अमेरिकी राष्ट्रपति बाइडेनको निष्कर्ष : नयाँ शीत युद्धको सम्भावना छैन

संयुक्त राष्ट्रसंघको महासभालाई गर्ने आफ्नो पहिलो सम्बोधनमा राष्ट्रपति बाइडेनले आफ्ना साझेदार देशसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जायर गर्नेछन्।

नेपालभ्युज

अमेरिकी राष्ट्रपति बाइडेनको निष्कर्ष : नयाँ शीत युद्धको सम्भावना छैन

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले नयाँ शीत युद्धको पक्षमा नरहन निष्कर्ष निकालेका छन्। राष्ट्रसंघको महासभामा सम्बोधनको तयारीका क्रममा बाइडेनले यस्तो निष्कर्ष निकालेका हुन्। उनाले मंगलबार संयुक्त राष्ट्रसंघको ७६ औँ महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। सोही सम्बोधनका क्रममा बाइडेनले आफू शीत युद्धको पक्षमा नरहेको उद्घोष गर्नेछन्।

राष्ट्रपति बाइडेनले आफ्नो सम्बोधनमा अमेरिका शीत युद्धको पक्षमा नरहेको बताउने तयारी गरेको ह्वाइट हाउसका अधिकारीलाई उधृत गर्दै अमेरिकी समाचार माध्यममा खबर छापिएको छ। चीन र रुसका साथमा बढ्दो तनावबीच बाइडेनले राष्ट्रसंघको वार्षिक शिखर सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै कूटनीति र ‘कडा’ मा जोड दिने भएका छन्।

‘‘राष्ट्रपति बाइडेनले आफ्नो सम्बोधनका क्रममा नयाँ शीत युद्धतर्फ धकेल्दै विश्वलाई दुई भागमा विभाजित गर्ने कुरामा आफूलाई विश्वास नभएको प्रस्ष्टाउँदै स्वच्छ प्रतिपस्र्धामा जोड दिनुहुनेछ’’, राष्ट्रपति बाइडेनले गर्ने सम्बोधनका विषयमा जानकारी दिँदै एक अमेरिकी अधिकारीले भनेका छन्।

‘‘त्यस क्रममा राष्ट्रपति बाइडेनले अफगानिस्तान युद्धको समाप्तिसँगै अमेरिकाले युद्धको अध्याय अन्त्य गरेको सन्देश आफ्ना देशबासीलाई दिनेछन्। अबको अमेरिकी उद्देश्य व्यक्तिगत विकास, उद्देश्यमूलक कार्य र प्रभावकारी अमेरिकी कूटनीतिलाई बढावा दिने हुनेछ’’, राष्ट्रपति बाइडेनले गर्ने सम्बोधनको जानकारी दिँदै अधिकारीले भने।

संयुक्त राष्ट्रसंघको महासभालाई गर्ने आफ्नो पहिलो सम्बोधनमा राष्ट्रपति बाइडेनले आफ्ना साझेदार देशसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जायर गर्नेछन्। ‘‘सैन्य शक्तिले मात्रै समाधान गर्न नसकिने समस्या सुल्झाउन सझेदार देशसँगको सहकार्यमा जोड दिइनेछ’’, अमेरिकी अधिकारीले भनेका छन्।

अमेरिकाले विश्वलाई नै कोभिड-१९ को महामारीबाट बाहिर निकाल्न सबै देशलाई हातेमालोका लागि आग्रह गर्ने बताइएको छ। यसैबीच ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपति बाइडेनले फ्रान्सका राष्ट्रपति इम्यान्युअल म्याक्रोनसँग टेलिफोन वार्ताका लागि पर्खिएको बताएका छन्।

सेप्टेम्बर १५ मा अष्ट्रेलियासँग अमेरिका र बेलायतले ‘अकस’ सम्झौता गरेसँगै अमेरिका फ्रान्स सम्बन्धमा चिसो पसेको छ। उक्त सम्झौताले सन् २०१६ मा अष्ट्रेलिया र फ्रान्सबीच भएको सम्झौतालाई प्रभावित पार्दा दुई देशबीचको सम्बन्धमा दरार आएको बताइन्छ। सम्झौताअन्र्तगत अमेरिका र बेलायतले अष्ट्रेलियालाई परमाणु उर्जाबाट सञ्चालन हुने पनडुब्बी जहाज निर्माणमा सहयोग गर्ने उल्लेख छ। यसअघि फ्रान्सले अष्ट्रेलियालाई डिजेलबाट चल्ने पनडुब्बी जहाज बेच्ने सम्झौता भएको थियो।

‘‘फ्रान्सका राष्ट्रपति म्याक्रोनसँग आगामी समस्या सुल्झाउने विषयमा कुराकानी गर्न आग्रह गरेका छन्’’, बाइडेनको भनाइ उधृत गर्दै ती अमेरिकी अधिकारीले भने, ‘दुई देशबीचको पुरानो मित्रतालाई सुधार गर्दैै हालको वैश्विक समस्या समाधानको दिशामा कसरी अघि बढ्ने भन्ने विषयमा राष्ट्रपति बाइडेन छलफल गर्न चाहन्छन्।’’

त्रिदेशीय सम्झौता लगत्तै फ्रान्सका विदेशमन्त्रीले एक अन्र्तवार्ताका क्रममा अमेरिकाले ‘पछाडिबाट छुरा धस्यो’ भन्दै अकस सम्झौताप्रति असन्तुष्टि जनाएका थिए। यस विषयमा अमेरिकी अधिकारी भन्छन्, ‘‘पक्कै पनि बाइडेन र म्याक्रोनबीच एकअर्काप्रति निकै सम्मान रहेकोमा मलाई विश्वास छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved