मनाङमा हेलिकोप्टरबाट ल्याइयो नौ हजार थान मतपत्र

नेपालभ्युज

मनाङमा हेलिकोप्टरबाट ल्याइयो नौ हजार थान मतपत्र

मनाङ। हिमालपारिको जिल्ला मनाङमा मतपत्र ल्याइएको छ। हिमाली जिल्ला मनाङमा हेलिकोप्टरबाट नेपाली सेनाले मतपत्र ढुवानी गरेको हो। जिल्लामा नेपाली सेनाले नौ हजार थान मतपत्र ल्याएको बताइएको छ। ती मतपत्र जिल्ला सदरमुकाम चामेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षितरूपमा राखिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

सुरक्षा संवेदनशीलताका आधारमा आयोगले हेलिकोप्टरको प्रयोग गरी मतपत्र जिल्लामा पठाएको जनाएको छ। निर्वाचन आयोगले हिमाली र बिकट जिल्लाहरूमा मतपत्र ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरेको छ।

निर्वाचनका लागि जिल्लामा २८ वटा मतदानस्थललाई नै मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङका निर्वाचन अधिकृत पुष्पराज शर्माले बताए। जिल्ला अदालतका न्यायाधीश पुनाराम खनाल जिल्लाको मुख्य निर्वाचन अधिकृत छन्।

निष्पक्ष, स्वतन्त्र र भयरहित तरिकाले निर्वाचन सम्पन्न गराइने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए। निर्वाचनमा सहभागी सबैको सुरक्षाको प्रत्याभूति हुने गरी जिल्लामा सुरक्षा योजना बनाएको उनले बताए। जिल्लामा कूल मतदाता छ हजार ४९६ जना छन्। तीमध्ये तीन हजार ३४८ महिला र तीन हजार १४८ पुरुष मतदाता छन्।

यस्तै जिल्लामा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन्। जिल्लामा रहेका चार गाउँपालिकामा आइतबार र सोमबार कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। जिल्लाको ङिस्याङ गाउँपालिकामा ७३, चामे गाउँपालिकामा ४२, नासोँ गाउँपालिकामा ६८, नार्पाभूमि गाउँपालिकामा २७ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले जानकारी दिए।

यस्तै चार गाउँपालिका अध्यक्ष पदका लागि नौ र उपाध्यक्षमा आड जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन कार्यालय मनाङका अनुसार जिल्लामा वडाध्यक्ष पदका लागि ४८, महिला वडा सदस्यमा ४१, दलित सदस्यमा २२ र खुला सदस्यमा ८२ जनाले उम्मेदवारी मनोनयन गराएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved