किन रोकियो धुलिखेल–साँगा सडकखण्ड विस्तार काम ?

नेपालभ्युज

किन रोकियो धुलिखेल–साँगा सडकखण्ड विस्तार काम ?

काठमाडौं । स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सुचारु हुने आयोजनाले जनाएको छ ।

उक्त सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । उक्त क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तारकार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिएपनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन ।

सबै सामग्री तयारी अवस्थामा रहेपनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए ।

खनालका अनुसार सडक बिस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा विजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो । बनेपा शहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको डल निर्माणकार्य भइरहेपनि बर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ ।

तस्वीरमा हेरौं, निर्माणाधीन साँगा-धुलिखेल–खावा सडक

पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अबरोध जनाएपछि चार महिनादेखि बिस्तारकार्यनै रोकिएको थियो । सेन्टर लाइनबाट दायाँबायाँ ७५/७५ फिट (एक सय ५० फिट)मध्ये पनि एक सय ४० फिटमा काम भइरहेकोमा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माणकार्य अवरुद्ध पारेका हुन् ।

सडकको डिजाइन अनुसारनै सडकको बीचबाट बराबर छुट्याउने भएकाले स्थानीयले घरको दुरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माण कार्य रोकिएको खनालले बताए । उनका अनुसार पटकपटक गरिएको सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल बिस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ । पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य शहर क्षेत्रमासमेत निर्माण कार्य रोकिँदै आएको थियो ।

तस्वीरमा हेर्नुहोस्, हिलाम्मे सूर्यविनायक-धुलिखेल सडकखण्ड

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved