आर्थिक संकटउन्मुख छ चीन !

एभरग्रान्ड कम्पनीले चीनमा पारेको असरलाई सन् २००८ को अमेरिकी आर्थिक मन्दीसँग तुलना गर्न थालिएको छ। अमेरिकाको एक बैंक लेमन ब्रदर्स टाँट पल्टिँदा विश्वले आर्थिक मन्दीको सामना गर्नुपरेको थियो।

आर्थिक संकटउन्मुख छ चीन !

काठमाडौं । चीनको विशाल अर्थव्यवस्था खलबलियो भने त्यसले विश्वको आर्थिक अवस्थालाई कुन हदसम्म प्रभाव पार्ला? ‘ग्लोबल सप्लाई हब’ का रूपमा रहेको चीनको अर्थ व्यवस्थाको सौद्धान्तिक पक्षसँग धेरै देश र मानिस सकारात्मक नरहे पनि चीनको अर्थतन्त्रसँग विश्व जोडिएको सत्य हो।

चीनको अर्थतन्त्रलाई लिएर विश्वमा दुई प्रकारको धारणा छन्। चीनको बढ्दो अर्थतन्त्रका विषयमा एउटा विचारधाराले आर्थिक हिसाबमा चीन विश्व शक्ति बन्ने दिशातर्फ अग्रसर रहेको दाबी गर्छ भने, अर्कोले चीनको बढ्दो अर्थतन्त्र जुनसुकै बेला धराशायी हुनसक्ने दाबी गर्छ।

आलोचकहरू चीनको अर्थव्यवस्था अपारदर्शी भएको पनि आरोप लगाउँछन्। यस्तो आरोप लगाउनेमा पश्चिमा देश विशेषतः अमेरिका र ऊसँग निकट संघसस्था र व्यक्ति अग्रस्थानमा छन्।

अमेरिका र चीनबीच सामरिक, राजनीतिक, सांस्कृतिक प्रतिस्पर्धा त छ नै, त्योभन्दा ठूलो आर्थिक क्षेत्रमा प्रतिस्पर्धा छ। अवस्था कतिसम्म बढ्दै छ भने अमेरिकी राष्ट्रपतिलाई ‘हामी नयाँ शीतयुद्धमा जानेछैनौँ’ भन्ने अभिव्यक्तिसमेत दिनुपर्ने अवस्था छ।

चिनियाँ अर्थव्यवस्था

दोस्रो विश्व युद्धपछिको शीतयुद्धमा परमाणु शक्तिको होड भएको धेरैको विश्वास भए पनि त्यो दुई प्रकारको आर्थिक विचारधाराको लडाइँ थियो- पुँजीवाद र साम्यवाद। एकको पछाडि अमेरिका थियो भने अर्कोको सोभियत संघ। सन् १९९१ मा सोभियत संघ ढलेसँगै अमेरिकाले एकधुव्रीय विश्व व्यवस्थाको नेतृत्व गर्‍यो।

कम्युनिस्ट देश भइकन पनि चीनको आर्थिक नीति भने केही फरक छ। सोभियत संघ विघटनलाई नजिकबाट नियालेको चीनले आफ्नो अर्थ व्यवस्थालाई राजनीतिक सिद्धान्तबाट पृथक् राख्न खोजेको देखिन्छ।

अमेरिकाले एकधुव्रीय विश्वको नेतृत्व गर्दै गर्दा शीत युद्धको वैचारिक लडाइँ पुँजीवादले जित्यो भन्ने अर्थ लगाउन सकिन्छ। पुँजीवाद आफैंमा सर्वस्वीकार्य सिद्धान्त नभए पनि आज विश्वका अधिकांश देशको अर्थव्यवस्था यसैमा टिकेको छ। वामपन्थी अथवा कम्युनिस्ट विचारमा आस्था राख्नेहरूले पुँजीवादी व्यवस्थाको आलोचना गर्छन्। सम्पति वा स्रोतलाई विकेन्द्रीकृत गर्नुपर्ने विचार राख्ने वामपन्थीहरूले सम्पति केन्द्रीकृत गर्ने नीति भन्दै पुँजीवादको विरोध गर्ने गर्छन्।

राजनीतिक विचारधारा र अर्थ नीतिले एक आपसमा पारस्परिक सम्बन्ध राखेको पाइन्छ। अधिकांश प्रजातान्त्रिक देशले पुँजीवादमा विश्वास राख्दा वामपन्थी देशले समाजवादमा विश्वास राखे।

कम्युनिस्ट देश भइकन पनि चीनको आर्थिक नीति भने केही फरक छ। सोभियत संघ विघटनलाई नजिकबाट नियालेको चीनले आफ्नो अर्थ व्यवस्थालाई राजनीतिक सिद्धान्तबाट पृथक् राख्न खोजेको देखिन्छ।

