हरायो शंकर पोखरेलविरुद्ध सांसद बिमला वलीको मुद्दा !

रूपन्देही प्रहरीले भन्छ, घटना शुरू भएको जिल्ला दाङ पठाएका छौँ। तर दाङ प्रहरीले त्यस्तो कुनै मुद्दा आइनपुगेको बताउँछ।

हरायो शंकर पोखरेलविरुद्ध सांसद बिमला वलीको मुद्दा !

बुटवल। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेल लगायत अन्य चार जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धक सम्बन्धी मुद्दा ‘गायब’ भएको छ।

लुम्बिनी प्रदेश सांसद बिमलाकुमारी खत्री वलीले गत सोमबार पोखरेलसहित एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मुलुकी अपराध संहिता अनुसार घटनाको शुरूवात भएको जिल्लामा मुद्दा दर्ता गर्नुपर्ने सुझाउँदै जाहेरी दाङ पठाएको बताएको छ। तर जिल्ला प्रहरी कार्यालय दाङले बुटवलबाट मुद्दा नै नआएको बताएको छ। यी दुई जिल्लाका प्रहरी प्रमुखले मुद्दाबारे परस्पर विरोधी जानकारी दिएका छन्।

रुपन्देहीका प्रहरी उपरिक्षक मनोज केसीले उजुरी हेर्दा घटनाको शुरूआत दाङबाट भएको देखिएकाले मुलुकी फौजदारी संहिताअनुसार जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको दाबी गरे।

उनले भने, “इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी परेको थियो। अनुसन्धान अधिकृतले मुद्दा हेरेपछि घटनाको शुरूवात भएको जिल्ला दाङ देखिन आयो। अपराध संहिता अनुसार उजुरी दर्ता गर्नका लागि हामीले इमेलबाट दाङ पठाइसकेका छौं।”

जिल्ला प्रहरी कार्यालय दाङले भने मुद्दा अझै आइनसकेको दाबी गरेको छ। दाङका प्रहरी उपरिक्षक सुरेशप्रसाद काफ्लेका अनुसार पोखरेलविरुद्धको कुनै पनि मुद्दा कार्यालयमा आइपुगेको छैन।

“कार्यालयमा त्यस्तो खाले मुद्दा रुपन्देहीबाट आएकै छैन। त्यसैले मैले यसबारेमा थप भन्न सक्दिन,” उनले दोहोर्‍याए, “कतैबाट पनि त्यस्तो प्रकृतिको मुद्दा आएको छैन। रुपन्देहीले पठायो कि पठाएन भन्ने पनि थाहा छैन।”

सांसद वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका थिए। डीएसपी कुँवरले मुद्दा दाङ पुगिनसकेको बारे प्रश्न गर्दा आश्चर्य प्रकट गरे। उनले भने-“ए होर ! हामीले भोलिपल्टै दाङमा दर्ता गर्नका लागि पठाइसकेका हौं।”

जाहेरी दिन सांसद वलीसँगै इलाका प्रहरी कार्यालय बुटवल पुगेका माओवादी सचेतक तुलाराम घर्तीले घटनाबाट प्रहरी पन्छिन खोजेको आरोप लगाए।

“बुटवलले हामीले दिएको जाहेरी दाङ पठाउने भनेर दर्ता गरेको हो। दर्ता भएपछि खबर गर्छौं भनेका थिए। तर आजसम्म पनि खबर गरेका छैनन्,” उनले भने, “रुपन्देही प्रहरी पन्छिन खोज्यो।”

यता सांसद वली भने प्रहरीले मुद्दा अगाडी नबढाए आफैँ उपस्थित भएर पुन: मुद्दा दिने सोचमा रहेको बताइन्।

“प्रहरीले के गर्छ केही दिन हेरौं। मुद्दा अगाडि बढेन भने आफै उपस्थित भएर फेरि जाहेरी दिन्छु,” उनले भनिन्।

नेकपाबाट निर्वाचन जितेकी वलीले सर्वोच्चको फैसलाले एमाले र माओवादी ब्यूँतिएपछि माओवादी रोजेकी थिइन्। त्यसपश्चात गत १५ साउनदेखि ५ दिनसम्म मुख्यमन्त्री रहँदा शंकर पोखरेलले एमाले प्रमुख सचेतक ढकाल, पोखरेलको सचिवालयका गौतम र एमाले दाङका नेता रावतको सहयोगमा अपहरण गरी शरिर बन्धक बनाएको आरोप सांसद वलीको छ।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ले व्यवस्था गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved