पौडेल समूहको निष्कर्ष : देउवाले सरकार विस्तारमा एकलौटी गरे

नेपालभ्युज

काठमाडौं। पदाधिकारी बैठक बस्नुअघि नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले छुट्टै छलफल गरेको छ।

महामन्त्री शशांक कोइराला निवासमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारमा एकलौटी गर्न थालेकाले आफ्नो पक्षले रणनीति बनाउनुपर्ने छलफलमा सहभागी नेताहरूले बताएका छन्।

सभापति तथा प्रधानमन्त्री देउवाले अहिलेसम्म मन्त्रिपरिषद विस्तार क्रममा आफूहरूसँग समान्य छलफल पनि नगरेका बैठकमा सहभागी नेता अर्जुन नरिसंह केसीले बताए।

बैठकमा हालसम्म अधिवेशन भएका ६३ जिल्लाको समीक्षा गर्नुका साथै बाँकी १३ जिल्लाका वडा अधिवेशन सकेर मात्र अन्य तहका अधिवेशनहरू एकसाथ गर्नुपर्ने नेताहरूले निष्कर्ष निकालेछन्।

व्यक्तिभन्दा पनि पद्धति बसाउनुपर्नेमा आफूहरूको जोड दिएको नेता केसीले जानकारी दिए।

बुधबार मात्रै परराष्ट्रमन्त्रीमा देउवाले आफूनिकट रहेका नेता नारायण खड्कालाई नियुक्त गरेका छन्। मंगलबार साँझ बसेको सत्ता गठबन्धनको बैठकबाट खड्का मन्त्री बन्ने भएको निर्णय बाहिरिएपछि पौडेल पक्षले असन्तुष्टि जनाएको थियो।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यलयमा बसिरहेको पदाधिकारी बैठकपूर्व वरिष्ठ नेता पौडेल, महामन्त्री कोइरालासहित नेताहरू प्रकाशमान सिंह, शेखर कोइराला, रामशरण महत, अर्जुननरसिंह केसीलगायत नेताले बैठक गरेर यसबारे पदाधिकारी बैठकमा कुरा उठाउने र सभापतिसँग छुट्टै यसबारे छलफल गर्ने निष्कर्ष निकालेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved