विद्यालयले पायो आधुनिक भवन

नेपालभ्युज

विद्यालयले पायो आधुनिक भवन
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुरको लगनखेलस्थित नमुना मच्छिन्द्र विद्यालयको भवन उद्घाटन गरेका छन्। नवनिर्मित भवन जापान सरकारको १२ करोड रुपैयाँ भन्दा बढी लागतमा तयार भएको हो।

पाँच तले भवनमा २५ वटा कोठा छन्। विज्ञान र कम्प्युटरको आधुनिक प्रयोगशालासहित दृष्टिविहिन छात्र–छात्राका लागि दुई/दुई तलाका छुटाछुट्टै होस्टल बनाइएको छ। अत्याधुनिक भवन, प्रयोगशाला, शिक्षक-शिक्षिकाको मेहनतले विद्यालयको शैक्षिक गुणस्तर सुधार हुने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरे।

भूकम्पपछि नेपालका धेरै विद्यालय भवन पुनर्निर्माणमा सहयोग पु¥याएको जापान सरकारप्रति उनले आभार व्यक्त गरे। नमुना मच्छिन्द्र विद्यालयको भवन जापान सरकारको १२ करोड ३० लाख रुपैयाँ ऋण सहयोगमा बनेको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले भवनको पुन निर्माण गरेको हो।

२००८मा स्थापना भएको यो विद्यालयमा हाल एक हजार आठ सय विद्यार्थी छन्। यो संख्या विद्यालय र क्याम्पस दुवै तहका विद्यार्थीको हो। २०३७ यता विद्यालय आफैंले नमुना मच्छिन्द्र क्याम्पस सञ्चालन गरेको छ। विद्यालय र क्याम्पस एउटै परिसरमा सञ्चालन हुँदा कक्षा कोठाको अभाव रहेको विद्यालयका प्रधानाध्यापक राधाकृष्ण महतले बताए।

कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवाली, जापान सहयोग नियोग (जाइका)का प्रतिनिधि लगायत सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved