काठमाडौं। अर्थ मन्त्रालयले बजेटको अघिल्लो रातको सीसीटीभी फुटेज मेटिएको दाबी गरेको छ।
उपभोक्ता हित संरक्षण मञ्चका जयप्रसाद पौडेलले फुटेज माग गर्दै निवेदन पेस गरेका थिए। मन्त्रालयले आज उनलाई सूचना उपलब्ध गराउँदै सीसीटीभी फुटेज डिलिट भएको जानकारी गराएको हो।
मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्र फुटेज अभिलेखमा रहने र तत्पश्चात पहिलेको अभिलेख क्रमशः मेटिँदै जाने मन्त्रालयले जनाएकाे छ।
१४ जेठको राति अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको अर्थमन्त्री जनार्दन शर्मामाथि आरोप लागेको थियो।
संसदमा उनको राजीनामा समेत माग गरिएको थियो। साथै प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद तथा नेताहरुले त्यस रातको सीसीटीभी फुटेज देखाउन माग गरेका थिए।
अर्थमन्त्री शर्माले भने आफूले जनता र देशको पक्षमा बजेट बनाएको भन्दै राजीनामा नदिने अडान राखेका छन्। बजेट तर्जुमाका क्रममा तोकिएका जिम्मेवार पदाधिकारीहरूबाहेक अरू कसैको सहभागिता नरहेको उनको दाबी छ।
तर सरकारले २०७२ मा लागू गरेको सीसीटीभी जडान तथा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार सीसीटीभी फुटेज कम्तिमा तीन महीना सुरक्षित राख्नुपर्नेहुन्छ।
Facebook Comment
Comment