मधुमेह र थाइराइड भएकाले पोष्ट कोभिडबाट कसरी बच्ने ?

कोरोना संक्रमण हुँदा ज्वरो आउनु, शरीर दुख्नु, टाउको दुख्न, रुघाखोकी, शरीर गल्ने, गन्ध हराउँदै जाने, धेरै थकान लाग्ने, सास र्फेन गाह्रो हुनेयस्ता लक्षण देखिन्छन्। केहीमा यस्ता लक्षण ४ हप्ताभन्दा बढी लम्बिँदै गएको अवस्थालाई नै पोष्ट कोभिड भनिन्छ।

मधुमेह र थाइराइड भएकाले पोष्ट कोभिडबाट कसरी बच्ने ?

काठमाडाैं। गएको १० वैशाखमा काठमाडौंस्थित मौतिदेवी बस्ने मीरालाई कोरोना संक्रमण पुष्टि भयो। उनीसँगै उनको परिवारका केही सदस्य पनि संक्रमित भए।

खोप लगाएका कारण मीरा कोरोना संक्रमित भए पनि खासै समस्या भएन। तर परिवारका अन्य सदस्यलाई भने अलि बढी नै च्यापेको उनी बताउँछिन्। भन्छिन्, “पहिलो लहरबाट बच्न सके पनि दोस्रो लहर शुरु भएको केही समयमै मसँगै, मम्मी र दाइ संक्रमित हुनुभयो, १५-२० दिनमै कोरोना पराजित गर्न सके पनि कोरोना निको भइसकेपछि भने विभिन्न समस्या देखिन थाल्यो।”

यसो त मीराको महिनावारी समयमा नहुने समस्या पहिल्यैबाट थियो। तर जब मीरा कोरोना संक्रमणमुक्त भइन्, उनी ३ महिनासम्म पनि महिनावारी भइनन्, कपाल अत्यधिक झर्ने, केही नगरे पनि धेरै थकाइ लाग्नेजस्ता समस्याले उनलाई गाँज्दै लग्यो। त्यति मात्र होइन, मीरासँगै उनका दाइलाई पनि निद्रा नलाग्ने, डर लाग्नेजस्ता समस्याले दिनदिनै अत्यायो।

दाइ र आफूमा मात्र नभएर आमामा पनि कपाल झर्ने समस्या बढेको उनी बताउँछिन्। भन्छिन्, “मम्मीको त अहिले कपाल नै बाँकी छैन, कोरोनापछि मम्मीको कपाल यति झर्‍यो कि अहिले त कपाल कोर्नै छोड्नुभयो।”

मीरा थप्छिन्, “महिनावारीको समय कुर्दाकुर्दै तीन महिना बित्यो, शरीरलाई त्यति सञ्चो पनि भएन। ओम अस्पताल गएँ। त्यहाँ जाँदा डाक्टरले थाइराइड भएको छ भन्नुभयो।”

शुरुआती अवस्थामै रहेका कारण कतै भाइरसले हो कि भनी आफूलाई एमआरआई गर्न पठाइएको उनी बताउँछिन्।

जुन डाक्टरले उनको उपचार गर्दै थिए, उनले नै कोरोना भाइरस भइसकेका व्यक्तिहरूमा मधुमेह, थाइराइड र एन्जाइटीजस्ता समस्या देखिएको र मधुमेहका पुराना बिरामीमा भने ह्वात्तै सुगर लेभल बढ्ने गरेको मीरालाई बताए।

मीराजस्तै उनका दाइमा पनि विभिन्न समस्या भएपछि अस्पताल जाँदा मधुमेह र एन्जाइटी भएको भन्दै डाक्टरले एक थान औषधि दिएर पठाएका मीरा सम्झिन्छिन्।

भन्छिन्, “मेरो दाइ एकदम स्वस्थ हुनुहुन्थ्यो, तर जब दाइलाई कोरोना भयो, त्यसपछि भने उहाँमा विभिन्न समस्या देखिन थाल्यो। दाइ रातभर नसुत्ने, धेरै थकाइ मान्ने, डराउनेजस्ता समस्या उहाँमा देखिन थालेपछि अस्पताल जानुभयो र डाक्टरले उहाँलाई कोरोना संक्रमणका कारण मधुमेह र एन्जाइटी भएको बताए।” तर दाइमा शुरुमा यस्ता कुनै पनि रोग नभएको उनी बताउँछिन्। तर एक महिना औषधि सेवनपछि भने दाइलाई पूर्ण निको भएको उनले बताइन्।

छातीरोग विशेष डा.नवीन कुमार मिश्रका अनुसार कोरोना संक्रमणमुक्त भइसकेकामा यस्ता खाले समस्या देखिन्छन्। मेडिकल भाषामा यसलाई “पोष्ट कोभिड” भनिन्छ। भन्छन्, “यसलाई हामी सहज रूपमा कोभिडपछिको लक्षण भनेर बुझ्न सक्छौं।”

कोरोना संक्रमण हुँदा ज्वरो आउनु, शरीर दुख्नु, टाउको दुख्न, रुघाखोकी, शरीर गल्ने, गन्ध हराउँदै जाने, धेरै थकान लाग्ने, सास र्फेन गाह्रो हुने यस्ता विभिन्न लक्षणहरू देखिन्छन्। यी लक्षण सामान्यतया तीन हप्तासम्म निको हुँदै जान्छ तर केहीमा यस्ता लक्षणहरू ४ हप्ताभन्दा बढी लम्बिँदै जानु नै पोष्ट कोभिड हो।

डा मिश्र थप्छन्, “कुनै कोरोना संक्रमित बिरामीमा कोरोनाका लक्षणहरू १२ हप्ताभन्दा बढी देखिए लङ कोभिड भनिन्छ। यो पनि पोष्ट कोभिडकै एक भाग हो।” तर केही व्यक्तिमा पाँचदेखि लिएर १२ महिनासम्म पनि लक्षणहरू देखिएका उनले बताए।

पोष्ट कोभिडका केही प्रमुख लक्षण

छिटो थकान लाग्नु,

शरीरमा शक्ति नै नहुनु

पोष्ट कोभिडका बिरामीमा गरिएको अध्ययनमा माथिका लक्षणहरू ४० देखि ८० प्रतिशतमा देखिएको डा.मिश्र बताउँछन्। “पोष्ट कोभिडको अर्को लक्षण भनेको सास र्फेन गाह्रो हुने हो। त्यो समस्या पनि ३० देखि ७० प्रतिशतमा देखिएको छ।”

तेस्रोमा भने रुघाखोकी लाग्नु हो।

गन्ध नआउनु

डिप्रेसन इन्जाइटिहरू जस्ता समस्या कोभिड भएका व्यक्तिमा ३० प्रतिशमा देखिने गरेको छ।

त्यसबाहेक पनि बिरामीमा मुटुको चाल छिट्टो छिट्टो धड्किने, चालमा कमी आउनु, सेता रक्तकोषिकामा कमी आउनु, हातखुट्टा दुख्ने, पाचन प्रक्रियामा समस्या र निद्रामा पनि समस्या हुनेजस्ता लक्षण चार हप्ताभन्दा बढी देखिए पनि पोष्ट कोभिड भन्न सकिने डा मिश्रा बताउँछन्।

त्यस्तै कोरोनामुक्त भइसकेपछि पनि धेरैमा मधुमेहको समस्या बढिरहेको हार्मोन तथा मधुमेह रोग विशेषज्ञ डा.ज्योति भट्टराई बताउँछिन्। भन्छिन्, “कोरोना संक्रमण फैलिसकेपछि धेरैमा मधुमेह देखिएको छ। कोभिड हुँदा इस्टेरोइड औषधि दिने गरिन्छ, त्यसले जीवन रक्षाका साथै मधुमेहको मात्रा बढाउँछ। तर कतिपय इस्टेरोइड औषधि नलिएकामा पनि तनावका कारण मधुमेह देखिने गरेको छ।”

कोरोनामुक्त भइसेकपछि मधुमेहजस्ता समस्या लिएर उनीकहाँ दैनिक २-३ जना आउने गरेका डा.भट्टराईले बताइन्। भनिन्, “कतिपयमा कोभिडकै कारण मधुमेह भएको हो भने केही समय औषधोपचार गरेपछि सन्चो हुन्छ।”

त्यसका लागि फलोअपमा भने आइरहनुपर्ने उनले सुझाइन्।

खानपानमा गुलियोपना, कार्बोहाइट्रेडभन्दा पनि बढी प्रोटिनयुक्त खानेकुरा खानुपर्नेमा उनले जोड दिइन्। दैनिक व्यायमहरू गर्नाले पनि मधुमेहलाई नियन्त्रणमा राख्न सकिने उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved