कटान र क्षति रोक्न बर्सेनि टालटुले काम, हजाराैं बिघा बाढीले‍ बगाउँछ

नेपालभ्युज

कटान र क्षति रोक्न बर्सेनि टालटुले काम, हजाराैं बिघा बाढीले‍ बगाउँछ
फाइल फोटो

सर्लाही । नदीले क्षति पुर्‍याएका क्षेत्रमा दीर्घकालीन सुरक्षा उपाय नअपनाउँदा बर्सेनि हजारौँ बिघा खेतीयोग्य जमिन कटान भइरहेको छ।

लालबन्दी नगरपालिका- १ स्थित लखनदेही खोलामा आएको बढीले जंगल क्षेत्रमा क्षति पुर्‍याएको छ भने चक्रघट्टा गाउँपालिका-१ शिवनगरस्थित लखन्देही खोलामा आएको बाढीले त्यस क्षेत्रमा पनि बाँध भत्काएको छ। गत वर्ष यही स्थानमा बाढीले बाँध कटान गरेपछि जनताको तटबन्ध कार्यालयले ‘परकोपाइन’ विधिबाट बाँस गाडेर तत्कालका लागि मर्मत गरेको थियो । दीर्घकालीन उपाय नखोजिदा यस वर्ष पनि बाढीले बाँध भत्काएको हो ।

गत वर्ष नै बाँधको स्थायी मर्मत गरेको भए यसवर्ष जोखिम नहुने स्थानीय राजगिर रायले बताए। “टालटुलेमर्मत गर्दा क्षति हुनु स्वाभाविक हो ,” उलने भने।

चक्रघट्टाको शिवनगरसहित लखन्देही खोलाले तीन स्थानमा भत्काएको बाँधलाई फेरि टालटुल गरेर कटान रोकथामको प्रयास थालिएको छ । अस्थायी मर्मतका लागि जलस्रोत तथा सिँचाइ विभागले सहयोग गर्ने प्रतिबद्धतासहित निर्देशन दिएपछि तटबन्ध कार्यालयले बोरामा बालुवा हालेर काम सुरु गर्ने भएको छ।

उक्त कार्यालय प्रमुख रवीन्द्र शर्माले हिउँदमा पक्की बाँध र स्थायी निर्माण गरिने जानकारी दिए। बजेट अभावले गत वर्षदेखि पक्की बाँध बनाउन नसकेको र यस वर्ष पनि त्यही स्थानमा बाँध भत्किएको उनले बताए।

भने, “विभागबाट बजेटसहितको निर्देशन आएपछि तत्कालका लागि टालटुल गरेर वर्षा समाप्त भएपछि पक्की बाँध बाँध्ने योजना छ।” जिल्लाको लखन्देही नदीले कटान गरेको क्षेत्रको अवलोकनपछि विभागका महानिर्देशक मधुकरराज भण्डारी र उपमहानिर्देशक कृष्ण नेपालसहितको टोलीले बाँध मर्मतका लागि निर्देशन दिएका थिए।

लखन्देही नदीको बहावलाई परिवर्तन गर्दै बाँध मर्मत गर्ने तटबन्ध कार्यालयले जनाएको छ । जिल्लाको मध्यभाग भएर बग्ने सो नदीले चक्रघट्टाको शिवनगर, कौडेना गाउँपालिका-७ सक्रौल र मलङगवा नगरपालिका-५ भाँडसरमा रहेको बाँध भत्काएको छ । बाँध भत्किएपछि यस आसपासका बस्ती उच्च जोखिममा परेका छन्। जोखिम क्षेत्रको प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा निकायलेसमेत निरीक्षण गरेका छन्।

खोला नियन्त्रणका लागि तटबन्ध कार्यालयमा पटकपटक जानकारी गराउदा पनि बाँध निर्माणका लागि सहयोग नपाएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गुनासो गरे। अन्यत्रबाट सहयोग नपाएपछि गाउँ पालिकाले एक करोड रुपैयाँ बजेट तटबन्धका लागि छुट्याएको थियो ।

लखन्देही नदीले भत्काएको बाँध बाँध्न दीर्घकालीन रूपमा तटबन्धको पहल भइरहेको प्रजिअ रामकुमार महतोले बताए। भने, “तटबन्धका लागि केही समय लाग्ने भए पनि तत्कालीन रोकथामको काम हुने छ।”

जिल्लामा लखनदेही, बागमती, चापिनी, कालीञ्जोर, फुलजोर र बाँके खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गर्नुका साथै भौतिक तथा मानवीय क्षतिसमेत गर्ने गरेका छन्। नदी दोहन, दिन प्रतिदिनि चुरे दोहन, वन विनाशलगायत कारण हरेक वर्ष यी नदीमा आएको बाढीले क्षति पुर्‍याउने गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved