काठमाडौं। गोरखामा एकै परिवारका तीन जनाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। भीमसेन थापा गाउँपालिका-६ स्थित मेरियाटोलका ३४ वर्षीय हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुण्डिएको अवस्थामा आज फेला परेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बुबाको शव र सात वर्षका दुई बालकको शव अलग-अलग रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको बताए।
उनले भने, ‘बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ। छोराहरूको शव काप्राको रुखमा भेटिएको छ। घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुण्ड्याएर हत्या गरी आफूले आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ।’
घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुण्डिएको अवस्थामा फेला परेको उनले बताए। हेमबहादुरको शव भने बालकहरू झुण्डिएको रुखभन्दा केही पर अर्को रुखमा फेला परेको छ।
तीनै जनाको शव पोष्टमार्टमका लागि शव गोरखा अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। बिहान स्थानीयले रुखमा मान्छे भुण्डिएको देखेपछि घटनाका बारेमा जानकारी पाएको वडाध्यक्ष रन्जन रिमालले जानकारी दिए। मृतक राना डेढ महिनाअघि मात्र श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेर बसेको बुझिएको छ।
Facebook Comment
Comment