८० राउण्ड गोलीसहित १८ वर्षीय युवक पक्राउ

नेपालभ्युज

८० राउण्ड गोलीसहित १८ वर्षीय युवक पक्राउ
सांकेतिक तस्वीर

बनियानी। झापाको भद्रपुर नगरपालिकाबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।

मंगलबार राति मोबाइल चोरीको अभियोगमा पक्राउ परेका भद्रपुर–५ का १८ वर्षीय मोहम्मद प्यारेको साथबाट मोबाइलसँगै पेस्तोल लाग्ने ८० राउण्ड गोलीसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गत असार २४ गते राति भद्रपुरस्थित राजु अग्रवालले सञ्चालन गर्दै आएको प्रियंका मोबाइल पसलबाट विभिन्न कम्पनीका मोबाइल २९ थान, घडी दुई थान र नगद ६१ हजार ५०० गरी पाँच लाख १८ हजार २०० नगद बराबरको सामान चोरी भएको थियो।

उजुरीका आधारमा चोरीमा संग्लग्न व्यक्तिको खोजीका क्रममा मंगलबार राति अभियुक्त प्यारेलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ। उनलाई सोधपुछ र अनुसन्धान गर्ने क्रममा चोरी भएकामध्ये एक थान मोबाइल, मोबाइलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको हो।

उनले सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको ताला समेत बरामद गरिएको र घटाना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved