काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आइतबार स्कटल्याण्डसँगको रोमाञ्चक खेलमा नेपाल २ रनले पराजित भएको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा नेपाल घरेलु टोलीसँग दुई रनले पराजित भएको हो ।
स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ३२१ रनमा अलआउट भयो ।
भीम सार्की, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारी बाबजुद नेपाल ऐतिहासिक जितबाट दुई रनले मात्र चुक्न पुग्यो।
बलियो लक्ष्य पछ्याउने क्रममा नेपालले १८३ रनमा ६ विकेट गुमाएपछि दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि १०५ रनको सानदार साझेदारी गर्दै नेपाललाई जितको नजिक पुर्याएका थिए।
नेपालका लागि भीम सार्कीले सर्वाधिक ७३ रन बनाए भने सोमपालले ६७ र दिपेन्द्रले ५६ रनको योगदान दिए। स्कटल्याण्डका म्याकेन्जी जोन्सले ३ तथा शफिया शरिफ र माइकल लिस्कले २–२ विकेट लिए भने ब्रान्डन म्याकमुलेन र चार्ली कासेलले १–१ विकेट लिए।
आरिफ ३९ रनमा आउट भएपछि आएका गुल्शन झा ११ रनमा आउट हुँदा नेपाल १८३–६ को अवस्थामा पुगेको थियो।
त्यसअघि, कप्तान रिची बेरिङटनको शतक र माइकल लिस्कको विस्फोटक फिनिसिङमा स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रन बनायो। कप्तान रिची बेरिङटनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रनमा रनआउट भए। माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्कासहित ९६ रनमा अविजित रहे। ओपनर चार्ली टियरले ६८ रन बनाए।
नेपालका लागि करण केसीले १० ओभरमा ७४ रन खर्चेर २ विकेट लिए। दिपेन्द्रसिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए। त्यस्तै ललित राजवंशीले १ विकेट लिए।
नेपालले यसअघि पहिलो खेलमा स्कटल्याण्डलाई र दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो। लिग २ मा १५ खेल खेलेको नेपाल १० अंकमा सीमित छ भने स्कटल्याण्डको १७ खेलबाट २२ अंक भएको छ।
Facebook Comment
Comment