हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा ६ गौरीटारमा निर्माणाधीन बहुप्राविधिक विश्वविद्यालयको भवन निर्माणमा ढिलाइ हुँदा विद्यार्थीहरू समस्यामा परेका छन्। तोकिएको समयमा भवन निर्माण नहुँदा अध्ययनका लागि आएका विद्यार्थीहरू फर्कन थालेका छन्।
सम्झौता अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गरिनुपर्ने थियो। तर अहिलेसम्म करिब ५० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको बताइएको छ। विगत २२ वर्षदेखि निर्माण हुने भनिएको बहुप्राविधिक विश्वविद्यालयको शिलान्यास तीन वर्षअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए।
दुई वर्षमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नुपर्ने भए पनि कोरोनाको बहाना बनाउँदै काममा ढिलासुस्ती भएको हो। २२ वर्ष अघिदेखि विद्यालय निर्माणको लागि योजना बनाए पनि काम शुरु हुन सकेको थिएन। तीन वर्षअघि तत्कालीन मुख्यमन्त्री पौडेलको सक्रियतामा काम शुरु भएपनि द्रुत गतिमा अगाडि बढ्न नसकेको हो।
विद्यालय भवन समयमा नै बन्ने भन्दै सरकारले तीन वर्ष अघिदेखि केही विषयमा पठन पाठन समेत शुरु गरिसकेको छ। तर समयमा भवन नबन्दा विद्यार्थीको भर्ना दरमा कमी आएको विद्यालयका शिक्षक (प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीका प्रशिक्षक) अमित ठाकुरले बताए।
निर्माणधीन विद्यालयमै पठनपाठन हुने गरेको छ। संरचना निर्माणको काम भइरहेकाले मेसिनरी सामानको चर्को आवाजकै बीच पठनपाठन गर्नुपर्ने अवस्था छ। तीन वर्ष अघि शुरु भएको प्राविधिक विद्यालयको पठनपाठनका लागि पहिलो वर्ष १८ जना विद्यार्थी भर्ना भएका थिए भने दोश्रो वर्ष ३७ जना विद्यार्थी भर्ना भए पनि ३ जनाले पढाइ छाडेका छन्।
यसैबीच चालु वर्षमा जम्मा १८ जना विद्यार्थी भर्ना भएका छन्। विद्यार्थीहरू पढ्नकोलागि भनेर आउने गरेको तर पढ्ने ठाउँको वातारवण ठीक नभएको भन्दै फर्कनेको सङख्या धेरै रहेको ठाकुरले बताए। ‘विद्यार्थीहरू भर्नाका लागि आउँछन् तर यहाँको भवन देखेपछि यस्तोमा त पढ्न सकिँदैन भन्दै फर्कन्छन्,” उनले भने, “हामीलाई एउटा मात्र भवन भने पनि समयमा नै बनाएर दिए सहज हुने थियो।”
अहिले विद्यालयमा रुकुम, गुल्मी, सप्तरी, सुर्खेत, सिरहालगायत जिल्लाका विद्यार्थीले अध्ययन गरिरहेका छन्। केही समय अघिसम्म अर्को विद्यालयको भवन भाडामा लिएर पठनपाठन हुँदै आएको भए पनि पछिल्लो समय निर्माणाधीन विद्यालयमा नै पठनपाठन गराउनु पर्ने बाध्यता रहेको ठाकुरको भनाइ छ।
सरकारको प्रत्येक वर्ष २ हजार ५ सय जना दक्ष जनशक्ति यस महाविद्यालयबाट उत्पादन गर्ने लक्ष्य छ। भारत सरकारको ५८ करोड ४४ लाखको लागतमा निर्माण शुरु भएको विश्वविद्यालयको तीन वर्षसम्म करिब ५० प्रतिशत मात्र काम भएको हो।

हेटौंडा ६ सल्लाघारीमा रहेको २६ विगाहा क्षेत्रफलमा विद्यालय बन्न लागेको हो। निर्माणको लागि चित्रेपानी सामुदायिक वनमा रहेको २ हजार ३ सय वटा रूखसमेत कटान गरिएको थियो। ४ फागुन २०६६ मा तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशबीच मित्रताको प्रतीकका रूपमा भारतीय लगानीमा हेटौंडामा बहुप्राविधिक महाविद्यालय स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो।
महाविद्यालयमा सुविधासम्पन्न भवनहरू, खेलमैदान, शैक्षिक कक्षाहरू, वर्कशपजस्ता कक्षहरूसहित आवासीय भवनहरू समेत निर्माण भइरहेको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीईभीटीका प्रशिक्षक ठाकुरले बताए।
नेपालमा यस्ता विद्यालय बालाजु, बुटवल, नेपालगञ्ज, विराटनगर र हेटौंडामा गरी जम्मा ५ वटा मात्र रहेका छन्। हटौंडामा निर्माण भइरहेको यो विद्यालयलाई प्राविधिक शिक्षातर्फको महत्वपूर्ण योजनाको रुपमा लिएको प्रदेश सरकारले बताएको छ। विद्यालय बनिसकेपछि २२ देखि २४ वटा संकायको पढाइ हुने बताइएको छ। संरचना बनिसकेपछि नेपालका मात्र नभएर अन्य देशबाट समेत विद्यार्थीहरू यहाँ पढ्न आउने प्रदेश सरकारको दाबी छ। यद्यपि प्रदेश सरकारले निगरानी नराख्दा निर्माण कार्य ढिला भई आफूहरूलाई समस्या भएको विद्यार्थीहरूले बताएका छन्।
तीन वर्षअघि भवनको शिल्यान्यास गर्दै बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले प्राविधिक शिक्षालाई जोड दिएको बताएका थिए।
२२ वर्षदेखि निर्माण हुने भनिएको बहुप्राविधिक विश्वविद्यालयको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेशका सबैलाई प्राविधिक क्षेत्रमा दक्ष बनाई जनशक्ति उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताएका थिए।
महाविद्यालयको निर्माणपछि देशलाई आवश्यक हरेक क्षेत्रका दक्ष जनशक्ति स्वदेशमा नै उत्पादन हुने भन्दै उनले दुई वर्षमा नै निर्माण पूरा गरेर हस्तान्तरण गर्ने दाबी गरेका थिए। निर्माणको क्रममा कुनै पनि किसिमको बाधा व्यवधान गर्नेलाई तुरुन्तै कारबाही दायरामा ल्याउने र आफ्नै निगरानीमा काम सम्पन्न गराउने मुख्यमन्त्री पौडेलले प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। तर सरकार परिवर्तनसँगै यसको चर्चा पनि कम हुन थालेको छ।
Facebook Comment
Comment