काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले चिनी, गहुँ लगायतका वस्तुहरुको प्रतिबन्ध नेपालको हकमा लागू नहुने स्पष्ट पारेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा बिहीबार उनको सम्मानमा महासंघ सचिवालयमा आयोजना गरेको औपचारिक भेटवार्तामा उनले यस्तो बताएका हुन्।
‘‘भारत सरकार भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ’’, उनले भने, ‘‘तपाईंहरुको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ।’’
उनलाई स्वागत गर्ने क्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारले अत्यावश्यक वस्तुहरुको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरुलाई समस्या हुन थालेको बताएका थिए।
अध्यक्ष गोल्छाले नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको पनि बताए।
Facebook Comment
Comment