जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउनु आवश्यक रहेको बताएका छन्।
प्रदेशसभाको आज बसेको बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले महिलालाई सक्षम र योग्य नबनाएसम्म प्रदेश र समाज समृद्ध बन्न नसक्ने बताए।
समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आइनसकेकाले महिलालाई सक्षम, सबल र योग्य बनाउन सरकारले हरेक निकायमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गर्दै उनले प्रदेश सरकार स्थापना भएदेखि महिलाको समान सहभागिताको सवालमा गम्भीरतापूर्वक कार्य गर्दै आएको दाबी गरे।
“छोरी जन्मिएपछि आमाबुबा दुःखी हुने र छोरा जन्मिएपछि खुसी मनाउने परिपाटी देखिएको छ”, मुख्यमन्त्री राउतले भने, “समाजमा छोरीलाई हेरिने दृष्टिकोण परिवर्तन ल्याउन र छोरीलाई पनि छोरासरह सक्षम बनाउन छोरी बीमा कार्यक्रम, साइकल वितरण, लोकसेवा कक्षा सञ्चालनलगायत कार्य गर्दै आएको छ।” प्रदेशको आठवटै जिल्लाका आठ हजार छोरीलाई ल्यापटप वितरण गर्ने योजना ल्याएको मुख्यमन्त्री राउतको भनाइ थियो।
छोरीप्रतिको सामाजिक धारणामा परिवर्तन ल्याउन र छोरीलाई पनि सक्षम बनाउन सरकारले विधेयक ल्याएको उल्लेख गर्दै उनले विधेयक पारित गर्न आग्रहसमेत गरे।
आज बसेको बैठकमा प्रदेश सरकारले अघिल्लो बैठकमा प्रस्तुत गरेको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ को प्रतिस्थापन गर्न बनेको विधेयक तथा प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रतिस्थापन गर्न बनेको विधेयक र खोप सेवा सञ्चालन व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। प्रदेशसभाको अर्को बैठक चैत २५ गते दिउँसो १ बजे बस्ने जनाएको छ।
Facebook Comment
Comment