काठमाडौं। पुरुषलाई पनि स्तन क्यान्सर हुन्छ, तपाईंलाई यो सुन्दा अचम्म लाग्ला, महिलाको तुलनामा निकै कम हुने भएकाले पुरुषको स्तन क्यान्सरबारे त्यति धेरै चर्चा हुँदैन ।
तर, स्तन क्यान्सर महिलालाई बढी हुने भए पनि यसको खतरा भने पुरुषलाई पनि हुन्छ । पुरुषमा हुने स्तन क्यान्सर महिलाको भन्दा धेरै नै जटिल हुन्छ । सामान्यतया उमेर धेरै भएका व्यक्तिलाई यसको बढी खतरा हुन्छ ।
पुरुषको वक्षस्थलमा मासु धेरै हुँदैन यसकारण ब्रेस्टको ट्युमर सहजै पत्ता लगाउन सकिन्छ । यसका लक्षणाहरू पनि धेरै किसिमका हुन्छन् । धेरैजसो स्तन क्यान्सर भएका पुरुष ६० वर्ष माथिका पाइएको छ ।
९० प्रतिशतभन्दा बढी बिरामी ६० वर्ष माथिका छन् । यो भन्दा कम उमेरकालाई स्तन क्यान्सर हुँदै नहुने त होइन तर न्यून हुन्छ । अहिले सम्मको सबै अनुसन्धान, तथ्याङ्क र यो रोगको प्रकृति हेर्दा स्तन क्यान्सर पुरुष अथवा महिलामा ५० वर्ष नाघेकालाई देखिएको छ ।
एक त स्तन क्यान्सर पुरुषलाई पनि हुन्छ भन्ने चेतनाको अभाव छ भने अर्को तर्फ पुरुषमा हुने स्तन क्यान्सर पहिचान हुनै समस्या छ ।
स्तन क्यान्सरको लक्षण देखिएपनि अन्य रोगको उपचारमा लागेको पनि हामीले भेटेका छौँ । हाम्रो नेपालमा अहिलेसम्म तथ्यांक राख्ने सम्यन्त्र पनि छैन तर पनि जति उपलब्ध छन् त्यो हेर्दा एकप्रतिशत भन्दा बढी पुरुषलाई स्तन क्यान्सर भएको देखिन्छ ।
मेरो यो ५—७ वर्षको अनुभवमा पनि ६–७ जना पुरुषमा स्तन क्यान्सर भएको भेटेको छु । उहाँहरूको लक्षण हेर्दा धेरैजसो मोटो पुरुषहरु भेटेको छु । अर्को चाहिँ उहाँको परिवारमा कुनै न कुनै क्यान्सर भएको पाइएको छ ।
पुरुषमा हुने स्तन क्यान्सरका लक्षण
स्तन क्यान्सरको लक्षण जोखिम अवस्था पुगेपछि मात्रै देखिने भएकाले सबैभन्दा बढी ध्यान दिन जरुरी छ । यदि, तपाईंको स्तन वरपर गाँठागुँठी आइरहेको छ भने यसलाई हेलचेक्रयाइँ गर्नु हुँदैन ।
यस्ता गाँठागुठी छुँदा पनि नदुख्ने भएकाले कतिपयले यसलाई बेवास्ता गरेको पाइन्छ । अर्को कुरा सबै गाँठागुठी क्यान्सर पनि हुँदैन । त्यसैले, समयमै परीक्षण गर्नु जरुरी छ । यस्तै, छातीको छालाको रङ बदलिने स्तनको मुन्टो वरपर डन्डीफोर जस्तै देखिने घाउ देखा परे क्यान्सरको खराब अवस्था हुन सक्नेतर्फ सचेत भने हुनुपर्छ ।
अर्को कुरा स्तनको मुन्टो कठोर हुने र त्यसबाट तरल पदार्थ आउनु पनि क्यान्सरको लक्षण हो भन्ने बुझ्नुपर्छ । यसैगरी, स्तन क्यान्सर हुँदा पुरुषमा अधिकांश समय थकान महसुस हुने, हड्डीमा दुखाइ, श्वास लिन गाह्रो हुने, बिरामी भएजस्तो महसुस हुने जस्ता लक्षण देखा पर्छन् । पुरुषमा स्तन क्यान्सर हुने धेरै कारणमध्ये वंशाणुगत मुख्य हो ।
कसैको परिवारका महिलामा क्यान्सर छ भने त्यो परिवारका पुरुष सदस्य पनि जोखिममा हुन्छन् । यसबाहेक कोइलाखानी र प्रदूषणमा बढी बस्ने पुरुषहरू यो रोगको उच्च जोखिममा छन् । सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पुरुषपनि क्यान्सरको जोखिममा हुन्छन् ।
उपचार विधि
यसको अवस्था पत्ता लगाउन स्क्रिनिङ गरिन्छ । स्तन क्यान्सरका स्क्रिनिङका उपायहरूमा स्वयं गरिने स्तन परीक्षण, चिकित्सकद्वारा गरिने स्तन परीक्षण तथा मेमोग्राफी पर्दछन् ।
महिला र पुरुषमा हुने स्तन क्यानसरको उपचार विधि एउटै हो । खासगरी तिन तरिकाबाट यसको उपचार गरिन्छ । पहिलो चरणमा बिरामीको अपरेसन गरेर स्तनमा भएका गाँठो काटेर फालिन्छ ।
दोस्रो विधिमा केमोथेरापी दिइन्छ भने तेस्रो विधिमा रेडिएशन प्रयोग गरिन्छ । रोगको पहिलो चरणमा पत्ता लगाई शीघ्र उपचार सुरु गर्नु नै यस रोगले पार्ने असरबाट जोगिने उपाय हो ।
नियमित व्यायाम, स्वस्थ खानपान तथा मोटोपना र तौल नियन्त्रण यसको केही रोकथामका उपायहरू हुन्, जसले स्वास्थ्यसम्बन्धी अन्य थुप्रै समस्याबाट पनि बचाउन मद्दत गर्छन् ।
सबैले आफ्नो स्वास्थ्य परिक्षण नियमित गर्दा लाभ नै हुन्छ त्यो नभए ५० वर्ष उमेर पुगेपछि वर्षमा कम्तिमा एक पटक स्वास्थ्य परीक्षण गर्नु फाइदाजनक छ ।
समयमै समस्या पहिचान भएमा समयमै उपचार पाइन्छ । जसका कारण ज्यानको जोखिम पनि कम हुन्छ । उपचार खर्च पनि कम लाग्छ ।
शरीरको कुनै पनि अंगका कोशिकाहरूमा हुने अनियन्त्रित वृद्धि क्यान्सरको कारण हुन सक्छ। स्तन क्यान्सर पहिलो या दोस्रो चरणमा पत्ता लागे यसको पूर्ण उपचार सम्भव छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरूण शाहीसँग प्रकाश बस्यालले गरेको कुराकानीमा आधारित
Facebook Comment
Comment