विश्व गैंडा दिवस

बढ्दो संख्या, संरक्षणमा चुनौती

अवैध चोरी शिकारले संरक्षणकर्मीलाई दुर्लभ जन्तु जोगाउन सहज छैन। यही आर्थिक वर्षमा चितवनमा सात वटा गैंडा मृत फेला परेका छन्।

बढ्दो संख्या, संरक्षणमा चुनौती
फाइल फोटो

काठमाडौं। हालसम्मकाे अभिलेखअनुसार विश्वमा विभिन्न पाँच प्रजातीका गैंडा पाइएका छन्। एकसिंगे गैंडा भने नेपाल र भारतका केही प्राकृतिक बासस्थानमा मात्रै भेटिन्छ।

नेपालमा पाँच वर्षमा गैंडाको संख्या १६ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा सात सय ५२ वटा गैंडा छन्। यसअघि सन् २०१५ को गणनामा ६ सय ४५ फेला परेका थिए।

गत चैत अन्तिम साताको राष्ट्रिय गणना अनुसार चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका भेगमा सबैभन्दा धेरै ६ सय ९४ वटा गैंडा भेटिएका थिए। जसमध्ये ९५ वटा गैंडा अर्धवयस्क छन्।

त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ३८, शुक्लाफाँटामा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीनवटा गैंडाकाे अभिलेख छ।

संरक्षणमा चुनौती

एकसिंगे गैंडाका लागि चितवन राष्ट्रिय निकुञ्ज नेपालकै ठूलो बासस्थान हो। बाघ र गैंडा जस्ता दुर्लभ जन्तु संरक्षणमा नेपालले विश्वलाई सकारात्मक सन्देश दिन थालेको चर्चा हुन थालेको छ।

तर अवैध चोरी शिकारले संरक्षणकर्मीलाई दुर्लभ जन्तु जोगाउन सहज छैन। यही आर्थिक वर्षमा चितवनमा सात वटा गैंडा मृत फेला परेका छन्।

चितवन निकुञ्ज प्रमुख अणनाथ बराल भन्छन्, “चोरी शिकारका घटना रोकथाम भइरहेका बेला प्राकृतिक कारणले गैंडा मर्न थालेका छन्, संख्या सुधार भइरहेका बेला बासस्थान सुधार गर्नुपर्ने देखिएको छ।” निकुञ्ज आसपासका भेगमा मानव वन्यजन्तु द्वन्दका घटना बढिरहँदा सुरक्षित बासस्थानको खाँचो रहेको उनले बताए।

बरालले भनेझैं अवैध शिकारका घटना शून्यमा भने झर्न सकेको छैन। गत आर्थिक वर्षमा चितवनमा चार र शुक्लाफाँटामा एक गरी पाँच गैंडा अवैध शिकारमा क्रममा मारिएकाे पुष्टि भएकाे थियाे। गत वर्ष गैंडाको खागसहित चितवन निकुञ्जले २४ जनालाई पक्राउ गरेको थियो।

हरेक वर्ष जीवजन्तुको अवैध चाेरी निकाशी बढिरहेकाले दुर्लभ जन्तुको संख्यामा सुधार भएकाेमा दंग पर्ने अवस्था नरहेको गैंडा विज्ञ डा. नरेश सुवेदी बताउँछन्।

जीवजन्तुको अवैध शिकार न्यूनीकरणका लागि सेना, सुरक्षाकर्मी र संरक्षणकर्मी दिनरात खटिरहेका उल्लेख गर्दै उनले नेपालभ्यूजसँग भने, “प्रमुख चुनौती भनेको अवैध शिकार नै हो, जुनसुकै बेला पनि अवैध शिकारका घटना बढ्न सक्छन्।”

चितवनमा सन् २००८ देखि २०१५ सम्म गैंडाको वृद्धिदर पाँच प्रतिशत रहेकोमा पछिल्लो गणनामा संख्या वृद्धि तीन प्रतिशत हाराहारीमा मात्रै रहेको सुवेदीले बताए। मिचाह वनस्पतिले खुम्च्याइरहेको वासस्थान र घाँसे मैदान सुधार गर्दै पानी पोखरी र पर्याप्त आहालको व्यवस्थापन जरुरी रहेको उनको भनाइ छ।

संख्या बढिरहँदा एक आपसमा जुधेर घाइते हुने र मर्ने क्रम बढ्ने भएकाले एउटै निकुञ्ज भित्र पनि गैंडाको बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको विज्ञ औल्याउँछन्।

चितवन निकुञ्जमा सातदेखि आठ सय गैंडा व्यवस्थापन गर्न सकिने उनीहरुको अनुमान छ।

चितवन निकुञ्जको पश्चिमतर्फ संख्या बढिरहेका बेला पूर्वी सेक्टरमा गैंडाको बासस्थान सुधार गर्नुपर्ने सुवेदीसहितका विज्ञ बताउँछन्। संख्या अनुसार बासस्थान व्यवस्थापन गरिएको खण्डमा चितवन र पर्सा निकुञ्जले आठदेखि नौ सय गैंडा थेग्न सक्ने सुवेदीको ठहर छ।

बर्दियामा एक सय, शुक्लाफाँटामा ५० र कोशीटप्पुमा ३० देखि ५० वटा गैंडालाई व्यवस्थापन गर्न सकिने विज्ञहरुको सुझाव छ। बर्दियामा यो वर्ष प्राकृतिक र मानवीय कारणले गैंडा मरेका छैनन्। “यहाँ गैंडालाई त्यस्तो ठूलो चुनौती देखिएको छैन, यो वर्ष जिरो पोजिङ हो, नेचुरल डेथ पनि छैन”, बर्दिया निकुञ्जका प्रमुख विष्णुकुमार श्रेष्ठले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved