नेपाली ऊनी उत्पादनलाई विश्वमा चिनाउने कास्टिलो काश्मिरी (भिडिओसहित)

कास्टिलो काश्मिरीको २५ लाखदेखि १० करोडसम्मको यात्रा

नेपाली ऊनी उत्पादनलाई विश्वमा चिनाउने कास्टिलो काश्मिरी (भिडिओसहित)

काठमाडौं । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भू र्मा ते सङ्गोऽस्त्वकर्मणि ।।

अर्थात् तपाईंलाई आफ्नो निर्धारित कर्म गर्ने अधिकार छ, तर त्यस कर्मको फलमाथि अधिकार छैन । त्यसैले आफैँलाई आफ्नो कर्मको फलको कारण नठान्नुस् र अकर्मण्यताप्रति पनि आसक्त नभएर बस्नुस् ।

यो भगवद् गीताको दोस्रो अध्यायको ४७औं स्लोक हो । यसै स्लोकमा आधारित भई कास्टिलो काश्मिरी ग्रुप अफ इन्डिस्ट्रिज (Castello Cashmere Group of Industries) ले आफ्नो उत्पादन अघि बढाएको छ ।

नेपाली ब्रान्डलाई विश्वमा स्थापित गर्न अगाडि बढिरहेको कास्टिलो काश्मिरीको सबै उत्पादन आध्यात्मिक भएको संस्थापक प्रकाश बोलाखे बताउँछन् । यो उद्योगले ऊनी र पस्मिना सामग्रीहरू उत्पादन तथा वितरण गर्छ ।

कास्टिलोले वस्तु मात्र नभई विचार बेचिरहेको बोलाखेले बताए । आफ्नो उद्योगले उत्पादन गरेका वस्तुले वातवारणमा र समाजमा कुनै नकारात्मक असर नपर्ने उनको दाबी छ ।

मासुजन्य उत्पादनका लागि मात्र प्रयोग हुँदै आएका चङ्याग्रा, याकजस्ता जनावरको रौँबाट गरिएको उत्पादनले दीर्घकालीन फेशनका रूप ग्रहण गरेको उनले बताए । कास्टिलोले ‘ह्वाई लोमन्थाङ काश्मिरी इज स्प्रिचुअल प्रोडक्ट?’ भनेर ५ दिनको कोर्स पनि लन्च गरेको छ ।

कसरी जन्म भयो कास्टिलो काश्मिरी ?

बाल्यकालदेखि नै हजुरबुवाले गर्ने हस्तकलाको काम हेर्दै हुर्केका बोलाखेको मस्तिष्कमा एउटा गहिरो छाप छाडेको थियो । त्यसपछि बुवाले पस्मिनाको क्षेत्रमा गोल्यान ग्रुपमा रहेर काम गरेकाले उनी पस्मिनासँग थप नजिकिए ।

सन् २००९ मा आफ्नो सुरुवाती दिनमा प्रकाशले गोल्यान ग्रुपमा नै काम गर्ने अवसर पाए । गोल्यान ग्रुपमा काम गर्दा उनले आयात, निर्यात, उत्पादन र अपरेसनबारे बुझ्न र सिक्न पाए ।

यसपछि उनले २ वर्ष साङ्ग्रीला निट भन्ने कम्पनीमा जनरल म्यानेजर भएर काम गरे । थप २ वर्ष उनले हिमाली पस्मिना उद्योगमा काम गरे । करिब ५–साढे पाँच वर्ष विभिन्न उद्योगमा अनुभव बटुली सकेपछि सन् २०१५ मा कास्टिलो काश्मिरीको जन्म भयो ।

कास्टिल्लो काश्मिरीबारे बताउँदै संस्थापक प्रकाश बोलाखे 

सुरुवाती दिनमा अन्य कम्पनीको अनुभव सम्झिन्दैँ उनले भने, ‘अरु कसैको कम्पनीमा काम गर्दै हुनुहुन्छ भने म आफ्नो लागि काम गरिरहेको छु । भोलिको दिनमा म पनि यसरी नै कम्पनी चलाउन सक्छु । म इन्टिर्न हो । यहाँबाट विभिन्न कुरा सिक्नुपर्छ भन्ने मनासाय राख्नुपर्छ ।’

उद्यमीको यात्रा १०–५ को मनासिकताले सम्भव नहुने र पूर्णरूपमा आफूलाई काम समपर्ण गरे मात्र आफ्नो छुट्टै पहिचान बनाउन सकिने उनले बताए ।

‘अरुका लागि १०–५ को काम गरेको होइन भन्ने विचार राख्नुपर्छ । जब कुनै पनि कम्पनीमा तपाईंले अपनत्व राख्नुहुन्छ, आफ्नै जस्तो गर्नुहुन्छ तब तपाईंको आफैँले कम्पनी चलाउन सक्ने क्षमताको विकास हुन्छ,’ बोलाखेले भने, ‘म आफैँ कम्पनी हाँक्छु भन्ने भावना विकास भएपछि अन्य राम्रो अवसरले पनि तपाईंलाई पछ्याउँदै आउँछ ।’ यस्तै क्षमतावान् जनशक्ति निर्माण गर्न कास्टिलो लागि परेको उनको दाबी छ ।

पूर्व अनुभवले प्रकाशलाई कास्टिलोको अकाउन्ट म्यानेजमेन्ट, फाइनान्स म्यानेजमेन्ट सिस्टम, टाइम म्यानेजमेन्ट, भन्सारसम्बन्धी कार्य, कच्चा पदार्थको आयात र निर्यातको ज्ञान पाउनुको साथै अन्तर्राष्ट्रिय बजार बुझ्न पनि मद्दत गर्‍यो । हरेक उद्यमीको सबैभन्दा ठूलो चुनौती पुँजी हुने गर्दछ । उद्योग सुरु त गर्ने तर, लगानी कहाँबाट ल्याउने भन्ने सबैका लागि चुनौतीको विषय हो ।

यद्यपि, विभिन्न उद्योगमा काम गरेर फरक फरक अनुभव संगालेका बोलाखेले भविष्यमा आफैँ केही गर्नुपर्छ भन्ने ठानिसकेका थिए । यसकारण पनि उनले आफ्नो तलबबाट भविष्यमा गर्ने लगानीका लागि थोरैथोरै गरी रकम जम्मा गरेका थिए । सोही बचतले उनलाई उद्यम गर्न सहज बनायो ।

पुँजी जुटाउने दिनहरू सम्झिँदै उनले भने, ‘५ वर्षको कामको बेलाको बचतले मलाई केही सहज बनायो । त्यसबेला चिनेका सञ्चालकहरुले पनि मलाई उधारोमा सामान उपलब्ध गराए । मेसिनलगायत कच्चा पदार्थ नै उधारोमा पाएपछि विस्तारै कमाउँदै तिर्दै जाने अवसर पाएँ ।’

तर, उत्पादनले मात्र पुग्दैनथ्यो । सामानको बजार विस्तार पनि आवश्यक थियो । यसका लागि उनले दरबारमार्ग र ठमेलमा कास्टिलो काश्मिरीको आउटलेट राखे । यसले उनलाई कम्पनीलाई अन्त्राष्ट्रिय स्तरमा पुराउने अवसर प्राप्त भयो ।

विभिन्न हस्तनिर्मित सामाग्री उत्पादन गर्दै नयाँ तथा पुराना प्रतिक्षार्थी 

‘दरबारमार्गको शो रुममा अन्तर्राष्ट्रिय पार्टनरहरुसँग भेटघाट भयो । सामानको गुणस्तर र अन्य प्रक्रिया बुझाएपछि अन्तर्राष्ट्रिय पार्टनरले विश्वास गरे,’ बोलाखेले भने ।

व्यावपारका लागि निकै राम्रो ठाउँ भए पनि कोभिड–१९ का कारण आउटलेट छाड्नु पर्‍यो । सन् २०२० पछि भने कास्टिलो मोबाइल आउटलेटका रूपमा अघि बढिरहेको छ । हरेक शनिबार कला क्याफेमा तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा सहभागी भएर कास्टिलोले आफ्नो सेवा विस्तार गर्दै आएको छ ।

कास्टिलोको अन्तर्राष्ट्रिय उडान

सन् २०१७ मा कास्टिलोले आफ्ना सामग्रीलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने अवसर पायो । अन्तर्राष्ट्रिय ब्रान्डसँग एक्सक्लुजिभ पार्टनरको रूपमा जोडिएपछि कास्टिलोले अन्तर्राष्ट्रिय उडानको अवसर पायो ।

सन् २०२० मा रिसर्चका लागि बोलाखे मनाङ र मुस्ताङ पनि गए । सन् २०२२ मा अमेरिकाको र जर्मनीको कम्पनीसँग साझेदारी सुरु भयो । त्यसपछि ‘वुली’ भन्ने कास्टिलो काश्मिरीको एउटा ‘कोलाबोरेटिभ ब्रान्ड’ को सुरुवात भयो । जसमा कास्टिलोले आफ्नो ३३ प्रतिशत पार्टनसिप सुनिश्चित गर्‍यो ।

सन् २०२३ मा बोलाखे ‘अन्ट्रप्रेनरसिप जर्नी’भनेर युरोप टूरमा पनि गए । जसअन्तर्गत उनले युरोपका ४ विभिन्न देशमा गएर आफ्नो बिजनेस पार्टनरहरूलाई भेटे । जुन व्यापारको विस्तारको थप उपयोगी बन्यो ।

सन् २०२३ को अन्त्यतिर ‘स्पिरिचुअल टुरिजम’ अर्थात् अध्यात्मिक पर्यटनको क्रममा एन्ड्रु जोन बोनिफेस, एक हेलिकोप्टर पाइलटसँग चिनजान भयो । उनले एन्ड्रुलाई अध्यात्मिक यात्रामा सहयोग पुर्‍याएका थिए । सो यात्रा सकिएपछि अर्को यात्राको थालानी भयो ।

विभिन्न हस्तनिर्मित सामाग्रीमा बुटा भर्दै कारीगर 

यससँगै सन् २०२४ मा अर्को कोलाबोरेटिभ ब्रान्डको जन्म भयो – लोमानथाङ काश्मिरी । यसरी कास्टिलोले बी टू बी अर्थात् बिजनेस टू बिजनेस मोडेलमा पनि अन्य कम्पनीलाई विभिन्न उत्पादन दिने गरेको छ ।

२५ लाखदेखि १० करोडसम्मको यात्रा

विगत ५ वर्षमा कास्टिलोले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य गरेर विभिन्न ‘लक्जरी ब्रान्ड’ बनाउन पनि सहकार्य गरिरहेको छ । कास्टिलोले आफ्नो उत्पादन तथा ब्राण्डलाई अस्ट्रेलिया, जर्मनी, यूके, जापान, भारत। यूएईलगायत विश्वको १५ भन्दा बढी राष्ट्रमा पुर्‍याइसकेको छ ।

विभिन्न ‘ओपरेसनल कस्ट’ र पारिश्रमिक दिएपश्चात वर्षको ४ देखि ५ लाख रुपैयाँसम्म फाइदा हुने गरेको बोलाखेले बताए । सम्पूर्ण परिवारलाई नै स्वरोजगार बनाएको कास्टिलोको फाइदा उद्योगमा नै घुमिरहेको संस्थापक बोलाखेले बताए ।

विभिन्न हस्तनिर्मित सामाग्रीमा बनाउन सिक्दै नयाँ परीक्षार्थी 

वर्षको एकपकट औद्योगिक भ्रमण जाने क्रममा पनि सो फाइदा प्रयोग भइरहेको र फाइदाभन्दा पनि कम्पनीको विकास नै मूल उद्देश्य रहेको उनले बताए । सन् २०१५ मा बोलाखेले २५ लाख रुपैयाँको लगानीमा सुरु गरेको कास्टिलोको मूल्याङ्कन अहिले १० करोड रुपैयाँ पुगेको छ ।

नयाँ उद्यमीलाई सन्देश

उद्यमीको यात्रामा यति कमाउँछुभन्दा पनि मुख्य कुरा भनेको कर्मलाई आत्मसाथ गर्नु रहेको बोलाखेले बताए । रकमको लगानीभन्दा पनि मुख्य त समयको लगानी हो भनेर सबैले बुझ्न आवश्यक रहेको उनले बताए ।

‘रिसर्चलाई ध्यानको रूपमा लिनुपर्‍यो । एउटा सामग्री उत्पादनका लागि आवश्यक पर्ने सबै आयामको सूक्ष्म अध्ययन गर्दा हरेक कठिनाइमा सहकार्य गर्ने सहयात्री पनि सहजै प्राप्त हुन्छ । दत्तचित्त भएर लागेपछि हरेक चुनौतीलाई पनि सहजै पार गर्न सकिन्छ । हरेक चुनौतीलाई पनि रमाइलो तरिकाले ग्रहण गर्न सिकाउँछ, ’ बोलाखेले भने ।

ऊन, पस्मिना, कपास आदि क्षेत्रमा उद्यमी तथा जनशक्ति बढाउन कास्टिलोले बेला–बेला सीपमूलक तालिम पनि आयोजना गर्ने गरेको छ । कास्टिलो काश्मिरीले १५ दिने वुली निड्लिङ ट्रेनिङ वुलन डिभेलप्मेन्ट एसोसिएसनको आयोजनामा हस्तकला महासंघ (एफएचएएन) को प्रायोजन र मौरी भेन्चर्सको सहयोगमा केही दिनअघि मात्र सम्पन्न गरेको थियो ।

भिडिओ – 

तस्वीर – सरोज बस्नेत


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved