टाइफाइड खोपको शुरुआत गर्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र

नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक हुने छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल सहित टाइफाइड प्रभावित देशका लागि खोप लगाउन सिफारिस गरेको हो ।

नेपालभ्युज

टाइफाइड खोपको शुरुआत गर्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र

काठमाडौं। सरकारले चैत्र २५ गते देखि वैशाख १८ गतेसम्म देशभरका झन्डै ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगतको परिवार कल्याण महाशाखाले २२ चैत्रमा पत्रकार सम्मेलन गरी आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म अर्थात् २४ दिनासम्म खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।
त्यसपछि १५ महिनाका बालबालिकाका लागि नियमित रूपमा प्रयोग गरिने छ।

२४ दिने राष्ट्रव्यापी अभियानको अवधिमा सरकारले १५ महिनादेखि १५ वर्ष मुनिका झन्डै ७५ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको महाशाखा प्रमुख सागर दाहालले जानकारी दिए।

दाहालका अनुसार देशभरका ५६ हजार ४२९ वटा खोप केन्द्रबाट खोप लगाउन लागिएको छ, स्थानीय तहको प्रत्येक वडा, विद्यालयहरू र विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकता अनुसार बाह्य खोप केन्द्र सञ्चालन हुनेछ। अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा सञ्चालन गरिनेछ।

खोप दिनका लागि १० हजार स्वास्थ्यकर्मी छुटाइएको छ। १ लाख १२ हजार ८५८ जना स्वयंसेवक तोकिएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार विगत पाँच वर्षको तथ्याङ्कमा नेपालमा औसत ४ लाख ५० हजार जना भन्दा बढीमा टाइफाइड रोग सङ्क्रमण पुष्टि भएको पाइएको छ र ३ वर्षमा पानी तथा खाना जन्य सङ्क्रामक रोगहरू मध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरू मध्ये टाइफाइड चौथो कारण सरहेको देखिएको छ। यो रोग सङ्क्रमण सबै उमेर समूहमा भए पनि सबै भन्दा बढी १५ वर्ष मुनीका बालबालिकामा देखिएको महाखाशाले जनाएको छ।

‘ग्लोबल बर्डन अफ डिजीज एनेलाइसीस’ २०१९ अनुसार नेपालमा ८२ हजार ४४९ जनामा टाइफाइडका बिरामीहरू रहेको अनुमान गरेको छ जुनमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेरका बालबालिकाहरू रहेका थिए। त्यस्तै हालसालैको तथ्याङ्कले औषधि प्रतिरोधी टाइफाइड वृद्धि भएको पनि देखाउँदैन।

नेपाल दक्षिण एसियामा टाइफाइड विरुद्धको खोप लगाउने पहिलो मुलुक हुने छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाल सहित टाइफाइड प्रभावित देशका लागि खोप लगाउन सिफारिस गरेको हो ।

टाइफाइड खोपबाट यो रोगको सङ्क्रमणमा उल्लेखनीय रूपमा कमी ल्याउन सकिने पुष्टि गरेकोले राष्ट्रिय खोप सल्लाहकार समितिबाट १४ अगस्ट, २०२० मा टाइफाइड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको थियो।

गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल) ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको महाशाखा प्रमुख दाहालले बताए। ‘‘टाइफाइड साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो। ढल वा सङ्क्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ,’’ उनले भने, ‘‘ यो रोग लागेका उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुने जस्ता लक्षण देखिने गर्दछ।’’

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले सरसफाइ र खोप अभियानबाट टाइफाइडलाई रोकथाम गरिने बताए। नेपालमा एक अध्ययन अनुसार प्रति एक लाखमा एक हजार ६२ जनामा टाइफाइड भएको देखिएको उनले बताए।

निर्देशक डा.लालका अनुसार खोप विभिन्न देशमा विगत एक दशक देखि क्लिनिकल ट्रायल पछि नेपालमा प्रयोग गर्न थालिएकोले यसको प्रभावकारिता ८५ प्रतिशत रहेको छ। “खोपको एक मात्रा लगाएपछि पुग्ने र अर्को मात्रा लगाउन पर्दैन” उनले भने, “नेपालमा बालबालिकालाई दिन थालिएको टाइफाइड कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको र विश्वको धेरै देशमा प्रयोग भइसकेको खोप हो । खोप सुरक्षित र प्रभावकारी रहेको छ।”

खोप लगाइसकेपछि खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता समस्या देखिन सक्ने महाशाखा प्रमुख दाहालले बताए। विभागले अभिभावकलाई ढुक्क भएर आफ्नो नजिकको खोप केन्द्रमा गई खोप लगाउन आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved