काठमाडौं । इंग्लिस फुटबल क्लब लिभरपुलले कार दुर्घटनामा परी ज्यान गुमाएका आफ्ना स्टार फरवार्ड डियोगो जोटाको सम्मानमा उनले लगाउने नम्बर २० जर्सीलाई अवकाश दिने घोषणा गरेको छ।
२८ वर्षीय जोटा र उनका २६ वर्षीय भाइको स्पेनमा बिहीवार भएको कार दुर्घटनामा निधन भएको थियो ।
क्लबले जारी गरेको वक्तव्यमा भनिएको छ, “२०२४–२५ को प्रिमियर लिग उपाधि जित्ने लिभरपुल टोलीको महत्वपूर्ण सदस्यका रूपमा उनको योगदान अविस्मरणीय छ। अप्रिलमा भएको मर्सीसाइड डार्बीमा उनले कोप एन्डतर्फ गरेको गोल जीवनको अन्तिम गोल बन्यो। उनीप्रतिको श्रद्धाञ्जलीस्वरूप नम्बर २० जर्सी अमर बनाइनेछ।”
पोर्चुगलको पोर्टोमा जन्मिएका जोटाले आफ्नो फुटबल यात्रा पासोस डे फेरेराको युवा टोलीबाट सुरु गरेका थिए। त्यसपछि उनी सन् २०१६ मा एट्लेटिको मड्रिड पुगेका थिए ।
पोर्टोमा लोनमा खेले र वुल्भ्समार्फत प्रिमियर लिगको अनुभव बटुलेपछि उनले सन् २०२० मा लिभरपुलमा प्रवेश पाए। लिभरपुलमा रहँदा उनले एफए कप, लिग कप जित्नुका साथै नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा २०२४–२५ मा प्रिमियर लिग उपाधि पनि जिते।
राष्ट्रिय टोली पोर्चुगलका लागि पनि उनी उल्लेखनीय खेलाडी बने । जोटा सन् २०१९ र २०२५ मा पोर्चुगलले जितेको युइएफए नेशन्स लिगको टोलीका सदस्य थिए।
लिभरपुलले अहिलेसम्म कुनै पनि खेलाडीको सम्झनामा जर्सी नम्बर रिटायर दिएको थिएन ।
Facebook Comment
Comment