काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
पतञ्जली जग्गा प्रकरणमा नेपालसहित पूर्वमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन सचिव छविराज पन्तलगायत ९३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
‘९३ जनाविरूद्ध अख्तियारले ल्याएको मुद्दा दर्ता भएको छ,’ रजिष्ट्रार जितेन्द्रबाबु थपलियाले बताए । उनीहरूविरुद्ध १८ करोड ९३ लाखको विगो दाबी गरिएको छ ।
भारतीय योगगुरु रामदेवको पतञ्जली कम्पनीले २०६६ सालमा काभ्रेको बनेपामा ५९३ रोपनी जग्गा किनेको थियो । त्यसमध्ये ३५३ रोपनी जग्गा पछि हाउजिङ कम्पनीलाई बेचिएको थियो ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वकाे मन्त्रिपरिषद्ले नै यो काम गर्न स्वीकृति दिने निर्णय गरेको थियो । उनले दुईवटा फरक निर्णय गराएका थिए । १८ माघ २०६६ मा मन्त्रिपरिषद्बाट पतञ्जलीलाई हदबन्दी छुटमा जग्गा किन्न अनुमति दिइएको थियो ।
दुई महिना नबित्दै लगत्तै, ६ चैत २०६६ मा फेरि मन्त्रिपरिषद्ले त्यही जग्गा बेच्न अनुमति दियो । बनेपाको नासिकास्थान, साँगा, महेन्द्र ज्योति र चलाल गणेस्थान क्षेत्रमा गरी ५ सय ९३ रोपनी ५ आना ३ पैसा जग्गा किनेको थियो । पछि ३५३ रोपनी १५ आना जग्गा बेचिएको थियो । पतञ्जलीका तत्कालीन नेपाल प्रमुख शालिग्राम सिंहले ११ असार २०६७ मा काष्ठमण्डप हाउजिङ कम्पनीलाई जग्गा बेचेका थिए । यो प्रकरणमा मुख्यतः प्रधानमन्त्री माधवकुमार नेपालसहित तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, मुख्य सचिव माधव घिमिरे र भूमिसुधार सचिव: छविराज पन्त जोडिएका छन् ।
Facebook Comment
Comment