा बसेँ। उनले हामीलाई आफ्नो घरसम्म आफैँले कार हाँकेर लगिन्। ७२ वर्षकी भासिनले गाडी हाँकेको देखेर २४ वर्षे म चकित भइरहेकी थिएँ। तथापी, उनले आफूलाई स्वतन्त्र अनुभूत गराउने हरेक काम मनपर्ने बताएकी थिइन्।
उनले गरेका कामबारे जानकार भएर पनि र उनी कति प्रख्यात छिन् भन्ने थाहा पाएर पनि कारणवश मैले उनी डरलाग्दी होलिन् भन्ने ठानिरहेथेँ। तर त्यसको विपरीत केही घण्टामै हामी उनको घरमा वाइन पिउँदै, गीत सुन्दै, पराठा खाँदै, गफ गर्दै हाँसिरहेका थियौँ। उनलाई त्यस्तै उन्मुक्त जीवन मन पर्थ्यो। उनले हामीलाई आफ्नो बाल्यकालका कथा सुनाइन्। कसरी उनी रूख चढ्ने गर्थिन्, कसरी केटाहरूसँग खेल्थिन् र कसरी उनले केटीहरूले के गर्न हुन्छ, हुन्न भन्ने रूढीलाई मतलबै गरिनन्। उनले हामीलाई आफ्ना बुवा कसरी राजस्थानका डाक्टर बने र कसरी उनी भारतका विभिन्न शहरमा डुल्दै हुर्किइन् भनेर बताइन्। हुर्कने क्रममा उनले देखेका ग्रामीण महिलाको जीवनले पछि गएर उनको गैर-सरकारी संस्थासँगको कामको प्रकृति निर्धारण गर्यो। त्यो गैर-सरकारी संस्थाले ग्रामीण क्षेत्रका वञ्चितिकरणमा परेका महिलाको पक्षमा काम गर्थ्यो।
आफ्ना काम भन्दा पर कमला भासिन बडो स्नेही आमा थिइन् जो जस्तोसुकै व्यक्तिगत समस्या सामना गर्दा पनि मुस्काइरहेकी हुन्थिन्। हामी गफ गरिरहँदा पनि उनले बिचबिचमा आफ्नो छोरा छोटुको ख्याल गरिरहेकी हुन्थिन्। छोटु त्यतिबेला झण्डै ४० वर्षका थिए। एक वर्षको हुँदा नै भ्याक्सिनको असरले उनलाई मस्तिष्क पक्षघात भएको थियो। त्यसबेलादेखि उनी बिछ्यौनामै पल्टिरहन विवश थिए र बिना सहयोग केही पनि गर्न सक्दैनथे। छोटुका लागि २४ घण्टै सहयोग गर्ने सहयोगी नियुक्त गरिएको थियो तर भासिनले नियमित हेरचाह गरिरहेकी हुन्थिन्। छोरालाई के भइरहेछ भन्ने हेरेर उनी पुनः डाइनिङ टेबलमा आइपुग्थिन् र आफ्ना कथा सुनाउन थाल्थिन्। टेबलपछाडिको भित्तामा उनकी दिवंगत छोरी मिटुको तस्वीर थियो। सन् २००६ मा उनकी २७ वर्षे छोरीले आत्महत्या गरेकी थिइन्। भासिनले हामीलाई सुनाइन्, मिटुको निधनपछि उनलाई बाँच्ने साहस दिने उनको काम नै थियो, नभए त उनी टुटिसकेकी थिइन्।
प्रिति र म त्यहाँबाट हिँड्ने बेलामा भासिनले आफूले नर्सरीका बच्चाका लागि हिन्दी र अंग्रेजीमा लेखेको बालगीतका किताब दिइन्। ती किताब अर्को दिन सार्वजनिक हुनेवाला थिए। उनले नारीवादबारे लामा लेख, किताब र कविता लेखेकी थिइन् भन्ने मलाई थाहा थियो। तर बालगीत ! शुरूमा त म छक्क परेँ। तर जसै किताब पल्टाएँ मैले थाहा पाएँ ती सामान्य बालकविता थिएनन्। किताबको नाम थियो- ‘घरको काम सबैको कामः न्यायी र खुशी परिवारका लागि बालगीत”।
तीमध्ये एउटा गीतको शीर्षक थियो, ‘साबुन र फोकाहरू’। त्यो कवितामा बच्चालाई नुहाइदिइरहेको पिताको चित्र थियो। गीत यस्तो थियोः
“साबुन र फोकाहरू, स्याम्पु र छहरो
पानी मन पराउँछ, प्रितु हाम्रो
आमा खुवाउँछिन् उसलाई
बुबा नुहाइदिन्छन्
म हसाउँछु
र फकाउँछु उसलाई।
साबुन र फोकाहरू, धुने र चम्किने
मेरो भाई हो ऊ, नुहाउन मन पराउने ।”
हिन्दी किताबमा पनि त्यस्तै कविता थियो, ‘भिजेको छोटु’(गिला छोटु) शीर्षक भएको (छोटु भासिनको छोराको पनि नाम थियो)। यो गीत चाहिँ छोराको डायपर फेर्ने पिताबारे थियो।
“भिजेको छ है भिजेको छ
हाम्रो छोटु भिजेको छ
भएको छ फोहोरी
बाउ लगाइदिँदै छ नयाँ लँगौटी ।”
भासिनले भनेकी थिइन्, उनी आफ्ना यस्तै रचनाबाट बच्चाहरूलाई सानैदेखि सचेत बनाउन चाहन्छिन्। ती गीत पढेपछि मैले उनीसँग अरू प्रतिहरू पनि दिन अनुरोध गरेँ ताकि म आफ्ना साना भतिज-भतिजीलाई दिन सकुँ। उनले खुशी हुँदै मेरो अनुरोध स्विकारिन्।
आज (९ असोज) भासिनले यो संसारलाई ‘अल विदा’ भनेकी छन्। तर उनका शब्द र उत्साहले धेरैको जीवन छोएको छ। उनलाई नजिकबाट जान्नेहरूले उनको लहरे हाँसो सम्झिरहनेछन्। उनी ती हरेक बच्चासँगै जीवित रहनेछिन् जो उनको साहित्यसँगै हुर्कनेछन् र लैंगिक समानतामा विश्वास गर्नेछन्।
(भारतीय सञ्चारमाध्यम एनडिटिभीकी वरिष्ठ संवाददाता सुकिर्ती द्विवेदीको सोही सञ्चारमाध्यममा प्रकाशित ब्लगको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्।)
Facebook Comment
Comment