माग पूरा नगरे जुनसुकै बेला सत्याग्रह शुरु गर्छु – डा. केसी

माफियाहरूको स्वार्थमा बारम्बार चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई दबाब दिएर आयोगको आकस्मिक बैठक बोलाउने प्रयास गरिएको डा केसीले आरोप पनि लगाएका छन्। 

नेपालभ्युज

माग पूरा नगरे जुनसुकै बेला सत्याग्रह शुरु गर्छु – डा. केसी

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले फेरि पनि अनशन बस्ने चेतावनी दिएका छन्।

सरकारले विगतमा बारम्बार आफूले राखेका मागहरूमा सम्झौता गरेर कार्यान्वयन गर्न नसकेको भन्दै कुनै पनि बेला सत्याग्रह शुरु गर्ने बताएका हुन्।

डा केसीले आज विज्ञप्ति जारी गर्दै बारम्बार सरकारले आफूसँग सम्झौता गरे पनि इमानदार कार्यान्वयन हुन नसकेको उल्लेख गरेका छन्।

पछिल्लो समय धरानस्थित बीपी प्रतिष्ठानमा चलेको आन्दोलनपछि आन्दोलनकारीसित भएको सम्झौता कार्यान्वयन नगरेका कारण अस्पतालको सेवा नै अवरुद्ध हुने गम्भीर अवस्था सिर्जना भएको छ।

साथै बीपी प्रतिष्ठानका हकमा भएका सम्झौता कार्यान्वयनलगायत आफूहरूसँगको भेटमा प्रधानमन्त्रीले समझदारी गरेको तीन साता बितिसक्दा पनि त्यसअनुसार कुनै काम नभएको विज्ञप्तिमा उल्लेख छ।

माफियाहरूको स्वार्थमा बारम्बार चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूलाई दबाब दिएर आयोगको आकस्मिक बैठक बोलाउने प्रयास गरिएको डा केसीले आरोप पनि लगाएका छन्।

“स्वार्थको द्वन्द्व हुने गरी नियुक्त भएका स्वास्थ्य राज्यमन्त्रीलाई अहिलेसम्म पदबाट हटाइएको छैन। यसबाट सरकार मेडिकल शिक्षा क्षेत्रका समस्या समाधान गर्नेभन्दा पनि झनै बल्झाउने दिशामा लगेको छ”, विज्ञप्तिमा लेखिएको छ।

डा केसीले पाँचबुदे माग राख्दै भदौ ३ गतेबाट २० औं अनशन बस्ने सरकारलाई अल्टिमेटम दिएका थिए तर अल्टिमेटम सकिन २ दिन बाँकी रहँदा नै प्रधानमन्त्री शेरबहादुर देउवाले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित भएको थियो।

पाँचबुँदे मागमा स्वास्थ्य राज्यमन्त्रीको बर्खास्तगी मागेका छन्। बीपी प्रतिष्ठान धरानमा मागहरू पूरा गर्नेबारे हालै भएको सम्झौता अक्षरशः कार्यान्वयन गर्दै चार शीर्ष पदाधिकारीलाई पदमुक्त गरिनुपर्ने चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउनेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने र २०८५ सालदेखि नेपालको मेडिकल शिक्षा गैरनाफामूलक हुने भनेर ऐनमा किटानी भएकाले त्यो नीति कार्यान्वयन सुनिश्चित गरिर्नुपर्ने मागहरू उनले तेर्स्याएका छन्।

पाँचबुँदे समझदारी तत्काल कार्यान्वयन गर्न तथा विभिन्न स्वार्थ समूहहरूको तर्फबाट चिकित्सा शिक्षा आयोगलाई नाजायज दबाब नदिनसमेत उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

“यो अवस्थामा अहिलेको सत्तामा रहेका पार्टी, तिनका नेता तथा नेताका परिवारका सदस्यहरूसित साँठगाँठ रहेका तथा आपराधिक पृष्ठभूमिका माफियाहरूले देशभरका निजी मेडिकल कलेजहरू किनिरहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “त्यस्तो किनबेचले राजनीतिकर्मीहरूले भ्रष्टाचार गरेर थुपारेको कालो धन माफियाहरूमार्फत मेडिकल कलेजमा लगानी भइरहेको भन्ने आशंकालाई गम्भीर बल पुर्‍याएको छ।”

नागरिकले लाखको कारोबार गर्दा स्रोत खोज्ने राज्य र बैंकिङ प्रणाली अर्बौं रुपैयाँको यस्तो शंकास्पद किनबेच भइरहँदा मौन बस्नुले थप शंका जन्माएको उनको ठहर छ।

साथै मेडिकल कलेज खरिद-बिक्रीका क्रममा भएका करार उल्लंघनलगायत अन्य खालका अनियमितता र त्यसका कारण राज्यलाई पर्न गएको क्षतिबारे पनि बारम्बार मिडियामा समाचारहरू आएका भन्दै सत्तारुढ दलका नेताहरू तथा तिनका परिवारका सदस्यले अर्बौंको कालो धन मेडिकल शिक्षामा खन्याइरहेका विज्ञप्तिमार्फत उनले आरोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved