सञ्चालनमा आयो डिजिटल माटो परीक्षण प्रयोगशाला

नेपालभ्युज

सञ्चालनमा आयो डिजिटल माटो परीक्षण प्रयोगशाला

ललितपुर। बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित छवेली कृषि विकास शाखा कार्यालयले डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको छ। जिल्लाको विकट उक्त क्षेत्रमा माटोअनुसार कृषि बाली लगाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो।

खेतीयोग्य जमिनको गुणस्तरअनुसार कस्तो खेती फस्टाउँछ भन्ने ज्ञान दिलाउन बिहीबारदेखि सो प्रविधि प्रयोगमा ल्याइएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले बताए। लोप्चनले भने, ‘अब किसानले आफ्ना खेतबारीको माटोको उर्वराशक्तिबारे थाहा पाउने भएका छन्। प्रयोगशालाको सुविधासँगै समयसमयमा माटो परीक्षण गर्छौँ।’

प्रयोगशालाका माध्यमबाट माटोमा भएका अम्लीयपन घटाउन, प्राङ्गारिक मलको मात्रा बढाउन र बिरुवालाई आवश्यक पर्ने पोषकतत्वबारे जानकारी लिन सकिने उपाध्यक्ष रञ्जना घिमिरेले बताइन्। त्यहाँका खेतीयोग्य जमिनको माटो परीक्षण गरेर उपयुक्त बाली लगाउन सुझाव दिइने कृषि कार्यालयका प्रमुख सुवास खनालले जानकारी दिए।

खनालले भने, ‘हामीले परम्परागत खेतीमा मात्र ध्यान नदिएर आधुनिक कृषि प्रणालीमा पनि लाग्न जरुरी छ। माटो जाँच्न हेटौँडा पुग्नुपर्ने बाध्यता अब अन्त भएको छ। यहाँ हरेक बालीका लागि सुहाउँदो वातावरण भएकाले आगामी दिन माटो सुहाउँदो खेती गर्न प्रेरित गर्छौँ।’

गाउँपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा यहाँको भू–बनोट र हावापानी सुहाउँदो खेती गरी गाउँवासीलाई आत्मनिर्भर बनाउँदै लैजाने उल्लेख गरेको थियो। यसैगरी ‘कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि ः वाग्मती गाउँपालिकाको समृद्धि’ भन्ने नारालाई आत्मसात् गर्दै कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र विशिष्टीकरण गरिने तथा कृषिलाई आयामूलक र मर्यादित व्यवसायका रुपमा विकास गरिने योजनासमेत प्रस्तुत गरिएकोे थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved