सीता भण्डारी मृत्यु प्रकरण

एक हप्तादेखि उठाएनन् छोरीको शव, हत्या गरेको माइतीको आशंका

पोष्टमार्टम रिपोर्टमा आर्थिक चलखेल गरी आत्महत्या बनाइएको माइती पक्षले आरोप लगाएका छन्।

नेपालभ्युज

एक हप्तादेखि उठाएनन् छोरीको शव, हत्या गरेको माइतीको आशंका
छोरीको मृत्युपछि विक्षिप्त बनेका बाआमा

बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ कफी कम्पनीस्थित घरमा मृत फेला परेकी सीता भण्डारी पौडेलको शव ८ दिन बित्दा पनि उठाइएको छैन।

पोष्टमार्टम रिपोर्टका आधारमा सीताले आत्महत्या गरेकी प्रहरीले बताए पनि माइती पक्ष ले पनि यसलाई अस्वीकार गरिरहेको छ। सीताले आत्महत्या गरेको नभई उनको हत्या गरिएको दाबी गर्दै छानबिनपछि मात्रै शव उठाउने माइती पक्षले अडान लिएका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको पोष्टमार्टम रिपोर्टमा सीताको मृत्युको कारण झुण्डिएर भएको बताइएको थियो। सोही रिपोर्टलाई आधार मान्दै सीताले आत्महत्या गरेको प्रहरीले निष्कर्ष निकालेपछि मृतकका आफन्त आन्दोलित भएका हुन्।

मृत्यु शंकास्पद भएकाले सीताको हत्या गरिएको आरोप लगाउँदै सीताका बुवा हरिप्रसाद भण्डारीले प्रहरीमा दिएको किटानी जाहेरी प्रहरीले नलिएपछि पछिल्ला ६ दिनदेखि प्रशासनविरुद्ध आफन्तले प्रदर्शन गरेका छन्।

दबाबपछि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरी अनुसन्धानका लागि सीताका पति टीका पौड्याल र पौड्यालकी दिदी विष्णु पौड्याललाई नियन्त्रणमा लिएको बताएको छ।

बाबु हरिप्रसाद भण्डारीका अनुसार सीता र टीकाबीच २ वर्षअघि मागी विवाह भएको हो। विवाहपछि उनीहरू पाल्पा तानसेनमा दी दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए।

उनीहरू दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए। घरमा एक दिन बसेपछि सीता ७ भदौमा तिलोत्तमा-४ मा रहेको माइती गएकी थिइन्। हत्या हुनुभन्दा १ दिन अघि १९ भदौमा श्रीमान् टीकाले भतिजको जन्मदिन छ भनेर सीतालाई घर बोलाएका थिए।

“भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर गएकी थिइन्,” सीताका बुवा हरि प्रसाद भण्डारीले यसको पुष्टि गरे।

२० गते बिहान ५ बजेतिर टीकाले ससुरा हरिप्रसादलाई जरुरी काम छ तुरुन्त आफ्नो घर आउनू भनेर बोलाएका थिए। हरिप्रसाद छोरीको घर पुग्दा सीताको मृत्यु भइसकेको थियो। तर टीका घरमा थिएनन्। केही समयपछि उनी मदिरा सेवन गरेर आएको र उनले आफ्नी दिदीका कारण घरका अरू मान्छेको पनि ज्यान खतरामा रहेको बताएका हरिप्रसाद बताउँछन्।

सीताको घाँटीको पासो काटिएको अवस्थामा थियो। सीताको मृत्युको जानकारी परिवारका अरू सदस्यलाई नहुनु, प्रहरी नआउँदै पासो काटिनु, मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा भेटिनुले आत्महत्या नभई हत्या नै भएको माइती पक्षको दाबी छ। पोष्टमार्टम रिपोर्टमा आर्थिक चलखेल गरी आत्महत्या बनाइएको माइती पक्षले आरोप लगाएका छन्।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको र हत्याको पाटोबाट पनि अनुसन्धान हुने बताए। “अहिले मृतकको पति र पतिको दिदिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको छ। यसबाहेक अरु भन्न सकिने अवस्था छैन,”  कुँवरले बताए।

यता तिलोत्तमा नगरपालिकाले घटनालाई लिएर सबै पक्ष संयमित रहन आग्रह गरेको छ। एक सतादेखि आफन्तले घटनाको विषयलाई लिएर नगरपालिका घेराउ, वडा कार्यालयमा तालाबन्दी तथा राजमार्गमा चक्काजाम जस्ता विरोध कार्यक्रम आयोजना गरेपछि नगरपालिकाले स्थानीयस्तरमा क्रियाशील राजनीतिक दल र जनप्रतिनिधिको संयुक्त बैठक बसी घटनाको छानबिनमा सहयोग गर्ने निर्णय गर्दै संयमता अपनाउन आग्रह गरेको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved