काठमाडौंं । क्यानोला र सूर्यमुखी जस्ता बिउको तेलले पछिल्ला केही वर्षहरूमा विवादास्पद दाबीहरूका कारण ध्यान खिचिरहेका छन्। के यी दाबीहरूमा कुनै सत्यता छ ?
तपाईंको भान्सामा क्यानोला (रेपसिड) वा सूर्यमुखी तेलको बोतल होला, जसलाई तपाईं पकाउन वा सलादमा प्रयोग गर्नुहुन्छ । यी बिउको तेल विश्वभर लोकप्रिय छन्। तर पछिल्ला केही वर्षमा, यी तेलहरू सामाजिक सञ्जालमा ‘विषालु’, ‘हानिकारक’ वा ‘स्वास्थ्य बिगार्ने’ भनेर आलोचना भइरहेका छन्।
‘द हेटफुल एट’ भनेर चिनिएका आठ बिउको तेल—क्यानोला, मकै, कपासको बीउ, अंगुरको बीउ, सोया, राइस ब्रान, सूर्यमुखी र केसरको तेललाई मुटुरोग र टाइप २ डायबिटीजको मुख्य कारणका रूपमा दोष दिइन्छ।
तर के यी तेलहरू साँच्चै यति हानिकारक छन्?
बिउको तेल र मुटुको स्वास्थ्य
धेरै आलोचना बिउको तेलमा पाइने ओमेगा-६ फ्याटी एसिड मा केन्द्रित छ। यी आवश्यक फ्याटी एसिड हुन्, जुन शरीरलाई चाहिन्छ तर शरीरले आफैं बनाउन सक्दैन।
केही वैज्ञानिकहरूले ओमेगा-६ ले दीर्घकालीन सूजन (chronic inflammation) निम्त्याउन सक्ने बताउँछन्, जसले मुटु रोग र क्यान्सरको जोखिम बढाउँछ भन्ने विश्वास छ।
तर टफ्ट्स विश्वविद्यालयका प्राध्यापक डा. दरियुश मोजाफारियनका अनुसार, नियन्त्रित परीक्षणहरूले देखाएको छ कि ओमेगा-६ ले सूजन बढाउँदैन। बरु, यसले ‘लिपोक्सिन्स’ जस्ता प्राकृतिक अणु उत्पादन गर्छ, जसले सूजन घटाउने काम गर्छ।
दीर्घकालीन अध्ययन
३० वर्षभन्दा बढी समयसम्म २ लाखभन्दा बढी अमेरिकी नागरिकको खानपान र स्वास्थ्यलाई विश्लेषण गर्ने एक अध्ययनमा, बोटबाट बनाइएका तेल (जसमा बिउको तेल पनि पर्छ) धेरै सेवन गर्ने मानिसहरूमा मुटु रोग वा क्यान्सरबाट मृत्यु हुने सम्भावना कम पाइयो। तर, बटर धेरै खानेहरूमा मृत्युको सम्भावना उच्च पाइयो।
यद्यपि, यसप्रकारका अध्ययनहरू प्रायः सहभागीहरूले आफ्नै खानपानको विवरण दिने आधारमा हुन्छन्, जसमा त्रुटिको सम्भावना रहन्छ।
लिनोलिक एसिड र स्वास्थ्य
बिउको तेलमा पाइने प्रमुख ओमेगा-६ फ्याटी एसिड लिनोलिक एसिड ले शरीरमा खराब कोलेस्ट्रोल (LDL) कम गर्न सक्छ।
२०१९ मा मत्ती मार्कलण्डले ३० भन्दा बढी अवलोकन अध्ययनहरूको विश्लेषण गर्दा, जसमा केही ३० वर्षसम्म मानिसहरूलाई पछ्याइएको थियो, उच्च लिनोलिक एसिड भएका व्यक्तिहरूमा मुटु रोगको जोखिम न्यून देखिएको थियो।
ओमेगा ३:६ अनुपातको विवाद
एक प्रमुख आलोचना भनेको, पश्चिमी देशहरूमा ओमेगा-६ को मात्रा अत्यधिक हुनु हो। औसतमा, मानिसहरूको ओमेगा ६ : ओमेगा ३ को अनुपात ५०:१ जति छ, जबकि वैज्ञानिकहरूले ४:१ को अनुपात स्वास्थ्यका लागि उपयुक्त बताउँछन्।
नयाँ चिन्ताहरू
२०२२ मा विश्व स्वास्थ्य संगठन (WHO) ले गरेको एक समिक्षा अनुसार, ओमेगा ६:३ अनुपात अत्यधिक हुँदा संज्ञानात्मक क्षमता घट्ने (cognitive decline) र अल्सरेटिभ कोलाइटिस (एक प्रकारको पेटको पुरानो रोग) को जोखिम बढ्न सक्छ।
निष्कर्ष
बिउको तेलहरूमा पाइने ओमेगा-६ आवश्यक फ्याटी एसिड हुन्, जसले LDL कोलेस्ट्रोल कम गर्न र रगतमा सुगरको स्तर सन्तुलन गर्न मद्दत गर्न सक्छ।
वैज्ञानिक प्रमाण अनुसार, यी तेलहरूबाट हुने जोखिमको डर अत्यधिक हो, यद्यपि सन्तुलित अनुपातमा ओमेगा-३ र ६ को सेवन महत्वपूर्ण छ।
अत्यधिक प्रशोधन (industrial refining) भएको बिउको तेल प्रयोग गर्दा सावधानी अपनाउनु उपयुक्त हुन्छ । तर ‘विष’ भन्ने जस्तो अत्यधिक दाबी वैज्ञानिक आधारमा पुष्टि भइसकेको छैन। (बीबीसीबाट)
Facebook Comment
Comment