दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

नेपालभ्युज

दशैंलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन उपराष्ट्रपतिको आग्रह

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले दसैँलाई देखावटी, खर्चिलो र भड्किलो नबनाउन आग्रह गरेका छन् ।   बडादसैँ२०७९ को अवसरमा आज शुभकामना दिँदै उनले दसैँले नेपालीहरूका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा अभिवृद्धि गर्दै देशलाई समृद्ध बनाउन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।

दसैँले देशको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउने उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रको समुन्नति र समृद्धिका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै नेपालीलाई ऊर्जा प्रदान गरोस् भनी कामना गरेका छन् ।

प्रकृतिको सुन्दर छटामुनि रहेका हामी नेपाली धर्म, संस्कार, संस्कृति, परम्परा र मूल्यमान्यताले अत्यन्त धनी रहेको उल्लेख गर्दै उनले बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष हाम्रो राष्ट्रमा मनाइने सबैखाले चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आएको बताएका छन् ।

नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै उपराष्ट्रपति पुनले दसैँ, तिहार, नेपाल संवत् र छठजस्ता महत्त्वपूर्ण चाडपर्वलगत्तै सार्वभौम नेपाली जनताको महान् उत्सवको रूपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन लागेको र  संविधान कार्यान्वयनकै महत्त्वपूर्ण पक्षको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागिता जनाउन तथा सार्वभौम मताधिकार प्रयोग गर्न सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक आग्रह गरेका छन् ।

दसैँले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष र स्वतन्त्ररुपमा सम्पन्न गर्न ऊर्जा प्रदान गरोस्”, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved