अन्तर्वार्ता

हामी जे बोल्छौं, त्यो गर्छौं, त्यसैले फेरि जनताले विश्वास गरे : सुनिल प्रजापति (अन्तर्वार्ता)

नेमकिपाले इमान्दारीपूर्वक काम गर्छौँ भनेर जनतासँग भोट पनि माग्यो, चन्दा पनि माग्यो। अरु पार्टीले निर्वाचन जित्न करोड–करोड रुपैयाँ खर्च गरेका छन्। अझै पनि सबै जनता त सचेत छैनन्। अरु पार्टीले धेरै खर्च गर्ने भएकोले ठूला राजनीतिक दलको पछाडि जनता लागेका छन्।

हामी जे बोल्छौं, त्यो गर्छौं, त्यसैले फेरि जनताले विश्वास गरे : सुनिल प्रजापति (अन्तर्वार्ता)

भक्तपुर नगरपालिकाका नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले मेयर/उपमेयरसहित भारी मतान्तरले ‘क्लीनस्वीप’ गरेपछि भक्तपुरमा विजय जुलुस निस्कियो। त्यसै दौरान नवनिर्वाचित मेयर सुनिल प्रजापतिसँग नेपालभ्यूजकर्मी सुनीता साखकर्मीले गरेको अन्तर्वार्ता :

भक्तपुरमा नेपाल मजदुर किसान पार्टीले सँधै जित्ने आधारहरू के के हुन्?

राजनीतिक कार्यकर्ताहरूले जनतामा समर्पित भएर काम गरेपछि पाउने सम्मान नै यही हो। जनतासँग आफ्नै मत हुन्छ। उनीहरूको आफ्नै धारणा हुन्छ। त्यसलाई आफ्नो पक्षमा ल्याउन राजनीतिक कार्यकर्ताले काम गर्नुपर्छ। सेवा गर्ने हिसाबले काम गरे मात्रै जनताको मत आफ्नो पक्षमा आउने हो। हामी नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरूले यही भावनाले दिनरात काम गरिरहेका हौँ।

हामी जे काम गर्छाैँ, त्यो एकदमै पारदर्शी हुन्छ। हरेक काम जनतालाई देखाएर मात्रै गर्छाैँ। कुनै किसिमको लोभलालच नराखी इमान्दारीपूर्वक जनताको सेवा गरेकोले नै अहिले हामीले जनताको मत प्राप्त गर्न सकेका हौँ।

धेरैले जातीय भोट बैंक तपाईहरूको जीतको आधार भन्छन् नि?

हामी जातीय हिसाबमा कुरा गर्दैनौँ। हामी त वर्गीय हिसाबले हेर्छौँ। यसबाहेक हामीले निर्वाचनलाई अभियानको रुपमा लग्यौँ। एमसीसीका समर्थन गरेर हस्ताक्षर गर्ने दलका नेताहरूका विरुद्धमा जनतालाई सचेत बनायौँ। एमसीसीमा हस्ताक्षर गरेर देशलाई घात गर्नेहरूलाई जनताले पनि रुचाएनन्। त्यसैले भक्तपुरबासी दाजुभाइ, दिदीबहिनीले नेपाल मजदुर किसान पार्टीलाई मत दिनुभयो र हाम्रो जित भयो।

अरु पार्टीले भक्तपुरबासीको मन जित्न नसक्ने सँधै नेमकिपाले सक्ने किन हो?

हामीले जे भनेका छौँ, त्यो गरेका छौँ। अहिले जनताहरू सचेत छन् नि। अघिल्लो निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस लगायत अन्य पार्टीले यो गर्छु, त्यो गर्छु भनेर लामा घोषणापत्र पनि बनाए। जनताले विश्वास गरेर उनीहरूलाई मत पनि दिए। तर जितिसकेपछि उनीहरूले जनतालाई गरेका वाचा बिर्सिए। काम गर्नुपर्ने समया केही गरेनन् । यो सब जनताले त देखेका छन्। प्रतिबद्धता गरेअनुसार काम नगरेको, आफ्नो मत खेर गएपछि जनताले पनि त विश्वास गर्दैन।

घोषणापत्र जारी गरेपछि घोषणापत्रलाई नै बिर्सिने गरेपछि गाह्रो हुने हो। तर नेमकिपा त्यस्तो होइन । नेमकिपाले जे बोल्छ, त्यो काम गरेरै छाड्छ। गर्न नसक्ने काम गर्न सक्छु भनेर कहिल्यै बोल्दैन। जारी गरेको घोषणापत्रलाई अक्षरस पालना गर्छ। त्यो आधारमा पनि भक्तपुरबासीले यसपालि पनि नेमकिपालाई विश्वास गरेका हुन्।

त्यसो हो भने किन भक्तपुर भन्दा बाहिर किन तपाईंहरूको प्रभाव छैन ?

नेमकिपाले इमान्दारीपूर्वक काम गर्छौँ भनेर जनतासँग भोट पनि माग्यो, चन्दा पनि माग्यो। अरु पार्टीले निर्वाचन जित्न करोड–करोड रुपैयाँ खर्च गरेका छन्। अझै पनि सबै जनता त सचेत छैनन्। अरु पार्टीले धेरै खर्च गर्ने भएकोले ठूला राजनीतिक दलको पछाडि जनता लागेका छन्।

भक्तपुर बाहेक कालिकोट, दैलेखमा पनि नेमकिपाले जितेको छ। त्यहाँ पनि नेमकिपाका सदस्यलाई प्रभावमा पार्न नखोजेको होइन। तर नेमकिपाले त्यहाँ राम्रै काम गरेकोले त्यहाँका जनता प्रभावित भएनन्।

यसपटकको निर्वाचन त निर्वाचन जस्तै नै लागेन। खाली गठबन्धन भनेको छ, पैसा खर्च गरेको छ। मन्त्री, प्रधानमन्त्री भएका मानिस चुनाव प्रचारमा लागेका छन्। आचारसंहिता लाग्दैन । पुँजीवादी निर्वाचन प्रणालीमा पैसा, बल, प्रशासनको दुरुपयोग सबै कारणले निर्वाचनलाई प्रभावित पार्न खोज्ने मानिसहरू छन्।

अब पाँच वर्षमा भक्तपुरमा के–के गर्नुहुन्छ? तपाईको योजना र प्राथामिकता के के छन्?

हामीले घोषणापत्रमा लेखेका छौँ। ति घोषणापत्रमा उल्लेखित सबै काम गर्छाैँ। सरकारले ख्वप विश्वविद्यालयको स्वीकृति दियो भने उत्कृष्ट विश्वविद्यालयको रुपमा अगाडि बढाउँछौँ। त्यसअन्तर्गत मेडिकल कलेज सञ्चालन गरेर जनताका छोराछोरीलाई सस्तोमा डाक्टरका रुपमा उत्पादन गरिदिन्छौँ। स्वास्थ्य क्षेत्रमा अहिले हामीसँग २५ बेडको ख्वप अस्पताल मात्रै छ। त्यसको स्तरोन्नती गरेर १०० बेडमा पु¥याउँछौँ। सस्तोमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँछौँ। अहिले नै दैनिक सात सय बिरामी ख्वपः अस्पतालमा आउँछन्। धनी मानिसले पाउने सुविधा र गरीब मानिसले पाउने सुविधामा फरक आउँदैन। हामीले भोट माग्दा पनि यही प्रतिबद्धता गरेका हौँ।

भक्तपुर सांस्कृतिक रुपमा धनी छ। त्यसैले यहाँका कला संस्कृति जगेर्नाको लागि भक्तपुरलाई सांस्कृतिक नगरका रुपमा घोषणा गरी त्यही अनुरुप काम गर्छाैँ। यो काम गर्न प्रदेश सरकारको भूमिका हुन्छ । कानूनबमोजिम अनुमति दिन हामी प्रदेश सरकारलाई आग्रह गर्छाैँ। हामीसँग जे अधिकार छ, त्यो अहिले पनि प्रयोग गरिरहेका छौँ। आगामि पाँच वर्षभित्र हामी यस्ता कामहरू अगाडि बढाउँछौँ।

अघिल्लो कार्यकालमा पनि संघीय र प्रदेश सरकारले तपाईंहरूलाई काम गर्न नदिनुभएको गुनासो थियो तपाईंहरूको। अब पनि तपाईंलाई काम गर्नको लागि त्यस्तै अवरोध सिर्जना भयो भने के गर्नुहुन्छ?

त्यो त स्पष्टै छ नि । हामीले २०४०/२०४१ सालदेखि सञ्चालन गर्दै आइरहेको नर्सिङ कलेजलाई यो वर्ष माओवादीको शिक्षामन्त्रीज्यूले रोक्नुभयो। हामीले जनतालाई आत्मनिर्भर बनाउनुपर्छ, जनताको सहभागितामा विकास निर्माण गर्नुपर्छ भनेर उपभोक्ता समितिमार्फत् गर्दै आएको काममा अहिलेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पत्र नै पठाएर रोक्न खोज्नुभयो। यस्ता खालका काम गरिरहनुभएको छ।

हामी कानूनभित्रै बस्छौँ । कानूनभित्रै बसेर काम गर्छाैँ। तर सिंहदरबार र प्रदेश सरकारले नरोकेको खण्डमा हामी धेरै अगाडि बढ्न सक्छौँ।

नारायणमान बिजुक्छेँको प्रभाव रहेसम्म नेमकिपाको पनि प्रभाव भक्तपुरमा रहन्छ, बिजुक्छेँको अधिनायकत्व चल्छ भक्तपुरमा भन्छन् नि?

त्यो त भन्नेहरूलाई नै थाहा होला। काम त हामी युवापुस्ताले नै गरिरहेका हुन्छौँ। नयाँ पुस्ताका धेरै साथीहरू त्यसरी नै माथि आउनुभइरहेको छ। भन्नेहरूले कुन रुपमा भने सबैमा हामीले टीकाटिप्पणी गरिरहनु आवश्यक हुँदैन।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved