काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले बहादुरीका साथ लडेको बताएका छन्। बुधबार नेदरल्याण्ड्समा भएको नाटो सम्मेलनमा उनले इरानको प्रशंशा गर्दै बहादुरीका साथ लडेको बताएको बीबीसी हिन्दीले जनाएको छ ।
ट्रम्पले इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाउने सम्भावनाबारे समेत विचार गरिरहेको सङ्केत गरेका छन्। इरानमाथिका प्रतिबन्ध हटाउनेबारे सोधिएको प्रश्नको जवाफमा उनले भने, ” इरानीहरुले भर्खरै युद्धको सामना गरेका छन् र उनीहरू बहादुरीका साथ लडेका छन्।”
ट्रम्पले इरान तेलको व्यापार गरिरहेकोले आफूले चाहे त्यसलाई रोक्न सक्ने भए पनि त्यसो नगर्ने बताए । उनले इरानले आफ्नो तेल बेच्न पाउनुपर्ने धारणा राख्दै भने, “यदि उनीहरू तेल बेच्न चाहन्छन् भने, उनीहरूले तेल बेच्न सक्छन्। उनीहरूलाई देशलाई फेरि उभ्याउन पैसा चाहिन्छ।”
ट्रम्पले चीनले पनि इरानबाट तेल किन्न सक्ने बताए। उनले थपे, ‘यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने त्यसमा मलाई कुनै आपत्ति छैन।’
उनले इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुन सक्ने सम्भावना पनि व्यक्त गरे। “हामी कुनै सम्झौता गर्न सक्छौं। मलाई अहिले थाहा छैन। यो आवश्यक पनि छैन,” उनले भने, “उनीहरूले भर्खरै युद्ध लडेका छन् र उनीहरू आफ्नो संसारमा फर्किएका छन्।”
ट्रम्पले इरानसँग आणविक हतियार हुन नहुने आफ्नो अडान दोहोर्याउँदै भने, “मैले भनेको थिएँ इरानसँग आणविक हतियार हुन सक्दैन। यी नष्ट भइसकेका छन्। हामीले यिनलाई नष्ट गरिदिएका छौं।”
Facebook Comment
Comment