१९८० को दशकमा चीनले आर्थिक विकासका लागि नयाँ प्रकारको आर्थिक नीति प्रतिउत्पादन गर्‍यो। पुँजीवाद र समाजवादको मिश्रित प्रणालीलाई आफ्नो आर्थिक नीति बनायो चीनले। १९४९ मा कम्यनिस्ट पार्टीको सरकार गठन गरेको चीनले त्यसपछि गरेको आर्थिक प्रगति देखेर सम्पूर्ण विश्व नै चकित भयो। पुँजीवाद र स्वतन्त्र बजार चीनको आर्थिक नीति भए पनि त्यसमा आफ्नै प्रकारको स्वाद चीनले भरेको छ। जसलाई चीनले चिनियाँ प्रकृतिको समाजवाद पनि भन्ने गरेको छ। अर्थतन्त्रमा चीनको आफ्नै प्रकारको नियम छ, अर्थतन्त्रलाई सरकारले नियन्त्रण गर्न सक्छ।

चीनको रियल स्टेट क्षेत्र

चीन अर्थतन्त्रको एउटा दरिलो खम्बा त्यहाँको ‘रियल स्टेट’ हो। ८० को मा चीन खुला बजार अर्थतन्त्रमा गएसँगै मानिसहरू व्यापार व्यवसायतर्फ आकर्षित भए। समयक्रमसँगै त्यहाँका मानिसले कृषि कर्मको सट्टा रियल स्टेटलाई आफ्नो व्यवसाय बनाउन थाले। सन् १९७८ मा जनसंख्याको करीब १८ प्रतिशत चिनियाँ शहरमा बस्थे भने गत वर्षसम्मको तथ्यांक हेर्दा त्यो बढेर ६४ प्रतिशत पुगेको छ।

आपूर्तिको तुलनामा माग बढी हुँदा सामानको मूल्य बढ्छ, यो अर्थतन्त्रको सामान्य सिद्धान्त हो। चीनमा यही भयो। घना जनसंख्या भएको चीनको शहरी क्षेत्रमा घर, फ्याल्टको माग बढ्दा त्यसको मूल्य पनि बढ्दै गयो। समयक्रममा विकृति पनि भित्रियो। मानिसहरूले अधिक ब्याजदरमा ऋण लिएर परिवारका लागि शहरी क्षेत्रमा बसोबासको बन्दोबस्ती मिलाउन जुटे।

व्यवसाय फस्टाउँदै जाँदा रियल स्टेट व्यवसायी दुःखी हुने सवालै थिएन। समय यस्तो पनि आएको थियो कि भवन नबन्दै फ्ल्याट बिक्री भइसक्थे। एउटा भवन बनिनसक्दै व्यवसायीहरू अर्को बनाउने प्रक्रियामा जुट्थे।

रियल स्टेटको फस्टाउँदो व्यापारबाट फाइदा उठाउनेमा एभरग्राण्ड कम्पनीमा एक थियो। १९९६ मा चीनको क्वाङचौ शहरमा यो कम्पनी स्थापना भएको थियो। शुरुआती चरणमा ३ सय २३ एपाट्मेन्ट बनाएको यो कम्पनीले आधा दिनभन्दा कम समयमा ती सबै अपार्टमेन्ट बिक्री गरेको बताइन्छ।

समयक्रमसँगै एभरग्राण्ड चीनका ठूला कम्पनीका रूपमा दर्ज हुँदै गयो भने सन् २०१० मा यो कम्पनीले फुटबल टिम कम्पनीकै नाममा खरिद गर्‍यो। योसँगै विद्युतीय  सवारी साधन, पर्यटनदेखि लिएर धेरै क्षेत्रमा एभरग्रान्ड कम्पनीले हात हाल्यो। सन् २०१५ सम्म आइपुग्दा कम्पनीका मालिक सुजियायिन अमेरिकाका एलोन मस्कलाई टक्कर दिने दाबी गरेका थिए।

व्यवसाय बढ्दै थियो, २०१७ मा एभरग्रान्ड कम्पनीका मालिक एशियाकै धनी व्यक्ति घोषित भए। त्यो समयमा उनको कुल सम्पत्ति ४२ बिलियन डलर रहेको बताइन्छ। जुन आज घटेर ७ दशमलव ३ बिलियन अमेरिकी डलर छ।

चीनमा सम्पत्तिको अत्याधिक मूल्यवृद्धिको प्रमुख कारण शेयर बजारलाई मानिन्छ। शेयर बजारमा सूचीकृत एभरग्रान्ड कम्पनीले बनाएका घर बिक्री त भए तर मानिस बसेनन्। बिस्तारै ती स्थानलाई ‘घोस्ट सिटी’का नामले चिनिन थाल्यो।

‘घोस्ट सिटी भनिने ठाउँमा तपाईं विशाल महत्वकांक्षी शहरीकरणका परियोजना त देख्नुहुन्छ तर त्यहाँ बस्ने मान्छे देख्नुहुन्न’, भन्छन् अमेरिकास्थित ओहायो विश्वविद्यालयका भूगोल विषयका सहप्राध्यापक म्याक्स वुडवर्थ

हाल एभरग्रान्डका कैयौँ परियोजना अवरुद्ध अवस्थामा रहेको बताइन्छ।

व्यवसाय फस्टाउँदै जाँदा रियल स्टेट व्यवसायी दुःखी हुने सवालै थिएन। समय यस्तो पनि आएको बताइन्छ कि भवन नबन्दै फ्ल्याट बिक्री भइसक्थे। एउटा भवन बनिनसक्दै व्यवसायीहरू अर्को बनाउने प्रक्रियामा जुट्थे।

एभरग्रान्डले १९९७ मा क्वाङचौमा ‘अष्ट्रेलियन भिल्लास’ नामको सुविधा सम्पन्न अपार्टमेन्ट बनायो जसमा २ सय ९२ भवन थियो। त्यो अपार्टमेन्टमा जिम, स्पा, स्विमिङ पुल, निजी विद्यालय, रेष्टुराँ, सिनेमाघरजस्ता सबै आवश्यक चिज थियो। २५ वर्षअघि त्यो भिल्लासको एउटा अपार्टमेन्टको मूल्य २१ हजार अमेरिकन डलर रहेको बताइन्छ। त्यो समयमा चिनियाँहरूको प्रतिव्यक्ति आय ८ सय डलरको आसपास थियो।

परियोजना पूरा हुन सकेन। पूरा नभएको परियोनामा पहिला तोकिएको सुविधा दिने कुरै थिएन। केही मानिस घाटा खाएरै भए पनि अन्य स्थानमा सर्न बाध्य हुँदा केही त्यही स्थानमा बस्न बाध्य भए। ग्यास, पानीको सुविधा केही नहुँदा पनि त्यहाँ मानिस बसे। यस ठाउँका अलावा चीनमा यस्ता धेरै ठाउँ रहेको बताइन्छ जहाँ मानिस पूरा नभएको अपार्टमेन्टमा बस्न बाध्य भएका छन्।

एभरग्रान्डको ठूला आयोजनामध्यको नाम लिँदा ओसन फ्वार आइल्याण्डको नाम आउँछ। चीनको हैनान प्रान्तमा पानीमाथि ९ सय एकडमा एभरग्रान्ड यो अपार्टमेन्ट बनाउँन चाहन्थ्यो। उसको यो योजना पूरा हुन सकेको छैन। यसका अलावा चीनका २ सय १० शहरमा एभरग्रान्डका ८ सय १० आयोजना छन्, जसमध्ये कैयौँ अधुरा छन्।

सन् २०२० मा विश्व कोभिड महामारीले थलिएको अवस्थामा चीनको रियल स्टेट क्षेत्रमा १ दशमलव ४ ट्रिलियन अमेरिकी डलरको लगानी भएको थियो। चीनको कुल गार्हस्थ्य उत्पादनमा रियल स्टेटले २९ प्रतिशत स्थान ओगट्ने बताइन्छ।

एभरग्रान्ड कम्पनीलाई ३ सय अर्ब डलरको ऋण रहेको समाचारहरूमा उल्लेख गरिएको छ। तुलनात्मक हिसाबमा हेर्दा यो हङकङको कुल गार्हस्थ्य उत्पादकभन्दा बढी छ। कम्पनीले २३ सप्टेम्बरसम्ममा त्यसमध्ये केही रकम चुक्ता गर्नुपर्ने थियो, कम्पनीले ऋण तिर्न आफूसँग पैसा नभएको जवाफ दियो।

कम्पनीसँग कर्मचारीलाई तलब दिनसक्नेसम्म अवस्था छैन। अर्कोतर्फ एभरग्रान्ड कम्पनीको रियट स्टेटमा लगानी गर्ने व्यक्तिहरू पनि फसेका छन्। यो वर्षको अन्त्यसम्म कम्पनीले ऋणबाट ६ सय ६९ मिलियन डलर ऋण चुक्ता गर्नुपर्ने हुन्छ। चीनका विभिन्न शरहमा रहेको कम्पनीको कार्यालयअघि प्रर्दशन भएको बताइन्छ।

एभरग्रान्ड कम्पनी धराशायी हुँदै गर्दा विश्वका ठूला–ठूला शेयर मार्केट अप्ठेरो अवस्थमा छन्।

कम्पनीलाई सरकारले बेलआउट गर्नुभन्दा अर्को विकल्प छैन। तर, सरकारले यो विषयमा हालसम्म कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन। एभरग्रान्ड कम्पनीले चीनमा पारेको असरलाई सन् २००८ को अमेरिकी आर्थिक मन्दीसँग तुलना गर्न थालिएको छ। अमेरिकाको एक बैंक लेमन ब्रदर्स टाँट पल्टिँदा विश्वले आर्थिकमन्दीको सामना गर्नुपरेको थियो।

पछिल्लो समय चीनबाट आइरहेको यस्तै गुञ्जनले मानिसलाई चिन्तित बनाएको छ। यस्तो त चीनका विषयमा पश्चिमा सञ्चारमाध्यम अलिक पुर्वाग्राही भएको आरोप पनि लाग्ने नगरेको पनि होइन। तर समाचारमा आएका सबै सूचनालाई हलुका रूपमा लिन सकिँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved