कांग्रेस महाधिवेशन

२० जिल्लाको वडा अधिवेशन पुनः प्रभावित

१३ जिल्लामा अधिवेशन नहुने पक्का

२० जिल्लाको वडा अधिवेशन पुनः प्रभावित

काठमाडाैं। बुधबारका लागि तय भएकाे काँग्रेसकाे २० जिल्लाकाे वडा अधिवेशन फेरि प्रभावित भएकाे छ।

क्रियाशिल सदस्यताको विवादका कारण यसअघि पनि पूर्वनिर्धारित कार्यतालिकाअनुसार २० जिल्लाकाे वडा अधिवेशन हुन नसकेपछि काँग्रेसको निर्वाचन समितिले असोज ५ मा गर्ने गरि नयाँ कार्यतालिका ल्याएकाे थियाे। तर शीर्ष तहका नेताहरू बीचको विवादका कारण भोलिको कार्यतालिका पनि पुनः प्रभावित भएकाे हाे।

यद्यपि,  शीर्ष तहमा क्रियाशिल सदस्यता सम्बन्धमा आइतबार अबेर राति सहमति भएकाे बताइएकाे थियाे। तथापि, साेमबार अबेरसम्म पनि उक्त विज्ञप्ति सार्वजनिक हुन सकेकाे छैन।

विवाद रहेको २० जिल्लामध्ये ७ जिल्लाको विवाद भने सुल्झिएर क्रियाशिल सदस्यको सूचि सार्वजनिक भइसकेको छ। निर्वाचन समितिले ७ जिल्लामा मंगलबार नै अधिवेशन गर्ने वा केही दिनपछि २० ओटै जिल्लामा एकैपटक गर्ने भन्नेबारे औपचारिक रूपमा बाेलेकाे छैन। तर काठमाडाैंसहित केही जिल्लाले मंगलबार नै अधिवेशन गर्नेगरी सार्वजनिक घाेषणा गरेका छन्।

काठमाडौ, मोरङ, काभ्रेपलाञ्चाेक, सिन्धुपाल्चाेक, कपिलबस्तु, बर्दीया र बाजुरामा निर्वाचन समितिले चाहेमा मंगलवार नै वडा अधिवेशन हुने सम्भावना छ। यसबाहेक प्रदेश दुुईका आठ जिल्लासहित बाँके, रसुवा, डोल्पा, सुर्खेत र कैलालीमा मंगलबार अधिवेशन नहुने निश्चत भैसकेकाे छ।

आइतवार राती क्रियाशिल सदस्यता विवाद सम्बन्धमा नेताहरू कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकले विज्ञप्ति नै जारी गरेर क्रियाशिल सदस्यता सम्बन्धमा रहेको विवाद टुंग्याएको जनाएका थिए। तर सोमबार उक्त जिल्लाहरूको विवरण सार्वजनिक नभएपछि सिटौला,रिजाल र लेखकमाथि नै शंका उब्जिएकाे छ। उनीहरूले ९ बूँदे विज्ञप्ती सार्वजनिक गरी धनुषा र कैलालीको विवाद पूर्ण रूपमा सुल्झिएकाे दाबी गरेका थिए। अन्यको सन्दर्भमा सैद्धान्तिक रूपमा सहमति भएको उनीहरूले बताएका थिए।

काँग्रेसले बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन असोज ५, नगर–गाउँ अधिवेशन असोज ९, प्रदेशसभा क्षेत्रिय अधिवेशन असोज १२, प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन गर्ने निर्णय गरेकाे थियाे। यसैगरी, एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ र एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाहरुको अधिवेशन असोज १८ मा गर्ने कार्यतालिका सार्वजनिक गरेका छन्।

त्यसैगरी, प्रदेश अधिवेशन कार्तिक १०–१२ गते र केन्द्रिय महाधिवेशन मंसीर ९–१३ गते हुने काग्रेसको कार्यतालिका छ। वडा तहको अधिवेशन पुनः प्रभावित हुने देखिएपछि काँग्रेसको निर्वाचन समिति र शीर्ष नेताहरू सोमवार दिनभर आन्तरिक छलफलमा देखिएका छन्। उनीहरु अरु कार्यतालिका प्रभावित नहुने गरी वडा अधिवेशनहरु सम्पन्न गर्नेगरि छलफल चलिरहेको र त्यसको औपचारिक जानकारी मंगलवार मात्र काँग्रेसको निर्वाचन समितिले दिने जनाएको छ।

निर्वाचन समिति सदस्य तेज बहादुर रावलले काँग्रेसले कानुन समितिले दिने निर्णयको आधारमा आफूहरूले बाँकी १३ जिल्लाको वडा अधिवेशन बारेमा निर्णय लिने बताए। निर्वाचन समितिले कानुन समितिको सिफारिसमा काम गर्ने गरेको बताउँदै रावलले कानून समिति त्यसबारेमा छलफल गरिरहेको जनाए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved