महिलामा ३५ नाघेपछि हुने हाडको समस्याबाट कसरी बच्ने?

नेपालभ्युज

महिलामा ३५ नाघेपछि हुने हाडको समस्याबाट कसरी बच्ने?

काठमाडौं। प्रजनन उमेरका महिलाको शरीरमा भएका विशेष हर्मोनले प्राकृतिक रूपमा धेरै समस्याबाट बचाएको हुन्छ।

तीमध्ये मुटुरोग र हाडको समस्या प्रमुख हुन्। महिलाको उमेर ३५ वर्ष कटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै जान्छ। शरीरमा हर्मोनको मात्रा कम हुँदै गएपछि हाडहरूको घनत्व पनि कम हुँदै जान्छ। यस्तो अवस्थामा बाहिरबाट हेर्दा खासै समस्या देखिँदैन। तर ४५ देखि ५० वर्षकी महिलाको शरीरमा हाडको घनत्व कम हुने हुँदा सानो ठक्कर लाग्दा पनि हाड भाँचिन सक्ने सम्भावना बढी हुन्छ।

हाडको घनत्व कम हुँदै गएर हुने समस्यालाई अस्टिओपोरोसिस भनिन्छ। यो रोग लागेका बेला नाडी, पुठ्ठा र मेरूदण्डका हाड भाँचिने सम्भावना बढी हुन्छ। हाड भाँचिने समस्याबाहेक अस्टिओपोरोसिस भए शरीर कुप्रो हुँदै जान्छ। दैनिक क्रियाकलाप गर्नसमेत गाह्रो हुन सक्छ।

नदेखिनेगरी हाडको घनत्व कम हुँदै हाड कमजोर हुने तथा रोग लागेको लामो समयसम्म थाहा नहुने भएकाले यसलाई मौन रोग (साइलेण्ट डिजिज) पनि भनिन्छ। कतै लडेर हाड भाँचिएपछि वा अरु नै कुनै कारणले एक्सरे गराउँदा मात्र यो रोग लागेको थाहा हुन्छ। यसबाट बच्न निम्न उपायहरू अपनाउन सकिन्छः-

चाउचाउ, चीजबल जस्ता तयारी खाद्यपदार्थ तथा चिसो पेयपदार्थहरूको कम प्रयोग गर्नुपर्छ।

गर्भवती र स्तनपान गराउने महिलाको भोजनमा लौहतत्व र क्याल्सियमको समावेश गर्नुपर्छ। चाकु, सक्खर आदि भोजन क्याल्सियम र लौहतत्व प्रशस्त मात्रामा पाइन्छ। अण्डा लौहतत्वको राम्रो स्रोत हो।

शाकाहारी व्यक्तिले दूध र दही, भटमास, बदाम र राजमा आदिबाट पर्याप्त मात्रामा क्याल्सियम पाउन सक्छन्।

दैनिक ३ सय ५० युनिट भिटामिन डी जरुरत पर्छ। जुन हामी सहजैसँग दिनको १५–२० मिनेट घाममा बसेर प्राप्त गर्न सक्छौं। घाममा बस्दा सूर्यको किरणले नांगो छालामा छोएको हुनुपर्छ। सूर्यको किरणबाट शरीरलाई प्राप्त हुने भिटामिन डीले क्याल्सियम शोषण गर्नमा मद्दत गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved