बढ्दैछन् गिद्ध

नेपालमा सात प्रजातिका दुई हजार ३१२ वटा गिद्ध फेला परेका छन् ।

बढ्दैछन् गिद्ध

काठमाडौं । नेपालमा गिद्धको संख्या सन्तोषजनक पाइएको छ। एक साता लामो अनुगमनका क्रममा विभिन्न सात प्रजातिका गिद्ध फेला परेका छन्।

दुई हजार तीन सय १२ वटा गिद्ध अभिलेख गरिएको छ। सबैभन्दा बढी डंगर र हिमाली गिद्ध फेला परेका नेपाल पन्छी संरक्षण संघ (बीसीएन)ले जनाएको छ। तराईको रैथाने डंगरको बासस्थान नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, कैलाली, कञ्चनपुरमा छ।

पहाडी भेगका कास्की, पाल्पा, अर्घाखाँची लगायतका भेगमा पनि यसको उपस्थिति पाइएको छ। त्यसैगरी कर्णाली प्रदेशका हिमाली भेगका पहरामा बस्ने हाडफोर गिद्धको संख्या पनि सुधारउन्मुख पाइएको छ। अहिलेको संख्या देशव्यापी सूक्ष्म अध्ययनको नतिजा भने नभएको बीसीएनकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाले बताइन्।

उनका अनुसार डंगर गिद्ध एक हजार दुई सय ९३, हिमाली गिद्ध चार सय ८४, सेतो तीन सय ९२, सुन गिद्ध ६० र सानो खैरो ३३ वटा फेला परेका छन्। “अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको अवसरमा सचेतना कार्यक्रमसँगै अनुगमन गरिएको हो, अहिलेको संख्या देशभरको समग्र रिजल्ट भने होइन”, थापाले नेपालभ्यूजसँग भनिन्।

करिब ४० जिल्ला केन्द्रित साताव्यापी अनुगमनले गिद्धका प्रजाति र संख्या आकलन गर्न सघाउ पुर्‍याएको थापाको भनाइ छ। गत वर्षको अनुगमनमा एक हजार आठ सय १६ वटा गिद्ध देखिएका थिए भने त्यसअघि सन् २०१९मा एक हजार नौं सय पाँच वटा भेटिएका थिए।

गिद्धले वातावरण सन्तुलनमा खेल्ने भूमिका र बासस्थान जोगाउनुपर्ने कारण र पक्षबारे थाहा दिन अंग्रेजी महिनाको सेप्टेम्बरको पहिलो शनिबार नेपालसहित ३० भन्दा मुलुकमा यस्तो दिवस मनाउने गरिन्छ। दिवसको सन्दर्भ पारेर तीन वर्षयता बीसीएनको अगुवाईमा गिद्धका प्रजाति र संख्या यकिन गर्न थालिएको छ।

अनुगमनमा गणक र अनुसन्धाताले डंगार गिद्धका चार सय २० वटा गुँडको अवस्था नियालेका छन्। विश्वमा २३ र एसियामा गिद्धका ९ प्रजाति अभिलेख भएका छन्। एसियाली मुलुकमा देखिने ९ वटै प्रजातिको उपस्थिति नेपालमा पाइएको छ। नेपालमा डंगर, लामो ठूडे, सानो खैरो, सुन, सेतो, हिमाली, हाडफोर, खैरो र राज गिद्ध पहिचान भएका छन्।

डंगर, सानो खैरो, सुनगिद्ध, हिमाली, सेतो र हाडफोर नेपालका रैथाने हुन्। हिउँदयाममा जाडो छल्न मंगोलिया, रुसको साइवेरिया लगायतका भेगबाट आउने राजगिद्ध यसपटक छिट्टै देखिएको छ। कास्कीमा एउटा, जाजरकोट, उदयपुर र ताप्लेजुङमा दुई/दुई वटा राजगिद्ध फेला परेका छन्।

गिद्ध गणनामा खटिएका गणक

नेपालमा सबै प्रजातिका गिद्धको संख्या २० हजार हाराहारीमा रहेको अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन)को ‘रेड लिस्ट’मा सूचीमा सूचीकृत सानो खैरो गिद्धको संख्या नेपालमा ५० देखि ७५को हाराहारीमा रहेको विज्ञहरुको ठहर छ। यो प्रजातिको गिद्धको उपस्थिती कास्की, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर लगायतका भेगमा छ।

यसपटकको सतही अनुगमनमा सानो खैरोको संख्या ३३ वटा देखिएकाले अवस्था सन्तोषजनक मान्न सकिने पन्छी अनुसन्धाता कृष्णप्रसाद भुसालले बताए। “प्रारम्भिक नतिजाले नेपालका रैथाने गिद्धका प्रजाति र संख्या घटेका देखिदैनन्, पोहोर भन्दा अवस्था सुधारउन्मख देखिन्छ”, उनले भने, “समग्र अवस्था थाहा पाउन ५/६ वर्षको तथ्यांकलाई विश्लेषण गर्न आवश्यक हुन्छ।”

तस्वीर सौजन्य : नेपाल पन्छी संरक्षण संघ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved