बुटवलबाट एमाले नेताको दाबी, “चुनावपछि ठूलो शक्ति भएर आउँछौं”

ओली, पौडेल, भूसाल र रायमाझी एउटै मञ्चमा

बुटवलबाट एमाले नेताको दाबी, “चुनावपछि ठूलो शक्ति भएर आउँछौं”
फाइल तस्वीर

बुटवल। नेकपा (एमाले)का शीर्ष नेताहरूले आगामी चुनावबाट सबैभन्दा ठूलो शक्तिको रूपमा आफ्नो पार्टी ठूलो शक्तिको रूपमा उदय हुने दाबी गरेका छन्।

बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भूसाल र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले एकै मञ्चबाट देशको समृद्धिका लागि चुनावपछि एमाले ठूलो शक्ति भएर आउने दाबी गरेका हुन्।

अध्यक्ष ओलीले अरू पार्टी असफल भइसकेकाले कम्युनिष्ट नेतृत्वबिना समृद्ध नेपालको सम्भव नरहेको बताए। उनले सार्वभौमसत्ता,  भौगोलिक अखण्डता, कुनै पनि देशसँग बराबरी हैसियत राख्ने जस्ता विषयमा कम्युनिष्टले मात्रै नेतृत्व गर्न सक्ने दाबी गरे। भने, “हामी देश र जनताको हितमा उभिने पार्टी हौं। स्वार्थको हितमा उभिने पार्टी होइनौं। हामी त्यस्ता बिराला होइनौं, जहाँ खान पाइन्छ त्यहाँ जाने पनि होइनौं।”

एमालेमा जस्तो आन्तरिक जनवाद अरू पार्टीमा नरहेको दाबी गर्दै ओलीले यसलाई टुक्रयाउन कसैले पनि नसक्ने जिकिर गरे। उनले ‘प्रतिक्रियावादीहरूले आफ्नो सरकार ढालेको’ आरोपसमेत लगाए।

एमालेबाट विभाजित भएर नयाँ पार्टी गठन गरेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालप्रति रोष पोख्न पनि ओलीले बाँकी राखेनन्। “प्रतिक्रियाबादीको सेवा गर्दै देउवा नेतृत्वको सरकार बनाउने माधव नेपाल कामरेड हुनै सक्दैनन्,” उनले आक्रोश पोखे।

त्यस्तै सरकारको टिप्पणी गर्दै उनले प्रतिस्थापन बजेट पास गर्न नसकेर सरकार आफैं गम्भीर संकटतिर धकेलिएको धारणा राखे।

एमाले विभाजन भएको होइन-पौडेल

भेलालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजन नभएको, बरू केही स्वार्थी तत्वहरू बाहिरिएको बताए। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता पौडेलले भने,”एमाले विभाजन गर्न अध्यादेश ल्याइएको छ। तर त्यसले एमाले विभाजन भएको छैन। पार्टीबाट केही स्वार्थी तत्त्वहरू बाहिरिएका मात्र हुन्।’

उनले पार्टीभित्र देखिएको अन्तर्विरोधलाई वैचारिक लडाइँ नभई स्वार्थको लडाइँमात्र रहेको दाबी गरे। उनले माधव नेपालको निजी स्वार्थकै कारणले पार्टी एकताविरुद्ध लागेको आरोप लगाए।

माधवकुमार नेपालले समीक्षा गर्नुपर्छ-भूसाल

भेलालाई सम्बोधन गर्दै उपमहासचिव घनश्याम भूसालले आगामी चुनावपछि पार्टीले आफ्नो वर्चश्व फर्काउने बताए। पार्टी विभाजन भए पनि ठूलो शक्तिका रूपमा अझै एमाले रहेको दाबी गर्दै उनले आगामी चुनावपछि पनि एमाले ठूलो शक्ति रहने जिकिर गरे।

भुसालले भने, “हामी पछारिएका छौं, घाइते भएका छौं। आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं तर अहिले पनि ठूलो शक्ति छौं। लोकतान्त्रिक अभ्यासमा कटिबद्ध भयौं भने २०७४ सालको वर्चश्व फर्काउँछौं, फर्काउँछौं, फर्काउँछौं।”

उनले पार्टी विभाजन गएर गएका माधव कुमार नेपालले पनि आत्मसमीक्षा गर्नुपर्ने बताए।

“यहीँ कुरा माधव कुमार नेपाललाई बताउन सकेनौं। उहाँ आफैले नबुझेको होइनजस्तो लाग्छ तर किन बुझ्नुभएन ?” भूसालले प्रश्न गरे।

एमाले फेरि सरकारमा आउन जरुरी छ-रायमाझी

एमालेका स्थायी कमिटी सदस्य नेता टोपबहादुर रायमाझीले एमाले फेरि शक्तिमा आउन जरुरी रहेको बताए। भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले आफूहरू फेरि एक पटक ‘टेस्ट’ हुन आवश्यक रहेको बताए।

“लोकतान्त्रिक चुनाबको माध्यमबाट असफल पार्टी र नेतालाई ध्वस्त बनाउनुपर्छ। हामीहरू पुन: सत्तामा आउन जरुरी छ। हामी पुनः टेस्ट हुन आवश्यक छ,” उनले भने।

उनले गठबन्धले सफल रूपमा चलिरहेको सरकारलाई असफल बनाउने चेष्टा गरेको आरोप लगाउँदै त्यसलाई असफल गराउनुपर्ने बताए।

संसद पुनर्स्थापना भएपछि पनि संसद्मा फेरि केपी ओलीकै बहुमत आउने देखेपछि ‘सीमा पारिदेखि मात्रै नभई समुद्रपारि देखि’ डिजाइन गरेर परमादेश जारी गरिएको आरोप लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved