कांग्रेसको स्थानीय तह र क्षेत्रीय अधिवेशन सर्‍यो

नेपालभ्युज

कांग्रेसको स्थानीय तह र क्षेत्रीय अधिवेशन सर्‍यो

काठमाडौं। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले स्थानीय र क्षेत्रीय अधिवेशनहरूको कार्यतालिकामा हेरफेर गरेको छ।

बैठकले दशैंसम्म स्थानीय तहको अधिवेशन गर्ने र दशैंपछि मात्रै क्षेत्रीय अधिवेशनहरू गर्ने निर्णय गरेको छ। घोषित ५ असोजमा पनि १३ जिल्लाका वडा अधिवेशनहरू हुन नसकेपछि कांग्रेस अधिवेशन कार्यतालिका प्रभावित भएको हो। बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबीच यस्तो सहमति बनेको हो।

अब बाँकी १३ जिल्लाको वडाधिवेशन ९ गतेसम्म गर्ने र त्यसपछि स्थानीय तहहरूको अधिवेशन दशैंअघि गर्ने गरी नयाँ कार्यतालिका बन्नेछ। बैठकपश्चात् सहमहामन्त्री प्रकाशशरण महताले मंसीरमा हुने महाधिवेशनको मितिमा परिर्वतन नहुनेगरी तलको अधिवेशनहरूमा सामान्य हेरफेर गर्ने निर्णय भएको बताए।

पार्टीको महाधिवेशन कार्यतालिकाका साथै सरकार विस्तारबारे पनि आजको बैठकमा छलफल भएको छ। बुधबार मात्रै सभापति तथा प्रधानमन्त्री देउवाले आफूपक्षीय नेता नारायण खडकालाई परराष्ट्रमन्त्री बनाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उक्त खेमा असन्तुष्ट बनेका छन्। उनीहरूले आजै छुट्टै छलफलसमेत गरेका थिए।

पदाधिकारी बैठकमा पौडेल पक्षले मुख्यगरी दुुई ओटा कुरा उठाएका छन्। पहिलो, पार्टीको जारी अधिवेशन प्रक्रियामा अब बाँकी १३ जिल्लाको अधिवेशन सम्पन्न गरेर मात्रै गाउँ नगर तहको अधिवेशन गर्नुपर्ने र दोस्रो, आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबारे पार्टीभित्र कुनै सरसल्लाह नभएको भन्दै गुनासो राख्ने।

कांग्रेसले ५ असोजमा घोषणा गरे पनि १३ ओटा जिल्लामा वडा तहको अधिवेशन हुन सकेको छैन। सभापतिइतर पक्षले गाउँ र नगर तहमा सबै ठाउँमा एकसाथ अधिवेशन हुनुपर्ने अडान सारेको छ।

गत ५ गते हुन नसकेको अधिवेशनवारेमा सभापति तथा प्रधानमन्त्री देउवाले मंगलबार मात्रै पार्टीको निर्वाचन र कानुन समितिसँग कुरा गरेका थिए। बुधबार पदाधिकारी बैठकमा त्यसबारे छलफल भए पनि कुनै ठोस निर्णय भने भएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved