वाशिंगटन । इजरायल र इरानबीच पछिल्ला दिनहरूमा सैन्य आक्रमणको सिलसिला चलिरहेका बेला अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइबीच सामाजिक सञ्जालमा कडा ‘वाकयुद्ध’ सुरु भएको छ। पछिल्लो २४ घण्टामा दुवै नेताले एकअर्काविरुद्ध गरेका आक्रामक पोस्टहरूले मध्यपूर्वमा जारी तनावलाई थप चर्काएको छ।
मंगलबार बिहान पूर्व राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत इरानको आकाशमा आफ्नो “पूर्ण र कुल नियन्त्रण” रहेको दाबी गरे। उनले सर्वोच्च नेता खामेनेइलाई सीधा चेतावनी दिँदै लेखे, “हामीलाई तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुकेका छन् भन्ने कुरा ठ्याक्कै थाहा छ। उनी सजिलो निसानामा छन्, तर त्यहाँ सुरक्षित छन्, हामी उनलाई मार्न गइरहेका छैनौं, कम्तिमा अहिलेका लागि होइन।”
ट्रम्पले आफ्नो सन्देशमा “हाम्रो धैर्य टुट्दैछ” भन्दै अन्तिम प्रहारको रूपमा भने, “बिना शर्त आत्मसमर्पण!”
सर्वोच्च नेता खामेनेईले आफ्नो ‘एक्स’ मा श्रृंखलाबद्ध पोस्टहरू गर्दै इरानले “सियोनवादीहरूसँग कहिल्यै सम्झौता नगर्ने” दृढता व्यक्त गरेका छन्। खामेनेइको एक पोस्टमा भनिएको छ, “हामी सियोनवादीहरूलाई कुनै दया देखाउने छैनौं।” अर्को पोस्टमा उनले “लडाई सुरु भयो” भन्दै थप आक्रामक सन्देश दिएर इजरायललाई सीधा चुनौती दिएका छन्।
इजरायल र इरानबीचको वास्तविक सैन्य तनावका साथै यी दुई प्रभावशाली विश्व नेताहरू बीचको सामाजिक सञ्जालको यो जुहारीले अन्तर्राष्ट्रिय समुदायमा गहिरो चिन्ता र थप चासो बढाएको छ।
Facebook Comment
Comment