चौथाइवालेको चासो

स्वार्थ मिल्ने शक्तिको खोजीमा भाजपा

प्रधानमन्त्री देउवाको निम्तोमा नेपाल आइपुगेका भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवालेले सबैजसो दलका नेतालाई भेटेर आफूहरू सम्बन्ध सुधार्न तत्पर भएको सन्देश दिएका छन्। तर भ्रमणको उद्देश्य सम्बन्ध सुधार मात्र नभई राजनीतिक सन्देश प्रवाह पनि भएको विश्लेषकहरूको ठम्याइ छ।

स्वार्थ मिल्ने शक्तिको खोजीमा भाजपा

काठमाडौं । ६ भदौ जनैपूर्णिमाको साँझ एकाएक एउटा तस्वीर सामाजिक सञ्जालभरी छायो। त्यसले चर्चा मात्रै पाएन, अनेकन् शंका-उपशंका पनि उब्जायो।

यसै पनि भू-राजनीतिक प्रभावबारे बढ्दै छलफल हुने काठमाडौंको राजनीतिक वृत्तमा त्यो तस्वीर छलफलको विषय बन्नु स्वाभाविक नै थियो।

तस्वीर थियो नै त्यस्तै। तस्वीरमा प्रधानमन्त्री पत्नी आरजु राणाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई रक्षाबन्धन लगाउँदै गरेकी थिइन्।

त्यही दिन दिउँसो काठमाडौं आइपुगेका चौथाइवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। त्यहाँ उनले करीब दुई घण्टा समय बिताए।

भ्रमणको व्यवस्थापनमा खटिएका एक नेपाली सहयोगीका अनुसार त्यो भेटमा प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी दुवैले भारतसँगको सहकार्यबिना आफूहरू बढ्न नचाहेको सन्देश दिएका थिए।

त्यसो त चौथाइवालेको आगमन नै प्रधानमन्त्री देउवाको चाहनामा भएको थियो। प्रधानमन्त्रीको इच्छाअनुसार नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले लिखित निमन्त्रणा पठाएपछि चौथाइवाले काठमाडौं आइपुगेका थिए।

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री भएदेखि नै नेपाल-भारत सम्बन्धको मध्यस्थकर्ता बनेर देखापरेका चौथाइवालेलाई सम्बन्ध सुधार्नकै लागि प्रधानमन्त्री देउवाले बोलाएको बुझिएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारविरुद्ध संघर्षरत गठबन्धनका तर्फबाट पाँच जना पूर्वप्रधानमन्त्रीले निकालेको संयुक्त विज्ञप्तिबाट भारत रुष्ट रहेको अनुमान गरिएको छ।

२९ जेठमा पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले ‘नेपालको बारेमा नेपालीले नै निर्णय’ गर्नुपर्छ र नेपालको आन्तरिक राजनीतिमा बाह्यक शक्तिको प्रत्यक्ष वा परोक्ष हस्तक्षेव एवम् चलखेल हुन नपाओस्’ भन्दै विज्ञप्ति सार्वजनिक गरेका थिए।

२८ असारको सर्वोच्चको फैसलापछि २९ असारमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले ३ साउनमा विश्वासको मत नपाउँदासम्म ‘बधाई सन्देश’ नपठाएर भारत सरकारले असन्तुष्टि जनाएको बुझिएको थियो।

असन्तुष्ट भारतसँग सम्बन्ध सुधार्नकै लागि प्रधानमन्त्री देउवाले चौथाइवालेलाई निमन्त्रणा दिएका थिए। भेटमा प्रधानमन्त्री देउवाले ‘विगतमा जे–जस्तो घटना भए पनि सबै बिर्सेर आफू भारत सरकारसँगको सहकार्यमा अघि बढ्न खोजेको’ बताएको बालुवाटार स्रोतले जनाएको छ।

