काठमाडौं । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले जारी गरेको गिरफ्तारी वारेन्टका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आगामी साता ब्राजिलमा हुन लागेको ब्रिक्स सम्मेलनमा प्रत्यक्ष सहभागी नहुने भएका छन् ।
क्रेमलिनका विदेश नीति सल्लाहकार युरी उशाकोभका अनुसार पुटिनले आगामी जुलाई ६ र ७ मा ब्राजिलमा आयोजना हुने ब्रिक्स सम्मेलनमा भिडिओमार्फत मात्र सहभागी हुनेछन् ।
सन् २०२३ मा आईसीसीले युक्रेनमाथि भएको रुसी आक्रमणको एक वर्षपछि पुटिनविरुद्ध युद्ध अपराधको अभियोगमा गिरफ्तारी वारेन्ट जारी गरेको थियो । पुटिनमाथि युक्रेनबाट सयौं बालबालिका जबरजस्ती रूस लैजाने आरोप लागेको थियो ।
तर, रूसले उक्त आरोप अस्वीकार गर्दै आएको छ भने क्रेमलिनले आईसीसीको वारेन्टलाई ‘अवैधानिक र अमान्य’ ठहर गर्दै आएको छ । वारेन्टका कारण पुटिनले आईसीसी सन्धिमा हस्ताक्षर गरेका मुलुकहरूको भ्रमण गर्दा पक्राउ पर्ने जोखिमको मूल्याङ्कन गर्नुपर्ने बाध्यता देखिएको छ ।
यसअघि पनि सन् २०२३ मा पुटिनले दक्षिण अफ्रिकामा भएको ब्रिक्स सम्मेलनमा भाग लिनुका सट्टा प्रतिनिधि पठाएका थिए । तर, सोही वर्ष उनले आईसीसीको सदस्य मुलुक मङ्गोलियामा भने विशेष स्वागतका साथ भ्रमण गरेका थिए ।
उशाकोभका अनुसार ब्राजिल सरकारले आईसीसीको मागको सन्दर्भमा स्पष्ट सुरक्षा ग्यारेन्टी दिन नसकेको हुँदा पुटिनले प्रत्यक्ष सहभागिता टार्नुपर्ने अवस्था आएको हो । रूसको तर्फबाट सम्मेलनमा विदेश मन्त्री सर्गेइ लाभरोभ सहभागी हुनेछन् ।
यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनफिङले समेत ब्राजिल सम्मेलनमा भाग नलिने भएका छन् ।
Facebook Comment
Comment