उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, हेलिकप्टर तयारी अवस्थामा

उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात,  हेलिकप्टर तयारी अवस्थामा
सांकेतिक तस्वीर

गोरखा । उत्तरी गोरखामा हिमपात सुरु भएको छ । लगातारको वर्षाले चिसो बढेसँगै चुमनुब्री गाउँपालिकाको सामागाउँलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो । असोज महिनाको तेस्रो साता सुरु भएसँगै यो वर्ष पहिलो पटक उत्तरी गोरखामा हिमपात भएको हो । हिमालपारिको गाउँ भनेर चिनिने उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले बताए ।

‘सामागाउँमा आज अपराह्नपछि हिमपात सुरु भएको हो’, उनले भने, ‘हिमपातका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।’ हिमपातका कारण मनास्लु हिमाल आरोही र आरोहीका सहयोगीलाई समस्या पर्नसक्ने भन्दै सामागाउँमा अहिले तीन वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले बताए ।

‘मनास्लु हिमालको आरोहणमा रहेका आरोहीलाई कुनै पनि बेला समस्या पर्नसक्ने सम्भावना छ’, उनले भने,’सम्भावित जोखिमपूर्ण परिस्थितिलाई ध्यानमा राखेर हेलिकप्टरसमेत तयारी अवस्थामा राखिएको छ ।’ सामागाउँमा कैलाश, सिम्रिक र एभरेष्ट एयरका एक÷एक वटा हेलिकप्टर तयारी अवस्थामा राखिएका उनको भनाइ छ । यो वर्ष अहिलेसम्मकै अत्यधिक पर्यटक मनास्लु हिमाल आधार शिविरमा पुगेका छन् ।

गोरखा प्रहरीका अनुसार हिजोसम्म ३६६ जना हिमालको आधार शिविरमा नै रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन मौसममा परिवर्तन हुने भन्दै उच्च हिमाली क्षेत्रमा बसोबास गर्ने तथा हिमाल आरोहणका लागि पुगेकालाई सतर्कता अपनाउन भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved