वीरगञ्ज। भारतको बिहार र मधेश प्रदेशबीच आपसी पर्यटन प्रवद्धन वारेमा छलफल भएको छ।
वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासले मंगलबार वीरगञ्जमा गरेको छलफलमा नेपालको मधेश प्रदेश र भारतको बिहार प्रदेशकोबीच सम्भाव्य रहेको पर्यटन प्रवर्द्धन वारेमा छलफल भएको छ।
भारत सरकारले मनाईरहेका आजादी का अमृत महोत्सव कार्यक्रमअन्तर्गत, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासद्वारा आयोजित कार्यक्रममा द्विपक्षीय पर्यटन प्रवर्द्धन गरी दुवैतर्फका पर्यटकले भोग्नुपरेका कठिनाइहरू र तीनको सम्भावित समाधानका उपायबारे छलफल भएका थिए।
कार्यक्रम सरकारी तथा निजी निकायहरूबीचको सम्पर्क कायम गर्ने उद्देश्यले आयोजना गरिएको महावाणिज्यदूतावासले जनाएको छ।
कार्यक्रममा मधेश प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघ्न महतो सहित पर्साका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी र एनआइडी पर्साका प्रमुखहरू सहभागी थिए भने भारतको तर्फवाट पूर्वी चम्पारणका जिल्ला अधिकारी, पश्चिम चम्पारणका अतिरिक्त जिल्ला मजिस्ट्रेट सहभागी थिए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत, पर्सा राष्ट्रिय निकुञ्जका प्रतिनिधि, होटल तथा टुर अपरेटरका प्रतिनिधिहरु पनि कार्यक्रममा सहभागी भएका थिए।
छलफलमा भारत र नेपालका तर्फबाट सहभागीहरुले आ-आफ्ना धारणा राखेका थिए।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र वाल्मीकि टाइगर रिजर्भको सम्बन्धलाई विस्तृत जानकारी दिइएको थियो भने भारत र नेपालका पर्यटकीय गन्तव्य रामायण, बुद्ध र जैन सर्किटबारे छलफल भएको थियो।
मधेश प्रदेश र बिहारको पूर्वी र पश्चिम चम्पारण जिल्लामा पर्यटकीय गन्तव्य प्रवर्द्धनमा ध्यान केन्द्रित गरेर पर्यटन रणनीति बनाउन पनि कार्यक्रममा कुरा उठेको थियो।
वक्ताहरुले सीमामा हेल्प डेस्क स्थापना गर्नुपर्ने, नेपालमा भारतीय सवारीसाधनबाट असुली हुने सडक कर र अन्य कर असुलीमा सुधार हुनुपर्ने लगायतका बिषयहरु उठाएका थिए।
Facebook Comment
Comment