नेपाल भ्युज वहस

के साँच्चै बन्दैछ ‘समाजवादी केन्द्र’ ? कि अर्को ठूलो कम्युनिस्ट समूह ?

त्यस्तो समाजवादी केन्द्र कतिको बलियो हुन्छ अहिल्यै भन्न सकिन्न । प्रचण्डको नेतृत्वमा बन्ने हुँदा त्यसलाई मतदाताले माओवादी केन्द्रको निरन्तरता र विरासतका रूपमा बुझ्न सक्छन् । माओवादी हुन नचाहने कम्युनिस्ट समर्थक पुनश्च: एमालेतिरै फर्किन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न । तर, समाजवादी केन्द्र बन्यो भने नेपाली राजनीतिमा त्यो आफैँमा एक प्रयोग भने हुनेछ ।

नेपालभ्युज

के साँच्चै बन्दैछ ‘समाजवादी केन्द्र’ ? कि अर्को ठूलो कम्युनिस्ट समूह ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा ) र वामदेव गौतमको समूह मिलेर ‘समाजवादी केन्द्र’ बनाउने प्रयास भइरहेको छ । यी ४ मध्ये डा. बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह ‘गोलाकारभित्रको हसियाँ हथौडा’ मा चुनाव लड्न सहमति जनाइसकेका छन्।

चुनावचिन्ह मात्रै हैन, यी ३ समूहको समानुपातिक उम्मेद्वारको सूची र चुनावी घोषणापत्र पनि एउटै हुनेछ । नेसपाको चुनावचिन्ह ‘आँखा’ मंसिर ४ गतेको संघीय प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रयोगमा आउने छैन । वामदेव गौतम समूहको भने कुनै भिन्नै चुनाव चिन्ह दर्ता भएको थिएन ।

अस्तित्व र वर्चस्वको चिन्ता 

समाजवादी केन्द्र बनाउन आतुर भइरहेका नेताहरू मूलतः अस्तित्व संकटको समस्याबाट चिन्तित छन्। दुई-दुई पटकको असंवैधानिक संसद विघटन, तत्कालीन नेकपाको विभाजन, राष्ट्रिय, अन्तर्राष्ट्रिय बदनामी, नागरिक आन्दोलन र प्रतिरोध, संघ र सबै प्रदेश सरकारबाट बर्हिगमनका बाबजुद हालै सम्पन्न सम्पन्न स्थानीय निर्वाचनमा एमालेको साइज ठूलै देखियो । यसले देशको वामपन्थी जनमतको ठूलो हिस्सा अझै एमालेकै वरिपरि छ भन्ने पुष्टि भयो ।

एमालेसँग सहकार्य नहुने निश्चित भएपछि यी ४ दल र समूह अस्तित्व संकटको अवस्थामा थिए । वामदेव गौतम नेकपाको विवाद र विभाजनकै समयदेखि ढुलमुल थिए । उनको आफ्नो भिन्नै पार्टी वा समूह बन्न सकेन । बनाएको सानो समूहले पनि उल्टै उनैलाई कारबाही गरिदियो ।

डा. बाबुराम भट्टराईले जसपाबाट निस्किएर हालै नेसपा बनाएका हुन् । यो पार्टी तङिग्रन नपाउँदै चुनाव आइहाल्यो । प्रत्यक्ष तर्फ भिन्नै उम्मेद्वार उठाउदा र भिन्नै समानुपातिकाको सूची बुझाउँदा गतिलो परिणाम नआउला भन्ने भय यो समूहलाई थियो ।

एकीकृत समाजवादीको अवस्था पनि खासै सन्तोषजनक देखिएन। स्थानीय चुनावमा पाँचौ ठूलो पार्टी त भयो तर, एमालेजस्तो निक्कै ठूलो आकारको पार्टीमा राजनीतिक जीवनको अभ्यास गर्दै आएका नेता कार्यकर्ताले सन्तोष गर्न सक्ने खालको नतिजा त्यो हैन ।

नेकपा (माओवादी केन्द्र) भने अस्तित्व संकटकै अवस्थामा पुगिसकेको छैन । स्थानीय निर्वाचनको मत परिणामले माओवादी केन्द्रलाई निर्णायक तेस्रो दलको हैसियतमा देखाएको छ। तथापि, माओवादी केन्द्रको आकार एमालेको तुलनामा निकै सानो छ ।

माओवादी केन्द्रले एकता र गठबन्धन गर्दा अरु दल र नेताहरूको ‘रेस्क्यु’ हुने देखिन्छ भने माओवादी केन्द्रले अझ ठूलो र बलियो पार्टी हुने अवसर प्राप्त गर्नेछ ।

सबैलाई ओलीको इख 

‘समाजवादी केन्द्र’ बनाउने प्रयासमा लागेका धेरै जसो नेताहरू उमेरले ७० को आसपास र एमाले अध्यक्ष केपी शर्मा ओलीका समकालीन छन् ।  पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा निर्माण गर्दा भएको आधा-आधा कार्यकाल प्रधानमन्त्री पद बाँड्ने गोप्य सम्झौता कार्यान्वयन नगरेका कारणले ओलीसँग क्षुब्ध छन्। आफैँले बनाएको पार्टी छोडेर हिँड्नु पर्दा माधव नेपाल र झलनाथ खनाललाई ओलीप्रति प्रतिशोधको भावना जाग्नु स्वाभाविक हो ।

वामदेव गौतम गत आमनिर्वाचनदेखि नै ओलीसँग असन्तुष्ट छन् । गृहजिल्ला बर्दियामा त्यति ठूलो गठबन्धनका बाबजुद ओली पक्षले नै अन्तर्घात गरी आफूलाई हराएको गौतमको बुझाइ छ । डा. बाबुराम भट्टराई पहिलोपटकको संसद विघटनदेखि नै ओलीप्रति आक्रामक रहँदै आएका छन्।

समाजवादी केन्द्र बने देउवा र ओली दबाबमा पर्ने 

नेपाली कांग्रेस र एमालेले यी दललाई साना, सहयोगी वा उपग्रही पार्टीका रूपमा बुझ्दै र व्यवहार गर्दै आएका छन् । सोचेजस्तो समाजवादी केन्द्र बने त्यो ठीकठीकै आकारको पार्टी हुनेछ । त्यसले कांग्रेस र एमालेसँगको सहकार्य वा गठबन्धन बिनै पनि हाराहारीको प्रतिस्पर्धा गर्न सक्ने सम्भावना बढ्छ ।

सबैजसो पार्टी, नेता र समूहलाई एकैपटक चिढाउने र टाढा बनाएको कारणले एमालेभित्रै पनि ओलीप्रति असन्तुष्टि बढ्न थालेको छ । राजनीतिक कौशल भनेको आफ्नो पार्टी जोगाउनु मात्रै हैन, विरोधी खेमालाई कमजोर बनाउनु पनि हो, ओलीले आफ्नो पार्टी त जोगाए तर सँगसँगै विरोधी खेमालाई संगठित र बलियो हुने अवसर दिए, त्यहाँनेर उनी चुके भन्ने भावना एमालेको ठूलै पङ्तिमा देखिन्छ ।

साँच्चै समाजवादी केन्द्र बन्यो भने कांग्रेस र एमाले दुवैलाई दबाब हुनेछन् । किनकि, त्यो अवस्थामा यसको शक्ति नजरअन्दाज गर्न सक्ने अवस्थामा हुनेछैन ।

‘समाजवादी केन्द्र’ कि अर्को ठूलो कम्युनिस्ट समूह ?

४ वामपन्थी दल मिलेर बनाउन खोजिएको भनिएको समाजवादी केन्द्र अर्को ठूलो कम्युनिस्ट पार्टी मात्रै बन्ने हो कि भन्ने आशंका जीवित छ । यो बहस चर्किए चुनावमा अप्ठ्यारो पर्न सक्ने सम्भावनालाई दृष्टिगत गरेर पनि नेताहरूले पार्टी एकतालाई चुनावपछि धकेल्न चाहेको देखियो ।

एमालेसँग एकता गरी नेकपा बनाएको समयदेखि नै माओवादी केन्द्रले ‘माओवाद’ छोडिसकेको हो । तसर्थ कोष्ठकमा ‘माओवादी केन्द्र’ को साटो ‘समाजवादी केन्द्र’ लेख्न उसलाई कुनै आपत्तिको विषय हुने भएन। माधव नेपाल नेतृत्वको पार्टीको पछाडिको फुर्को अहिले नै ‘एकीकृत समाजवादी’ छँदै छ ‘समाजवादी केन्द्र’ लेख्दा त्यस समूहको राजनीतिक तथा नैतिक जित नै हुनेछ । वामदेव गौतमले त यो समूहको पार्टी गीत नै लेखिसकेका छन् ।

थोरै समस्या डा. बाबुराम भट्टराईको समूहलाई पर्न सक्छ । कम्युनिस्ट विचारधारा छोडिसकेको हुँदा त्यसका लागि ‘समाजवादी केन्द्र’ र नेकपा ( समाजवादी केन्द्र) को अर्थ एउटै हुँदैन । अन्य समूह अहिलेसम्म ‘नेकपा’ छोड्न राजी भइसकेका छैनन् ।

त्यसो भए साँचो समाजवादी केन्द्र भने बन्ने छैन, एउटा अर्को ठूलो कम्युनिस्ट पार्टी नै अस्तित्वमा आउने सम्भावना बढी देखिन्छ ।

समाजवाद र साम्यवादको भिन्नता 

सामान्यतः कम्युनिस्ट समूहहरू समाजवाद र साम्यवादबीच कुनै वैचारिक भिन्नता हुन्छ भन्ने स्वीकार गर्दैनन् । उनीहरू समाजवादलाई साम्यवादकै पहिलो खुड्किलो वा चरण मात्रै मान्दछन् । तर, विश्व राजनीतिको परम्परा, ऐतिहासिक र शास्त्रार्थलाई हेर्दा समाजवाद र साम्यवाद एउटै विचार हैनन् । समाजवादीले साम्यवाद स्वीकार गर्दैनन् । साम्यवादीहरूले समाजवादलाई भिन्नै मौलिक विचारधारा मान्दैनन् ।

सन् १८४८ मा प्रकाशित कार्ल मार्क्स र फ्रेडरिख एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणपत्र’, वर्गसंघर्षको प्रक्रियामा सर्वहारा वर्गको ऐतिहासिक भूमिका, सर्वहारा वर्गको अग्रदस्ताका रूपमा कम्युनिस्ट पार्टी, कम्युनिस्टको नेतृत्वको समाजवादी क्रान्ति र सर्वहारा अधिनायकत्वको स्थापना जस्ता मान्यतामा विश्वास गर्नेलाई कम्युनिस्ट पार्टी भनिन्छ ।

समाजवादी पार्टीले भने सर्वहारा अधिनायकत्व र एकदलीय प्रणालीलाई स्वीकार गर्दैनन । यो भिन्नताले प्रस्तावित ‘समाजवादी केन्द्र’ मा केही समस्या ल्याउन सक्ने देखिन्छ ।

पुरानै अनुहारको निरन्तरता 

समाजवादी केन्द्र बनेमा त्यसको नेतृत्व पंक्तिको ठूलो हिस्सा भने पुरानै अनुहारले ओगट्नेछ । त्यसको अध्यक्ष प्रचण्ड हुने निर्विवादजस्तै देखिन्छ । त्यसपछिका नेता क्रमशः माधव नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालगायत हुनेछन् ।

नेतृत्व र कार्यशैलीको निरन्तरताको कारण कदाचित समाजवादी केन्द्र बने पनि त्यसको छवि, कार्यर्शली र कार्यक्षमतामा खासै भिन्नता आउने देखिन्न । सम्भवत: नयाँ पुस्ताका मतदाताले त्यसलाई कुनै नयाँ विकल्पका रूपमा नभएर पुरानोको निरन्तरता कै रूपमा हेर्ने सम्भावना नै बढी छ । तर, यसले परम्परागत मतदातालाई भने प्रभाव पार्नेछ ।

दीर्घकालीन प्रभाव

प्रस्तावित समाजवादी केन्द्र बनेमा दीर्घकालीन राजनीतिक प्रभाव के कस्तो हुनेछ ? यो भने विचारणीय पक्ष छ । त्यसले या त एमालेलाई कमजोर बनाउने छ या त कांग्रेसलाई कमजोर बनाइ देशलाई दुई ठूला कम्युनिस्ट पार्टीको युगतिर लैजाने सम्भावना रहन्छ ।

तर, पहिलो सम्भावना नै बढी छ । कांग्रेसको आफ्नै इतिहास र राजनीतिक स्पेस छ । नयाँ बन्ने समाजवादी केन्द्र र कांग्रेसको जनमत खासै टकराउँदैन । संगठन र जनमत खोसाखासको संघर्ष भने एमाले र समाजवादी केन्द्रको बीचमा नै हुने हो ।

तथापि, त्यस्तो समाजवादी केन्द्र कतिको बलियो हुन्छ अहिल्यै भन्न सकिन्न । प्रचण्डको नेतृत्वमा बन्ने हुँदा त्यसलाई मतदाताले माओवादी केन्द्रको निरन्तरता र विरासतका रूपमा बुझ्न सक्छन् । माओवादी हुन नचाहने कम्युनिस्ट समर्थक पुनश्च एमालेतिरै फर्किन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न ।

जे होस, समाजवादी केन्द्र बन्यो भने नेपाली राजनीतिमा त्यो आफैँमा एक प्रयोग भने हुनेछ । राजनीतिक ध्रुवीकरणका अनेक नयाँ कडी र श्रृंखला निर्माण गर्ने ताकत भने त्यसले राख्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved