काठमाडौं । स्थानीय निर्वाचनमा विराटनगर महानगरपालिकाको उपप्रमुख पदकी उम्मेदवारी दिएकी शिल्पा निरौला (कार्की)ले उजुरी परेपछि पदबाट राजीनामा दिएकी छन्। उनी कोशी अस्पताल सञ्चालक समितिबाट राजीनामा दिएकी हुन्।
अस्पताल सञ्चालक समितिबाट राजीनामा नदिई उम्मेदवार बनेको उनीमाथि उजुरी परेको थियो। सत्तारूढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उनले अस्पतालमा राजीनामा बुझाएकी हुन्।
सोमबार महानगरको उपप्रमुख पदमा मनोनयन दर्ता गराएकी उनीविरुद्ध मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो।
जनता समाजवादी पार्टी महानगर कमिटीका अध्यक्ष अमरेन्द्र यादवले कार्कीविरुद्ध उजुरी हालेका हुन्। उनीमाथि विराटनगरस्थित कोशी अस्पतालको अस्पताल विकास समितिमा रही कार्य सम्पादन गर्दै आएको आरोप थियो।
विराटनगररस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीबारे पुष्टि गरेको छ। उजुरीमा भनिएको छ, ‘विराटनगरस्थित कोशी अस्पतालको विकास समितिको सदस्य कायम रहँदा रहँदै महानगरको उपमेयरमा उम्मेदवारी दर्ता गरेको हुनाले उम्मेदवारी खारेजीको माग गर्दछु।’
विराटनगर महानगरपालिकामा उपप्रमुखमा उम्मेदवारी दिएकी कार्कीविरुद्ध उजुरी
Facebook Comment
Comment