काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ। गृहमन्त्री खाँणलाई भेट्न चिनियाँ राजदूत यान्छी गृहमन्त्रालय गएकी हुन्।
अमेरिकी उपविदेशमन्त्री एवं तिब्बत मामिला हेर्ने अमेरिकी सरकाको विशेष संयोजक उज्रा जिया तीनदिने नेपाल भ्रमणमा आउने तयारी चल्दै गर्दा चिनियाँ राजदूत यान्छी गृहमन्त्री खाँणलाई भेट्न पुगेकी हुन्।
मंगलबारबाट भारत भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री जिया ६ जेठबाट तीन दिने भ्रमणका क्रममा नेपाल आउँदै छिन्। नेपाल भ्रमणमा आउन लागेकी उनी अमेरिकाबाट नेपाल भ्रमणमा आउन लागेकी उच्च तहकी अधिकारी हुन्। लामो समयदेखि अमेरिकाबाट नेपालमा हुन नसकेको अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमणको खडेरी अन्त्य गर्दै जिया नेपाल भ्रमणमा आउन लागेकी हुन्।
नेपाल भ्रमणका क्रममा जियाले नेपालका उच्च अधिकारीसँग भेटवार्ता गर्दैछिन्। प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत गृहमन्त्री खाँणसँग पनि भेट्ने कार्यक्रम छ।
जियाले आफ्नो नेपाल भ्रमणका क्रममा नेपालमा रहेका शरणार्थीलाई शरणार्थी काड दिन नेपाल सरकारलाई विशेष आग्रह गर्ने बताइएको छ। नेपालमा भुटान, तिब्बतलगायत अन्य देशका शरणार्थी बस्दै आएका छन्।
भुटानी र अन्य देशका शरणार्थीलाई शरणार्थी काडको व्यवस्था गरे पनि नेपालले तिब्बती शरणार्थीलाई लामो समयदेखि शरणार्थी काड दिएको छैन। जियाले आफ्नो भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई काड प्रदान गर्न नेपाल सरकारसँग विशेष आग्रह गर्ने चर्चाबीच चिनियाँ राजदूत यान्छीले गृहमन्त्री खाँणसँग भेट गरेकी हुन्।
१७ फागुनमा नेपालको संसदले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गरेसँगै अमेरिकाबाट नेपाल आउने प्रतिनिधिको संख्या बढ्दै गएको छ। यसै क्रममा अमेरिकी उपविदेशमन्त्री जियाले नेपाल भ्रमण गर्न लागेकी हुन्। अमेरिकी अधिकारीको नेपाल भ्रमण बढ्दै गर्दा नेपालस्थित चिनियाँ दूतवासले यस्ता भ्रमणलाई सतकर्ताका साथ लिएको छ।
Facebook Comment
Comment