स्रोतका अनुसार, चौथाइवालेले पनि ‘प्रम देउवासहित नेपाली नेताहरू भारतीय नेताहरूको सम्पर्कमा रहेकाले कुनै गुनासो वा असन्तुष्ट भए व्यक्तिगत रूपमा जनाउन आग्रह गर्दै भाषणवाजी र वक्तव्यको तहमा नजान’ आग्रह गरेका थिए। उनले नेपालका नेताहरूको चाहनाअनुसार भारतको वर्तमान सरकार पनि सम्बन्ध बनाएरै अघि बढ्न खोजेको पनि देउवालाई प्रस्ट पारेका थिए।

प्रधानमन्त्री देउवासँगको भेटपछि ट्वीट गर्दै चौथाइवालेले त्यही त्यस्तै सन्देश सार्वजनिक गरे, “नेपालका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवासँगको भेट अत्यन्तै सौहार्दपूर्ण र उत्साहबर्द्धक भएको’ जनाउँदै।

कांग्रेस सहमहामन्त्री महतले चौथाइवालेको ट्वीटलाई पुष्टि गर्ने गरी नै प्रधानमन्त्रीसँग चौथाइवालेको भेट सकारात्मक रहेको जनाए। भेटमा सरकारतहमा मात्र नभई पार्टीगत तहमा पनि छलफल भएको महतले खुलाए।

“सरकारलाई भारतको सहयोग त रहने नै छ, तर हामीले पार्टी टु पार्टीको सम्बन्धबारे पनि खुलेर विस्तृतमा कुराकानी गर्‍यौं”, नेपालभ्यूजसँग महतले भने, “भारतमा भाजपा बलियो गरी उदाएको छ, हामी नेपाली पक्षले पनि उहाँहरूको कुरा बुझ्नुपर्छ।”

उनले नेपाली कांग्रेस र भाजपा दुवै तर्फबाट पार्टी प्रतिनिधीमण्डलहरू बनाएर दोहोरो भ्रमण गर्नेबारे छलफल भएको समेत बताए। भने, “नेपाली कांग्रेसको महाधिवेशन लगतै प्रतिनिधिमण्डल बनाएर पठाउने कुरा भएको छ।”

भेटको लर्को

प्रधानमन्त्री देउवाको तर्फबाट पठाइएको निम्तोमा आए पनि चौथाइवालेले आफूलाई बालुवाटार भेटमा सीमित राखेनन्। प्रधानमन्त्री देउवालाई भेटेको भोलिपल्टै ७ भदौमा उनले नेकपा (एमाले) का अध्यक्ष केपी ओली, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई भेटे।

८ भदौमा गृहमन्त्री बालकृष्ण खाँण, माआवादी नेता वर्षमान पुन, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले नेता विष्णु पौडेलसँग भेट गरे। ९ भदौमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, नेताहरू शेखर कोइराला र प्रकाशमान सिंह एवं एमाले नेता प्रदीप ज्ञवालीलाई भेटेका थिए।

त्यही दिन नयाँ दल दर्ता गराएका पूर्वप्रधानमन्त्री माधव नेपाललाई अबेर साँझ भेटेका चौथाइवाले भोलिपल्ट १० भदौको बिहानै दिल्ली गएका थिए।

चार दिने काठमाडौं बसाइँका क्रममा औपचारिक रूपमा १० जना नेतालाई भेटेका उनले अनौपचारिक रूपमा अन्य एक दर्जन बढी नेपाली नेतालाई पनि भेटेका थिए।

धर्मको पुल

नेपाल आएलगत्तै चौथाइवालेलाई रक्षाबन्धन बाँधेर प्रधानमन्त्री पत्नी राणाले समधर्मावलम्बीको सन्देश दिएकी थिइन्। त्यसको दुई दिनअघि मात्रै प्रधानमन्त्री देउवा र राणा बंगलामुखी मन्दिरको पूजा, अर्चनामा सहभागी भएका थिए।

संयोग कस्तो भने चौथाइवाले काठमाडौं आउनु तीन दिनअघि ३ भदौमा ललितपुरको एकान्तकुनामा पूर्वप्रधान सेनापति रुक्मांगत कटुवालको अगुवाइमा ‘हिन्दू राष्ट्र अभियान’ प्रारम्भ भएको थियो। त्यसको एक दिनअघि काठमाडौंको रिपोर्टस् क्लबमा भारतीय जनता पार्टीका नेता दिनेश उपाध्यायले ‘नेपालमा हिन्दूहरूको बाहुल्य रहेको भन्दै धर्म रक्षाका लागि आह्वान’ गरेका थिए।

गएको साउन १० गते भाजपाका नेता एवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकटस्थ तरुण मिश्रा काठमाडौं आएका थिए। उनले पनि प्रधानमन्त्री देउवालाई भेट गरेका थिए। सात दिन बसेर उनले पनि विभिन्न राजनीतिक दलका नेतासँग भेट गरेर साउन १७ गते फर्किएका थिए।

नेपाल-भारत सम्बन्धलाई नजिकबाट नियालिरहेका विश्लेषक श्रीकृष्णअनिरुद्ध गौतम भारतमा भाजपा सत्तामा आएदेखि नै नेपालमा आफूअनुकूल शक्ति खोजिरहेको बताउँछन्। भाजपा विदेश विभाग प्रमुख नेपालका नेताहरूसँग लगातार सम्पर्कमा भए पनि उनीहरू असन्तुष्ट भएका गाैतम बताउँछन्।

“नेपालमा भारतीय सतापक्षले आफ्नो अनुकूलको राजनीति शक्ति नभेटाउँदा नै नेपाल र भारतको बीचमा समस्या देखिएको हो”, गौतमको विश्लेषण छ।

भारतको पूर्वसत्ताधारी दल र वर्तमान सत्ताधारीको विचारधारा नै फरक भएकाले पनि समस्या सिर्जना भएको उनको ठम्याइ छ।

“भाजपाले नेपालमा कसरी काम गर्न चाहन्छ भन्ने नेपाली दलहरूले बुझ्न नचाहेका कारण समस्या सिर्जना भएको हो”, गौतम भन्छन्, “भाजपा सत्तामा आएदेखि नेपालमा केही पनि विषयमा सफल भएको छैन। उसले नचाहँदा, नचाहँदै संविधान जारी भयो, केपी ओली प्रधानमन्त्री भए, उनले चाहेका सुशील कोइराला प्रधानमन्त्री बन्न सकेनन्।”

त्यसैकारण भारत सबै दलसँग संवादको प्रयासमा लागेको गौतमको विश्लेषण छ। उनको बुझाइमा अहिले आएर भारत सबै दलसँग सम्बन्ध बनाउनुपर्ने निष्कर्षमा पुगेको छ।

“यो पटक चौथाइवाले सत्तारुढ कांग्रेसको निमन्त्रणामा आए पनि सबै दलका नेतासँग समानरूपले भेटे”, गाैतम भन्छन्, “यसले उनीहरू अब सबैको सम्पर्कमा रहन खोजेको देखिन्छ।”

समाचारमा आएका भेटहरू

६ भदौ : प्रधानमन्त्री शेरबहादुर देउवा
७ भदौ : एमाले अध्यक्ष केपी ओली, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड
८ भदौ : गृहमन्त्री बालकृष्ण खांण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रका नेता वर्षमान पुन, एमाले नेता विष्णु पौडेल
९ भदौ : कांग्रेस उपसभापति विमलेन्द्र निधि, अर्थमन्त्री जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल।

समाचारमा नआएका भेटहरू

कांग्रेस महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, नेताहरू शेखर कोइराला, प्रकाशमान सिंह, एमाले नेता प्रदीप ज्ञवाली

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved