पुणेमा नेपाल–भारतबीच सुरक्षा परामर्श बैठक : सैन्य आदानप्रदान अझ सुदृढ पार्नेलगायत सहमति

नेपालभ्युज

पुणेमा नेपाल–भारतबीच सुरक्षा परामर्श बैठक : सैन्य आदानप्रदान अझ सुदृढ पार्नेलगायत सहमति

काठमाडौं । सुरक्षा विषयसम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई)को १६औँ बैठक भारतको पुणेमा सम्पन्न भएको छ ।

दुई दिन (असार ९–१० गते)सम्म चलेको बैठकमा दुवै पक्षले उपकरण आपूर्ति, तालिम, क्षमता निर्माण र सैन्य आदानप्रदानका क्षेत्रमा रक्षा तथा सुरक्षा सहकार्यलाई अझ सुदृढ पार्ने सहमति जनाए ।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारत सरकारको विदेश मन्त्रालयअन्तर्गतका अतिरिक्त सचिव (उत्तर) मुनु महावरले गरेका थिए । यस्तै नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयअन्तर्गत दक्षिण एसिया महाशाखाका सहसचिव गहेन्द्र राजभण्डारीले गरेका थिए ।

बैठकमा दुवै देशका परराष्ट्र/विदेश तथा रक्षा मन्त्रालयका साथै भारतीय र नेपाली सेनाका निर्देशकस्तरका अधिकारीहरूको सहभागिता रहेको भारतीय विदेश मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा दुवै पक्षबीच सुरक्षा तथा रक्षा सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको थियो । उपकरण आपूर्ति, तालिम, संयुक्त सैन्य अभ्यास, विपद् उद्धार कार्य तथा सैनिक आदान–प्रदान लगायतका विषयमा छलफल भएको हो ।

साथै, प्रतिनिधिमण्डलले सार्वजनिक तथा निजी रक्षा उद्योगसम्बन्धी प्रमुख उत्पादन केन्द्रहरूको अवलोकनसमेत गर्दै पारस्परिक हितमा आधारित सहकार्यका सम्भावनाहरू अन्वेषण गरेको थियो ।

सन् २००३ मा स्थापना गरिएको आईएनबीसीजीएसआई भारत–नेपालबीचको समग्र रक्षा तथा सुरक्षा सहकार्य समन्वय गर्ने छाता संरचनागत संयन्त्र हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved