जनकपुरधाम । महोत्तरीको गौशाला नगरपालिकामा मरहा खोलामा क्रसर उद्योगले खनेको खाल्डोको पानीमा डुबेर एक बालिकको मृत्यु भएको छ ।
गौशाला नगरपालिका १० स्थित मरहा नदी किनारमा खाल्डोमा नुहाउने क्रममा एक ११ वर्षीया बालिकाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृत्यु हुनेमा गौशाला नगरपालिका–१० स्थित जलिल टोल बस्ने दिनेश मण्डलकी ११ वर्षीया छोरी करिणा कुमारी मण्डल रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक उत्तमसिंह भण्डारीले जानकारी दिए ।
बालिका कालिबनी गिट्टी बालुवा प्रशोधन केन्द्रनजिक रहेको मरहा नदी किनारमा नुहाउन गएकी थिइन् ।
सो ठाउँमा क्रसर उद्योगले उत्खनन गरेर छाडेको खाल्डोमा वर्षाको पानी जमेको थियो । नुहाउने क्रममा बालिकाको त्यही खाल्डोमा डुबेकी हुन् । डुबेर गम्भीर अवस्थामा भेटिएपछि बालिकालाई स्थानीयले उद्धार गरेर तत्काल गौशाला प्राथमिक स्वास्थ्य केन्द्र पुर्याका थिए । चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार मृत बालिकाको शव पोस्टमार्टमका लागि बर्दिबास अस्पताल पठाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
Facebook Comment
Comment